विदेशमा बस्ने नेपाली जीवनका अदृश्य समस्या

२०७७ फाल्गुण ६ बिहीबार ११:४६:०० मा प्रकाशित

हामी सुख एवं आनन्द खोज्दै आफ्नो देश एवं समाज छोडेर विदेशीका छौं । अमेरिकालाई नेपालीहरुको सपनाको देश भन्ने गरिन्छ । त्यही सपनाको देशमा पुग्न मेक्सिकोको पर्खाल नाघेर अमेरिका चुम्ने नेपालीहरु हजारौंको संख्यामा पुगिसके । त्यसरी ज्यानकै बाजी थापेर अमेरिका पुग्न दलालहरुलाई पचासौं लाखसम्म तिरेको पनि पाइएको छ । यति ठूलो खतरा मोलेर र मूल्य चुकाएर अमेरिका प्रवेश गर्नेहरु साँच्चै शतप्रतिशत  सन्तुष्ट छन् त ? 

अमेरिका जानका लागि चिठ्ठा पर्दा मनाइने हर्षोत्सव बिबाहोत्सवभन्दा धेरै ठूलो देखिन्छ । मानौं जीवनका सम्पूर्ण दुःखहरू अब सकिए । नेपालमै बसेर केही व्यवसाय गर्छु भनेर ऋण माग्ने हो भने कुनै साहुले पत्याउँदैनन्, तर विदेश जान लागेको हो भन्ने हो भने कति चाहियो म सहयोग गर्छु नि भनेर गुलियो उत्तर आउँछ । अरु बेलामा खासै बोल्न नखोज्ने मान्छे अमेरिका क्यानडा युरोप लगायतका देशहरुमा जानका लागि भिसा लाग्यो भने फोन गरी गरी हालखबर सोध्न थाल्छन् । बिदेश जान भिसा पाएको व्यक्ति पनि कहिल्यै आफन्त साथीभाई नसम्झने मान्छे भिसा लागेपछि धमाधम भेट्ने या म त बिदेश जाँदै छु नि भनेर सगर्व खबर गर्ने प्रचलन छ । केही मात्रामा म देश छाडेर टाढा जाँदैछु भन्ने हिसाबले पनि भेट्ने कुरा गर्नु स्वाभाविक हो तर भित्र लुकेको अन्तर्य अब म पनि बिदेश जाँदैछु, म लुते लाङ्ग्रे मान्छे होइन भन्ने मनोविज्ञान नै हो । अर्थात् बिदेशिनु लाई सफलता र श्रेष्ठताको परिचायक मान्ने संस्कृति बलियोसँग स्थापित भइरहेको छ । 

नेपालीहरू  मरिहत्ते गरेर गएका देशहरुमा रहेका मानिसहरु कत्तिको खुसी छन् त भन्ने विषय महत्वपूर्ण छ । विकसित देशहरु अत्यिधक तनावपूर्ण छन् । जे देखिन्छ त्यो धेरै राम्रो,  सभ्य, विकसित, सम्भ्रान्त एवं अप्रतीम लाग्छ तर सबै कुरा पुगेकोभए अमेरिकामा वार्षिक झण्डै ५० हजार मानिसहरुले किन आत्महत्या गर्छन ? सन् १९९९ देखि सन् २०१७ सम्म आइपुग्दा ३३ प्रतिशतले आत्महत्याको दर किन बढिरहेको छ  र अस्ट्रेलिया जस्तो थोरै जनसंख्या भएको अति विकसित देशमा सन २०१८ मा २८६६ जनाले आत्महत्या गरेको केस दर्ता भएको छ । अझ १५ वर्षदेखि ४४ वर्षसम्मका लाउँ लाउँ र खाउँ खाउँ उमेरका मानिसहरू आत्महत्या गर्नेमा बढी पाइएको छ । 

क्यानाडामा पनि १५ बर्ष देखि ३४ वर्षसम्मका मानिसहरुको आत्महत्या दर सर्बाधिक छ । यो उमेर भित्रका मानिसहरूको मृत्युको कारणमा आत्महत्या दोस्रो ठूलोमा पर्दछ । बेलायतजस्तो विकास र सभ्यताको अग्रणी देशमा २०१८ मा ६५०७ जनाले आत्महत्या गरेको केस दर्ता भएको तथ्यांक छ । विकसित देशहरु मध्ये जापानमा आत्महत्याको दर घट्दै गएको देखिन्छ । सन् २००९ मा प्रति लाख जनतामा २५.७ जनाले आत्महत्या गर्थे भने २०१८ मा आइपुग्दा यो दर घटेर प्रति लाखमा १६.५ जनाले आत्महत्या गरेको तथ्यांक छ । 

यसरी यी सबै तथ्यहरूको विश्लेषण गर्दा भौतिक सम्पन्नतामा मात्रै सुख एवं सन्तुष्टि छ भन्ने कुरा गलत साबित हुन्छ । आधुनिक विकास एवं सभ्यताको शिखर चुमेका देशहरुमा बस्ने जनताको असन्तुष्टि अविकसित देशहरूका जनताको भन्दा कम देखिएन । तसर्थ खुसी एवं सन्तुष्टि कहाँ छ भनेर एकीन गर्न जटिल भएपनि जीवनलाई सतृष्ण लालसा बोकेर नटुंगिने यात्रामा कुदाइहनु  समस्याको समाधान होइन । खुसी अथवा सन्तुष्टि तुलनात्मक विषय होइन । नेपाल छोडेर विकसित देश पसेका नेपालीहरूको अवस्थाको वास्तविक विश्लेषण गरियो भने पनि अर्को एउटा अपत्यारिलो निष्कर्ष आउँछ । अमेरिका क्यानाडा अस्ट्रेलिया बेलायत तथा युरोपियन देशहरुमा पुगेका कयौँ नेपालीहरुले आत्महत्या गरेको समाचार पनि आइरहेका छन् । परिवारसहित विदेिशएकाहरूको पनि कतिको परिवार छिन्न भिन्न भएका दुःखद परिणामहरू पनि देखिएका छन् ।

नेपालमा कति मीठो माया प्रितीका साथ जीवन बिताएका जोडीहरू विदेशिएपछि सम्बन्धविच्छेदको नमीठो अनुभव भोग्न बाध्य छन् । हुन त सम्बन्धविच्छेदका घटना नेपालमै पनि अनपेक्षित मात्रामा बढिरहेका छन् ।  नेपालको गरिबी अभाव एवं असमानताका कारण सम्बन्ध बिग्रिएको हो भने पनि सुविधासम्पन्न देशमा छिरेपछि त सबै राम्रो हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन । किनभने विदेशमा पनि समस्या नयाँ रुप लिएर जन्मन्छ । विदेशमा पारिवारिक वातावरण कमजोर छ, जीवन अलि बढी प्राविधिक छ । श्रीमान(श्रीमती बीचमा पनि केही न केही सीमा छ । नेपालमा श्रीमान र श्रीमती भनेको दुई भंगालो बनेर बगेको पानी मिसिए जस्तै हो । शतप्रतिशतको मिलन हो । आत्माको मिलन, जीवनको एकीकरण हो । 

यद्यपि अहिले नेपालमै पनि यो भावना कमजोर भइरहेको छ । तैपनि विवाहले श्रीमान श्रीमतीलाई मात्र जोड्दैन दुई परिवारलाई पनि जोड्छ । दुइ परिवारसँग सम्बन्धित नाता सम्बन्धलाई पनि एउटै परिवार बनाउँछ । तर पश्चिमा मुलुक तथा पूर्वकै अस्ट्रेलिया तिर पनि श्रीमान श्रीमतीका बीच मात्र सम्बन्ध हुन्छ । दुवै जनाको अभिभावकसँग थोरै मात्रामा जोडिएका हुन्छन् नत्र अन्य नाता सम्बन्धको कुनै महत्व हुँदैन ।

नेपालीहरु यति फराकिलो पारिवारिक दायराबाट संपोषित भएका कारण विदेशिएपछि त्यो पारिवारिक मायाबाट प्राप्त भइरहेको अमूर्त ऊर्जा कमजोर हुन्छ, आत्मबल ओइलाउँदै जान्छ । नजानिँदो मनोवैज्ञानिक हीनताबोध झाङ्गिँदै जान्छ । यहाँ त मेरो को छ र जे परे पनि एक्लै बेहोर्ने त हो भन्ने भावना पैदा हुन्छ । यो भावनाले मन(मस्तिष्कमा भएको पारिवारिक प्रेमको आकार साँघुरिदै जान्छ । आफन्तहरु प्रति क्रमश सम्झना कम हुँदै जान्छ बोल्ने हाँस्ने सन्दर्भ सीमित हुन्छन् । काम गर्ने ठाउँमा बोलिएको कुरा औपचारिक हुन्छ । केबल कामसँग सम्बद्ध मात्र हुन्छ,  त्यसमाथि पनि आफ्नो भाषामा विचार सम्प्रेषण गर्दा जुन प्रकारको आनन्द प्राप्त हुन्छ अन्य भाषाबाट त्यस्तो तरंग पैदा हुन सक्दैन । मानिस जति एक्लिँदै जान्छ त्यति निराशाको शिकार हुँदै जान्छ । निराशा नै मानसिक रोगको सबैभन्दा ठूलो स्रोत हो । मानिसहरुको भिड भित्र एक्लिन पर्नु अझै डरलाग्दो कुरा हो । श्रीमान श्रीमतिको काम पनि एउटै समयमा नपर्न सक्छ । राम्रोसँग भेट नहुने अवस्था हुन सक्छ्, भए नै पनि समग्र पारिवारिक पूर्णता हुँदैन ।  छोराछोरी पनि नेपालमा जस्तो बाबु आमासँग झ्याम्मिदैनन् ।

उनीहरुको आफ्नै कोठामा विद्युतीय डिभाइस मै हराइरहेका हुन्छन् । उनीहरूको आफ्नै बाबुआमासँग भाषा नमिल्ने हुँदै जान्छ । आफुलाई चाहिएको बेलामा मात्रै आमाबाबुको खोजी गर्छन् । यस्तो अवस्थामा विदेशको जीवन कस्तो होला यसै अनुमान गर्न सकिन्छ । त्यतिमात्र हैन बच्चाबच्ची अर्कै भए। नेपाली बनाउन सकिएन भन्ने चिन्ता पनि थपिन्छ । विद्युतीय डिभाइसमा के गरिरहेका छन् भन्ने कुराले पनि मन पोल्न थाल्छ । १२ वर्षभन्दा माथि लागेपछि बच्चाहरूको हर्मोन परिवर्तन हुँदै जान्छ । यो बेलामा बच्चाहरूको स्वभाव अनपेक्षित हुन्छ । झन बाबु–आमाको निगरानी पुगेन भने परिणाम नराम्रो हुन सक्छ । स्कुलको पढाइमा कत्तिपनि भार हुँदैन, गृहकार्य गर्न पनि खासै पर्दैन । १५–१६ बर्षसम्मका बच्चालाई पढ्ने भार दिनुहुँदैन भन्ने विकसित देशहरूको मान्यता छ । बच्चाहरुले खेल्नुपर्छ उफ्रिनुपर्छ, बिघ्याइँ गर्नुपर्छ नत्र उनीहरूको मस्तिस्कीय विकासमा असर पर्न जान्छ भन्ने सोच हुन्छ, त्यसैले घरमा आफन्त छोराहरु छोराछोरीहरुलाई पढ भन्न पनि विचार गर्नुपर्ने हुन्छ । दवाव दिन खोज्यो भने यु क्यान नट फोर्स मि भनेर जवाफ लगाइहाल्छन् ।

यदि घरमा गाली गरे कुनै काम गर्न वा पढ्न दबाब दिए भने पुलिसलाई फोन गर्नुपर्छ भनेर  बच्चाहरूलाइ सिकाइएको हुन्छ । कति नेपाली अभिभावकहरुले पनि बच्चाहरुले रिपोर्ट गरेका कारण पुलिसकहाँसम्म पुग्नु परेका घटनाहरु छन् । विकसित देशहरुमा हामफाल्नु का कारण बच्चाहरूको भविष्य नै महत्वपूर्ण हो । तर तिनै बच्चाको पढाई आनीबानी स्वास्थ्य एवं सुन्दर भविष्यका लागि गरिएको प्रयत्नलाई एब्युज भनेर पुलिससँग पुग्नुपर्ने नियति भोग्दा सानो पीडा हुँदैन ।
 

ताजा खबर