कवि दिवसको ‘सम्झिराख’नेपथ्यको भिडियोमा

२०७४ मङ्सिर ३ आइतबार १९:५०:०० मा प्रकाशित

काठमाडौं । चिरपरिचित कवि तुलसी ‘दिवस’ ले धेरै वर्षअघि लेखेको कविताका लाइनहरु नेपथ्यले सार्बजनिक गरेको छ ।
 
‘मेरैजस्तो तिम्रो हृदयको गमलामा पनि
सम्झनाको फूल फुलेकै होला
सम्झिराख
सम्झिराख, लामो सफरमा
आँसु र हाँसो बाँड्नुपर्छ
सम्झिराख’

 
 श्रोतालाई नेपथ्यले आफ्नो रजत वर्षमा घोषित उपहार शृंखला अन्तर्गत यो गीत म्यूजिक भिडियोका रुपमा तयार भएको जनाएको छ ।
 
‘मैले यो कविता वाल्यकालमै रचेको थिएँ,’ कवि दिवस भन्छन्, ‘पछि कविता संग्रह निकाल्ने बेलामा यसका शब्दहरुको मर्मले छोएपछि प्रकाशित हुनपुगेको थियो ।’
 
सम्झिराख शीर्षकको यस कविताले अगाडि भन्छ–
 
‘किनकि सृष्टि नासिन सक्छ
संसार रहस्यमय बिलाउन सक्छ
जीवनलाई मृत्युले चपाउन सक्छ
तर सम्झना सधैं हाँसिरहन्छ
कविता बनी त्यो बाँचिरहन्छ
सम्झिराख’

 
वाल्यकालमा लेखेको र युवावस्थामा प्रकाशित भएको यो कवितालाई आफू प्रौढ अवस्थामा पुग्दा नेपथ्यले यसरी गीतका रुपमा अघि बढाउँदै गरेकोमा आफूलाई खुशी लागेको कवि दिवस सुनाउँछन् ।
 
यसरी एउटा कविको भावनालाई संगीतवद्ध हुँदै अब हेर्ने माध्यमका रुपमा समेत परिणत गर्दा म्यूजिक भिडियोले भने ललितपुरका पुराना गल्ली, दरवार र ढुँगेधाराहरुको चयन गरेको छ । भिडियोमा ब्याण्डका सदस्यहरु रातको एकान्तमा पुरानो सहरको यात्रा गर्छन् ।
 
केहि वर्षयता नेपथ्यको श्रब्यदृश्य व्यवस्थापनमा संलग्न तन्नेरी समुह ‘कथाहरू’ले बनाएको यो म्यूजिक भिडियोे नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयले निर्माण गरेको हो ।
 
नेपथ्यले कवितामा संगीत हाल्ने प्रयोग यसअघि पनि गर्दैआएको थियो । कवि तीर्थ श्रेष्ठको ‘आमा’लगायत केहि गीतहरु कविताबाटै तानिएको हो ।  
 
‘म शब्दको खोजीमा हिँडिरहँदा तुलसी दिवसको पुरानो कविता संग्रह हातपरेको थियो,’ मुख्य गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यसैमा अटाएको यस कवितालाई मैले संगीतवद्ध गर्ने प्रयास गरेको हुँ ।’
 
नेपथ्यले यो वर्षभरि आफ्नो स्थापनाको रजत वर्ष मनाउने घोषणा गरिसकेको छ ।  त्यसै क्रममा यसलाई पनि तयार पारिएको हो ।
 
२५ वर्षे उत्सवकै क्रममा व्याण्डले यसैपाली आफ्नो दसौं अल्बम सार्वजनिक गर्ने घोषणासमेत गरिसकेको छ । उक्त दसौं अल्बममा संकलित गीतहरु मध्येकै ‘सम्झिराख’ पनि एक हो । सार्वजनिक हुने क्रममै रहेको उक्त अल्बमबाट म्यूजिक भिडियो बन्न सफल यो पांचौ गीत बन्न पुगेको   छ । त्यसै अल्बमको ‘कोशीको पानी’, ‘हो रामा रामा’, ‘शिरफूल शिरैमा’, ‘हामी नेपाली’ जस्ता गीतहरुको म्यूजिक भिडियो यस क्रममा सार्वजनिक भएका थिए । यी गीतहरु युट्युबमा उपलब्ध छन् ।  गीत सुन्नका लागि यो लिंक- https://youtu.be/Z1LLF7krqF0
 

ताजा खबर