मुस्किलसँग जित्यो एपिएफले, अब उपाधि नजिक

२०७७ फाल्गुण ४ मंगलबार ११:२०:०० मा प्रकाशित

काठमाडौं । एपीएफ क्लबले, राष्ट्रिय महिला लिगमा नेपाल पुलिस माथि दुइ एक गोलको कठिन जीत हात पारेको छ । यो सँगै  एपीएफ उपाधीबाट मात्र एक जीतले टाढा छ  ।

सातदोबाटोस्थित एन्फा  कम्प्लेक्समा सोमबार भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा कुनै गोल हुन सकेन । ३२ औं मिनेटमा सावित्रा भण्डारी वान भर्सेस वानमा चुक्दा एपीएफ अग्रता लिन असफल भएको थियो । सावित्राको प्रहार गोलकिपर पुलिस गोलकिपर उषा नाथले बचाइन् । ६९ औं मिनेटमा एपीएफले आत्मघाती गोलको सहयोगमा डेडलक तोड्यो ।

 

एपीएफकी सुष्मा तामाङको प्रहार पुलिस कप्तान घिमकुमारी गुरुङको खुट्टामा डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो । नियमित कप्तान निरु थापाले दोहोरो पहेंलो कार्डका कारण खेल गुमाएपछि घिमकुमारीले टिमको नेतृत्व सम्हालेकी हुन् । ७५ औं मिनेटमा पुलिसले एपीएफ दश खेलाडीमा खेलिरहेको फाइदा उठाउँदै बराबरी गोल फर्कायो । अमृता जैसीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् । उनको प्रहार एपीएफ गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले बचाउने कुनै मौका पाइनन् । अमृताको गोल जारी लिगको दुइ सयौं गोल पनि हो । 

सावित्रा खुट्टामा चोट लागेपछि उपचार गराउन बाहिर रहेको समयमा पुलिसले गोल फर्काएको थियो । जारी लिगमा एपीएफले खाएको यो पहिलो गोल हो । त्यससछि सावित्राले खेल्न सकिनन् । उनको स्थानमा  मैदान प्रवेश गरेकी   रविनाले गोलेले ८६ औं मिनेटमा निर्णायक गोल गर्दै एपीएफलाइ लगातार दशौं जीत दिलाइन् । 

शीर्ष स्थानको एपीएफले त्रिभुवन आर्मी क्लब संग पांच अंकको अग्रता बनाएको छ । एपीएफको दश खेलबाट ३० र आर्मीको २५ अंक छ । एपीएफ,  अब आफ्नो अर्को खेलमा विराटनगर महानगरपालिलाई हराए एक खेल अगावै च्याम्पियन बन्ने छ । आर्मीले पुलिससँग बराबरी खेले अथवा हारेपनि एपीएफले उपाधी जित्नेछ । चौथो स्थानमा रहेको पुलिसको  १४ अंक छ ।  

ताजा खबर