महिला लिग आर्मी र पुलिस बराबरीमा रोकिए

२०७७ फाल्गुण ५ बुधबार २०:१४:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एक एक गोलको बराबरी खेलेका छन् । तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको पुलिसले आर्मी विरुद्ध जीत हात पार्ने सुनालो मौका गुमाएको थियो ।

एन्फा कम्प्लेक्समा भएको खेलको १७ औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । रन्जीता गुरुङको कर्नरमा अमृता जैशीको हेडर आर्मीकी विमला बिकसँग ठोक्किँदै गोलमा परिणत भएको थियो । ५३ औं मिनेटमा रश्मी घिसिङले बराबरी गोल फर्काइन् । इन्जुरी समयमा पुलिसले पेनाल्टिको मौका पायो । आर्मीकी गोलकिपर अन्जना राना मगरको हातबाट फुत्किएर सुनिता चौधरीको हातमा लागेपछि पुलिसलाई पेनाल्टि दिइएको थियो । तर पुलिसकी कप्तान घिमकुमारी गुरुङको प्रहार आकाशियो । त्यसपछि पुलिस र एपीएफ अंक बाड्न बाध्य भए । 

यसको फाइदा एपीएफले लियो । आर्मीले जितेको भए एपीएफलाई लिग जित्न विराटनगरको नतिजामा भर पर्नुपर्ने थियो । पुलिसका लागि पनि बराबरी महंगो सावित भयो । पुलिस एघार खेलबाट १५ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । विराटनगर १६ अंक सहित तेस्रो स्थानमा छ ।  पाँचौ स्थानमा रहेको वालिङको १४ अंक छ । आर्मी भने लिग उपविजेता बनेको छ । आर्मीका प्रशिक्षक राजु तामाङले खेलपछि आफ्नो टोलीले राम्रो खेल्न नसकेको स्वीकार गरे । 

अब अन्तिम खेलमा एपीएफलाई पराजित गर्ने लक्ष्य रहेको उनको भनाइ छ । लिगको पहिलो चरणमा पुलिस संग गोल रहित बराबरीमा रोकिएपछि आर्मीको उपाधी दौडमा धक्का लागेको थियो । पुलिसका प्रशिक्षक संजीव जोशीले भने नया खेलाडीका साथ लिगमा उत्रिएको आफ्नो टिम बल्ल लयमा आउँदै गरेको उल्लेख गरे ।  

 

ताजा खबर