संयोग नै संयोगः १४ फेब्रुअरी, नेपाली क्रिकेट र करण 

२०७७ फाल्गुण २ आइतबार ०८:५०:०० मा प्रकाशित

१४ फेब्रुअरी, अर्थात् भ्यालेन्टाइन डे । यो दिनलाई प्रेम दिवस भनेर एकथरीले मनाउने गरेका छन् । विगत तीन वर्ष यता नेपाली क्रिकेट र समर्थकहरुका लागि भने यो दिन फरक ढंगले परिचित छ । यदि  तपाईं नेपाली क्रिकेटलाई पछ्याउनु हुन्छ भने यी सामान्य दुइ लाइन पढेपछि बुझिसक्नु भयो होला कुरा गर्न खोजिएको के हो भनेर । अब कुरालाई धेरै नघुमाउँ । नेपाली क्रिकेट माझ १४ फेब्रुअरी, करण केसी डे को रुपमा परिचित भएको तीन वर्ष भयो । नपत्याए आज सामाजिक संजालहरुमा हेर्नुस् त धेरैले ह्याप्पी करण केसी  भन्दै वीस गरेका सन्देशहरु प्रशस्त भेटिन्छन् । 

कालान्तरसम्म पनि नेपालले प्राप्त गरेको एकदिवसीय मान्यता र करण एक आपसमा जोडिएर आउँछन् । उनको त्यो चामत्कारिक प्रदर्शनका कारण नेपालले विश्वकप छनोट खेल्ने अवसर पायो र एकदिवसीय मान्यता पनि । सायद त्यो दिन हारेको भए नेपाली क्रिकेट आज जुन स्थानमा छ त्यहाँ हुने थिएन । करणकै जीवन पनि अर्कोतिर मोडिन सक्थ्यो । करणले सन् २०१८ मा नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा क्यानडा विरुद्ध खेलेको त्यो पारी चलचित्रको कथा जस्तो लाग्छ । तर वास्तविकतामा त्यस्तो चामत्कारिक र अस्वाभाविक पारी विरलै देख्न पाइन्छ । अहिले त स्वयम करणलाई पनि विश्वास लाग्दैन । अरुले जस्तै गरी १४ फेब्रुअरी मनाउने करणका लागि पनि वितेको तीन वर्ष यता फरक रहँदै आएको छ । करण बैदेशीक रोजगारीमा जानका लागि पासपोर्ट बनाउन नेपाल आएका थिए । नेपालका लाखौं युवा रोजगारका लागि पुग्ने देश युएइ गएर भर्खरै फर्किएका छन् उनी । रोजगारीबाट होइन करियरको पहिलो फ्रेन्चाइजी लिग टि टेन खेलेर । टि टेनमा  विश्व क्रिकेटका स्टार खेलाडी क्रिस गेलको विकेट लिएका करणको आजसम्मको कथा सुन्ने हो त ? उनको कथामा तपाईंले संघर्ष, धैर्य, निराशा, मेहनत र रोमाञ्चकता सवै एकैसाथ भेट्नुहुनेछ । साँच्चिकै कुनै चलचित्र हेरे जस्तैगरी । बस फरक यति हो चलचित्रमा जस्तो उनको कथाको अन्त्य चाहीँ हुने छैन । 
 
युएइबाट फर्किएपछि करण आफ्नो घर पोखरा गए । टेलिफोनमा सम्पर्क भयो । सुरुमै उनले भनिहाले ‘टि टेनकोबारे नसोध्नुस् है’ । किन र भन्ने प्रश्नमा उनको जवाफ आयो ‘मेरो प्रदर्शन खासै राम्रो भएन’ । उनलाई टि टेनमा आफ्नो प्रदर्शनबाट सन्तुष्टि नमिलेको प्रस्टै बुझन सकिन्थ्यो । करणका धेरै गुणहरु मध्ये एउटा यो पनि हो की उनी आफ्ना कमजोरीहरु भन्न कहिल्यै हिच्किचाउँदैनन् । त्यसैले त उनी हिजो भन्दा आज राम्रो हुँदै गइरहेका छन् । समग्रमा भने  टि टेनले धेरै नयाँ कुरा सिकाएको उनले सुनाए  । स्टार खेलाडीहरु खेलको बारेमा कसरी सोच्छन्, कसरी योजना बनाउँछन, क्रिकेट सेन्स कस्तो हुनुपर्छ, उनीहरुको रुटिन कस्तो हुन्छ लगायतका कुरा सिक्ने अवसर मिलेको उनको भनाइ थियो । प्रदर्शन चित्त बुझदो नभएपनि नेपालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको करणले बताए । करणले टि टेनको डेब्यु विकेटनै क्रिस गेलको लिएका थिए । करण भन्छन्– ‘टि टेनको सवैभन्दा महत्वपूर्ण उपलब्धिनै गेलको विकेट हो ’। विकेट लिनु अघि करणको गेलसँग सामान्य हाइ हेलो पनि भएको थियो । नेपाली क्रिकेट र बाहिरको क्रिकेटमा के फरक रहेछ त करण ? उनी भन्छन्– ‘तुलनानै हुँदैन । हामी धेरै पछाडि  छौं । उनीहरुको आत्मश्विास, अनुभव हाम्रो भन्दा निकै फरक छ ’।

 संयोगबस गेलको विकेट पनि करणले फेब्रुअरीमै लिएका हुन् ।  

करण आज १४ फेब्रुअरी हो नि त के छ तयारी ? उनले ठट्टा गर्दै भने ‘१४ फेब्रुअरीले नि गर्नु गर्यो ।’ 

सन् २०१८ नामिबिया विन्डहोकस्थित वन्डर्स क्रिकेट ग्राउन्ड– नेपाल भर्सेस क्यानडा बीचको खेल । त्यो  खेलको बारेमा एकैछिनमा चर्चा गर्नेछौं । त्यो भन्दा अघि करणलाई सोधियो पछिल्लो तीन वर्षको १४ फेब्रुअरी कस्तो भइरहको छ त ? 

‘रातीदेखि नै मेसेज आउन थाल्छ । सामाजिक सञ्जालहरुमा ह्याप्पी करण केसी डे भनेर मेरो नाम मेन्सन गर्छन् । टिम मेटसहरुले पनि मलाइ वीस गर्छन् । मलाइ किन वीस गरेको होला जस्तो पनि लाग्छ । तर एकदमै खुशी हुन्छु । एउटा मिति मेरो नाममा लेखिएको जस्तो । गर्व लाग्छ ।  मानिसहरुले मलाइ चिन्छन् यो दिन एकदमै विषेश लाग्छ । क्रिकेट नहेर्न साथीहरुले भने मलाइ सोध्छन् आज किन तिमीलाई करण केसी डे भन्दै मेन्सन गरेको । मलाइ पनि थाहा छैन भनेर जवाफ दिन्छु, किनकी यसपछाडिको कारण ब्याख्या गर्न त्यति सजिलो छैन । त्यो इमोसन जो कोहीले सजिलै बुझ्छ जस्तो पनि मलाइ लाग्दैन ।’

 अनि तपाईंको गर्लफ्रेन्डले चाही ह्याप्पी भ्यालेन्टाइन्स डे भन्नुहुन्छ की ह्याप्पी करण केसी डे ? यसको  जवाफ चाही करणले हाँसेरै  उडाए । 

 

अब भन्नुस् त्यो दिन आज सम्झदा कस्तो लाग्छ ?

 

‘फिल्म हो की जस्तो पनि लाग्छ । तर मलाइ आफूमाथि विश्वास थियो । मलाइ थाहा छैन कसरी तर मलाइ अलिकति पनि दवाव महसुस भएको थिएन । नेपाल क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याइरहेको थियो । तर नेपालले एक सय ४४ रनमा नौ विकेट गुमाएपछि धेरैले नेपालको हातबाट खेल फुत्किसकेको अनुमान गरेका थिए ।’

 जीतका लागि ५१ रन आवश्यक हुँदा क्रिजमा गएका थिए करण ।  उनलाइ साथ दिइरहेका थिए सन्दीप लामिछानेले । अन्तिम ओभरमा नेपाललाई आठ रन आवश्यक थियो । जीतले विश्वकप छनोट पुग्ने हारले एक स्थान तल झर्ने । करणले सुरुको चार वलमा रन बनाउन सकेनन् । त्यो वेला क्रिक इन्फोमा खेल हेरिरहेका नेपालीको जोडजोडले धड्किएको मुटुको चाल बाहिरैसम्म महसुश हुन्थ्यो । पाँचौ वलमा करणले छक्का प्रहार गरे । डगआउटमा रहेका नेपाली खेलाडी प्रार्थना गरिरहेका थिए । धेरैले खेल हेर्न पनि सकेनन् । क्यानडाका बलरले वाइड फालेपछि नेपाललाई जीतका लागि एकमा एक रन चाहियो । करणले ५० ओभरमा एक रन लिँदै नेपाललाई क्यानडामाथि एक विकेटको अविश्वसनीय र रोमाञ्चक जीत दिलाए । करणले अविजीत ४२ र दरिलो साथ दिएका सन्दीपले ५ रन जोडे ।

अहिले करण त्यो खेलको भिडियो हेर्छन् । त्यो वेला उनलाई कुनैपनि दवाव महसुस भएको थिएन । तर  भिडियो फुटेज हेर्दा मुटु ढुकढुक हुन्छ । प्रत्यक्ष प्रशारण भइरहेको खेल हेरे  जस्तो लाग्छ । त्यो वेला क्रिजमा हुँदा करणलाई आफू भन्दा पनि बढी सन्दीपको दवाव महसुस भएको थियो । बारम्बार सन्दीप आउट नभइदिए हुन्थ्यो भन्ने मात्र लागिरहेको करण बताउँछन् । डगआउटबाट पासर खड्का, शक्ति गौचन, बसन्त रेग्मी लगायतका खेलाडीले तिमी सक्छौ भनेर कराइरहेको आवाज उनको कानमा गुजिन्थ्यो । अन्तिम ओभरमा क्यानडाका खेलाडी जीतको खुशीयाली मनाउन राष्ट्रिय झण्डा सहित बाउण्ड्रीमा तयार भइसकेको थिए । त्यो देखेपछि करणको मन एक्कासी दुख्यो । त्यो ठाउँमा नेपालको झण्डा हुनुपर्छ जस्तो उनलाई लाग्यो । आत्मविश्वास अझै बढ्यो र असम्भव जस्तो लाग्ने कार्य उनले सफल पारे । करण भन्छन्– ‘सायद क्यानडाले भन्दा बढी मेहनत हामीले गरेका थियौं त्यसैले भगवानले हामीलाई साथ दिए ।’ आजपनि सिनियर खेलाडीलाई अविस्मरणिय क्षण  कुन हो भनेर सोध्दा प्रायको जवाफ करणको क्यानडासँगको पारी भन्ने जवाफ आउँछ ।  खेलाडी भन्ने गर्छन्– सन २०१४ को टि ट्वान्टी विश्वकप भन्दा पनि बढी करणको पारी सम्झदा हातका रौहरु ठाडो हुन्छ ।  

त्यो खेल हारेको भए ? 

करणलाई यो प्रश्न सुन्न पनि मन लाग्दैन । ‘हारेको भए चार पाँच जना सिनियर खेलाडीले क्रिकेटबाट सन्यास लिन्थे । हामी अझै पनि एकदिवसीय मान्यता पाउन संघर्ष गरिरहेका हुन्थ्यौ होला । किनकी सन् २०१५ मा एकपटक मौका गुमाइसकेका थियौं । अन्तिम खेलमा केन्यासँग पराजित भएपछि नेपालले विश्वकप छनोटको अवसर गुमाएको थियो । त्यसैले रुम मेट सोमपाल कामीसँग हरेक दिन कुरा हुन्थ्यो यो हाम्रा लागि अन्तिम मौका हो ।’ करणले  २०१५ मा नामिबियामानै भएको विश्व क्रिकेट लिग डिभिजन टु मार्फत राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । सो प्रतियोगितामा उनले क्यानडा विरुद्ध पाँच विकेट लिएका थिए । लिस्ट ए क्रिकेटमा एकै खेलमा पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी बनेका थिए । सो वेला उनले नेपाल एक्सप्रेसको उपाधी पाएका थिए । दुइ वर्षपछि उनको नाम अघि थपियो भ्यालेन्टाइन्स डे ब्वाइ ।  

 

नेपाली क्रिकेटमा करणको आगमन

 

करणलाई नेपालको क्रिकेटकोबारे खासै थाहा थिएन । उनी परिवारका साथ भारतमा बसोबास गर्थे । उनका दाइहरु विदेशमा थिए । त्यसैले उनीपनि विदेश जाने लक्ष्य सहित नेपाल आए पासपोर्ट बनाउन । उनी भारतमा रहँदा क्रिकेट भने खेल्थे । बाग्लुङ आएपछि वहिनीसँग त्यहाँको एक कलेज गएका उनले क्रिकेट खेलिरहेको देखेपछि विदेश जाने परिवारको इच्छाले दवाएको खुशी एक्कासी बाहिरियो । उनलाई नेपाली बोल्नै आउँदैन थियो । बहिनीलाई भने म पनि खेल्छु भनिदेउ न । त्यसपछि पोखरा आएर क्रिकेट खेल्न थालेका करणलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नेट वलरका रुपमा बोलाइयो । पहिलो पटक रातको समयमा सुन्धारामा बसबाट ओर्लिएको अहिले पनि उनलाई याद छ । राष्ट्रिय टिमका पूर्व खेलाडी मनोज कटुवालले उनलाई सुन्धाराबाट लिएर होटल लगेका थिए । त्यो वेला विरानो लागेको काठमाण्डौ अहिले भने आफ्नो लाग्न थालेको छ करणलाई । किनकी ६ वर्षको क्रिकेट करियरमा अधिकांश समय उनी काठमाण्डौमै विताउँछन् । सुरु सुरुमा नेपाली बोल्न नआउँदा टिममा घुलमिल हुन एकदमै गाह्रो भएको थियो । उनी बोल्ने वित्तिकै साथीहरु हाँस्थे । तर राष्ट्रिय टिमको जर्सी लगाउने सपनामा भाषा कहिल्यै बाधक भएन । दुइ वर्ष जतिमा नेपाली पनि सिके । अहिले उनको बोलीमा छुट्टै खालको मिठास सुनिन्छ ।  करणको बोलीमा नेपाली र हिन्दीको मिश्रण पाइन्छ । जुन सुन्दा त्यतिनै आनन्द लाग्छ जति उनको वलले विपक्षीको विकेट ढल्दा अनि उनको ब्याट बाउट बाउन्डी« जाँदा निस्कने आवाजको लाग्छ । 

पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाउँदाको खुशी अहिले पनि करणले सम्हालेर राखेका छन् । सायदै त्यो खुशीलाई अरु केहीले पनि प्रतिस्थापन गर्न सक्दैन । राष्ट्रिय टिमबाट खेलेको दुइ वर्ष पछिसम्म पनि करणको संघर्ष भने उस्तै रह्यो । पोखरामा विहान सार्वजनिक बस समात्यो अभ्यासमा गयो अनि बेलुका फर्कियो । धेरै पटक बस छुटेपछि हिँडेरै घर पुगेको अुनभव पनि छ उनीसँग । सुरु सुरुमा परिवार साथ नहुँदा पनि उनलाई धेरैनै गाह्रो भएको थियो । नेपालमा फ्रेन्चचाइजी टि ट्वान्टी लिगहरु सुरु भएपछि मात्र हो करण आर्थिक रुपमा अलि वलियो भएको । या भनौ २०१८ पछि हो करणको करियरले ट्रयाक समातेको । 

 

अहिलेको करणमा के फरक छ त ?

 

करण भन्छन्– ‘अहिलेको करण धेरै जिम्मेवार छ । परिपक्व हुँदै गइरहेको छ । २०१८ को क्यानडाको त्यो पारीले मलाइ धेरै आत्मश्विास दिलायो । म गर्न सक्नु भन्ने आँट बढेर आयो । अहिले टिमले म माथि विश्वास गर्छ । करण आयो भने विनिङ मुमेन्ट ल्याउँछ भन्ने उनीहरुलाई विश्वास लाग्छ । यी कुराहरुले मलाइ अझै मेहनत गर्न प्रेरित गर्छ । कहिलेकाहीँ दवाव पनि हुन्छ ।’  
पहिले पहिले टिममा भएपनि खेल्न खासै मौका पाउदिन थिए । एक्सट्रा बस्थें । तर क्यानडासँग पाएको मौकामा आफूलाई प्रमाणित गर्न सकें । मेरो करियरको टर्निङ पोइन्ट नै त्यहि खेल हो भन्दा फरक पर्दैन ।’  

के कुराले निराश बनाउन छ त करणलाई ? उनी भन्छन्– ‘कुनैवेला जित्ने खेलहरु हार्दा साह्रै दुःख लाग्छ । मैले जिताउन सक्थे गल्तिले आउट भए जस्तो लाग्छ अनि दिक्क पनि लाग्छ । सिक्ने कुरा सधैं नै रहन्छ ।  हरेक खेल मेरो लागि सिक्ने अवसर पनि हो ।’ 

अबको लक्ष्य ?

राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन गर्ने नै हो । बाहिर गएर विदेशी लिग खेल्नको लागि पहिला राष्ट्रिय टिममा अब्बल हुनुपर्छ । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्नुपर्छ । करण भन्छन्– ‘मलाइ क्रिकेट बाहेक अरु केही पनि आउँदैन, क्रिकेट विनाको जीवन कस्तो हुन्छ मलाइ थाहा छैन । त्यसैले म र क्रिकेट एक अर्काका वेस्ट फ्रेन्ड हौं । दुःखमा पनि सँगै सुखमा पनि सँगै .... !’

ताजा खबर