बार्सीलोनाले आफ्नै मैदानमा चार गोल खायो

२०७७ फाल्गुण ५ बुधबार १४:५०:०० मा प्रकाशित

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पिएसजीले बार्सीलोनालाई उसकै मैदानमा चार एक गोलले पराजित गरेको छ । पिएसजीको प्रभावशाली जीतमा  किलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

क्याम्प नोउमा भएको दुइ युरोपियन हेभिवेट बीचको खेल रोमाञ्चक बनेको थियो । सुरुवातमा अग्रता भने घरेलु टोली बार्साले लियो । फ्राङकी डि जोङलाइ डि बक्स एरियामा फाउल गरेपछि बार्साले पेनाल्टि पायो । २७ औं मिनेटमा  लियोनल मेसीले पेनाल्टिलाई गोलमा परिणत गरेका थिए । लगत्तै उस्मान डेम्बेलेले अग्रता दोब्बर बनाउने अवसर गुमाए । उनको फितलो प्रहार सिधै पिएसजी गोलकिपर किलोर नाभासको हातमा गएको थियो । 

एन्टोइन ग्रिजमनले पनि बार्साका लागि गोल थप्ने मौकाको सदुपयोग गर्न सकेनन् । जसको मुल्य बार्साले चुकाउनु पर्यो । नेइमार विना मैदान उत्रिएको पिएसजीले ३२ औं मिनेटमा एम्बाप्पेको  गोल मार्फत खेल एक एकको बराबरी गरेको थियो । उनले मार्को भरातीको क्रसलाइ सदुपयोग गरेका थिए । पहिलो हाफ एक एकको बराबरीमा सकियो । रोनाल्ड कोमनको टोली बार्साका  लागि दोस्रो हाफ भने विर्सनालायक रह्यो । ६५ औं मिनेटमा एमबाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दा माउरिसियो पोचेटिनोको टोली दुइ एकले अघि रह्यो । ७० औं मिनेटमा एभर्टन बाट लोनमा गएका मोइस किनले बार्सा संगको दुरी तीन एकमा पुर्याए । ८५ औं मिनेटमा २२ वर्षिय फ्रेन्च स्ट्राइकर एम्बाप्पेले ह्याट्रिक पुरा गर्दा पिएसजीले बार्सा विरुद्ध उसकै घरमा फराकिलो जीत हात पार्यो । एम्बाप्पे च्याम्पियन्स लिगमा बार्सा विरुद्ध ह्याट्रिक गर्ने केवल तेस्रो खेलाडी हुन् । उनले यो खेल अघि सम्म  च्याम्पियन्स लिगको नक आउटका नौ खेलमा मात्र एक गोल गरेका थिए ।

  स्टार स्ट्राइकर मेसी छायामा परेको यो खेलको नायक एमबाप्पे बने । दोस्रो लेग पिएसजीको मैदानमा हुनेछ । यसपटक पिएसजी सन २०१६–१७ मा बेहोरेको हारको वदला लिने दाउमा छ । सो वेला बार्साले अन्तिम १६ कै पहिलो लेगमा पिएसजीको मैदानमा चार शुन्यको हार बेहोरेको थियो । तर घरेलु मैदानमा भएको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै बार्साले ६–एकको जीत हात पारेपछि पिएसजी प्रतियोगिता बाट बाहिरिएको थियो । पोचेटिनोको पिएसजी प्रशिक्षकका रुपमा च्याम्पियन्स लिगमा यो डेब्यु खेल हो । हारले बार्साको संकट थप बढेको छ । बार्सा मेसीको सम्झौता र क्लबका अध्यक्षको चुनाव लगायतका विषयमा अल्झिरहेको छ । गत वर्षनै ट्रान्सफरका लागि पत्र लेखेका मेसीको क्लबसँगको सम्झौता यो सिजन सकिँदैछ । 

ताजा खबर