‘टीकाथलीमा’ डेनीको संगीत घर 

२०७७ फाल्गुण ६ बिहीबार १०:५५:०० मा प्रकाशित

ललितपुर । संगीतकार डेनी निरौलाले ललितपुरको टीकाथलीमा ‘सरु संगीत घर’ सञ्चालनमा ल्याएका छन् । सरस्वती पूजाको अवसरमा पारेर मंगलबारबाट संगीत घरको शुभारम्भ गरिएको हो । 

प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै महालक्ष्मी नगरका प्रमुख रामेश्वर श्रेष्ठले, नगरले नीतिगत रुपमा कला र संगीतको प्रवर्धन गरिरहेको बताए । ‘हामीले स्थानीय पाठ्यक्रममा संगीतको विधालाई छुटाएका छैनौं । अहिले कक्षा २ सम्मका पाठ््यपुस्तकमा यो विषय राखेका छौं । यसलाई कक्षा ८ सम्म नै पुर्याउँछौं ।’ श्रेष्ठले स्थानीय लोक र सामाजिक जीवन पद्धतिसँग सम्बन्धित बाद्यबादन र गायनका प्रशिक्षणलाई संगीत घरले प्रवर्धन गर्ने कुरामा विश्वाश लिएको बताए ।

त्यस क्रममा डा. कमल पौडेल, भौतिक योजना मन्त्रालयका शाखा अधिकृत मोहन चापागाईँ, पूर्व बैंकर तथा सामाजिक अगुवा सूर्य बस्नेतले टीकाथली क्षेत्रबाट सांगीतिक क्षेत्रका साधक उत्पादन हुने कुरामा विश्वाश गरे । 

त्यस अवसरमा अभिनेता गजित विष्टले, कला क्षेत्रले व्यवसायिकता प्राप्त गर्दै गएको बताए । यसै गरी पत्रकार चन्द्रमणि भट्टराईले, कला क्षेत्रको विकाससँगै स्रष्टाले योगदानलाई सरकारी तवरबाट सम्मान हुने वातावरण तयार गरिनुपर्ने बताए । 

संगीतकार एवं संगीत घरका सञ्चालक डेनी निरौलाका अनुसार संगीत घरमा अहिले गायन र बाद्यबादनका कक्षाहरु सञ्चालन गर्ने बताए । स्थानीय भाका, गायन र बाद्यबादनको अध्ययन गरेर प्रशिक्षण गराउँदै लैजाने, नृत्य तथा अभिनयका कक्षाहरु थप्ने आगामी योजना रहेको निरौलाको भनाइ छ । 
 

ताजा खबर