एपीएफ क्लब राष्ट्रिय महिला लिगको उपाधी नजिक

२०७७ फाल्गुण १ शनिबार २०:२१:०० मा प्रकाशित

काठमाडौं । एपीएफ क्लब राष्ट्रिय महिला लिगको उपाधी नजिक पुगेको छ । आज भएको खेलमा वालिङ नगरपालिका स्याङजालाइ ६–शून्य गोलले पराजित गरेपछि एपीएफ उपाधीको एकदमै नजिक पुगेको हो । उसको यो लगातार नवौ जीत हो । यदि अब दुइ खेल जिते एपीएफ लिग च्याम्पियन बन्ने छ । 

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफको सहज जीतमा सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् । एक गोल प्रीति राईको नाममा रह्यो । एपीएफले सातौं  मिनेटमा सावित्राको गोल मार्फत वालिङ  विरुद्ध अग्रता लिएको थियो । १६  औं मिनेटमा दोस्रो गोल गरेकी सावित्राले त्यसको चार मिनेट पछि ह्याट्रिक पुरा गरिन् । इन्जुरी समयमा प्रिति राइले  गोल गरेपछि एपीएफ पहिलो हाफमा वालिङ संगको दुरी चार शून्यमा पुर्यायो । 

पहिलो हाफमानै वालिङले गोलका केही राम्रा मौका र्सिजना गरेको थियो तर फिनिसिङ गर्न सकेन । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेपनि एपीएफ रोकिएन । ६४ औं मिनेटमा सावित्राले ब्यक्तिगत चौथो गोल गरिन् । इन्जुरी समयमा सावित्राले गोल गरेपछि एपीएफले लिगमा आफ्नो अपराजित यात्रा कायम राख्यो । जारी लिगमा अपराजित रहने एपीएफ एक्लो टोली हो । 

यो सिजन  लिगमा सावित्राको गोल संख्या ४३ पुगेको छ । शीर्ष स्थानमा रहेको उसको नौ खेलबाट २७ अंक छ । 

दोस्रो स्थानको त्रिभुवन आर्मी फुटवल क्लबको २२ अंक छ । 

 

ताजा खबर