आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

२०७४ मङ्सिर ३ आइतबार १९:३५:०० मा प्रकाशित

दोलखा (लामाबगर),४ मंसीर ।  स्वदेशी लगानीमा निर्माण भैरहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गको आईतबार ‘ब्रेक थ्रु’ भएको छ ।

ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले आईतबार मुख्य सुरुङमार्गको ब्रेक थ्रुको निर्देश गरेका थिए । यससँगै मुख्य सुरुङ खन्ने कार्यको सम्पूर्ण काम सम्पन्न भएको छ ।

आयोजनाको ब्रेक थ्रु सेलिब्रेसनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सहसचिवद्वय दिनेश घिमिरे, प्रवीण अर्याल, आयोजना कम्पनी सञ्चालकहरु, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, विमा संस्थानका प्रतिनिधिहरुको सहभागिता थियो । 
४५६ मेगावाटको यो आयोजनाको ८ दशमलव ५ किलोमिटरको सबैभन्दा लामो मुख्य सुरुङको ५ किलोमिटर लामो खण्ड ब्रेक थ्रु भएको हो । लगातार निर्माण कार्य भैरहेको आयोजनाको काम २०७२ सालको विनासकारी भूकम्पका कारण डेढ वर्षसम्म रोकिएको थियो ।

आयोजनाको कूल करिब साँढे १६ किलोमिटर सुरुङमध्ये अव सर्जसाफ्ट टनेल मात्रै खन्न बाँकी रहेको छ । हेडवक्र्सको करिब ९० प्रतिशत र भूमिगत विद्युतगृहको सिभिल तर्फको ९९ प्रतिशत काम सम्पन्न भई उपकरण जडान कार्य भैरहेको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको कूल ९२ प्रतिशत काम सम्पन्न भएको छ ।

आयोजनाको अत्यन्त कठिन कामको रुपमा रहेको दुई वटा ठाडो पेनस्टक साफ्टहरु मध्ये तल्लो ३७३ मिटर र माथिल्लो ३११ मिटर यसअघि नै ब्रेक थ्रु भै खन्ने कार्य समेत सम्पन्न सकेको छ । सो साफ्टमा पेनस्टक पाइप राख्ने कार्य सुरु गर्ने अवस्थामा रहेको पनि प्रवक्ता न्यौपानेले जानकारी दिए ।
यस्तै गोँगर–खिम्ती २२० के.भी प्रसारण लाइनमा निर्माण गरिने १ सय २७ वटा टावरहरुमध्ये १ सय १८ वटा टावरहरुको जग निर्माण भैसकेको र ९७ वटा टावरहरुको जडान कार्य सम्पन्न भैसकेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । सो प्रसारण लाइनको साँढे ७ किलोमिटर तार तान्ने काम समेत सकिएको उनले बताए ।

हाल विगु गाउँपालिका वडा नं १ तथा साविक लामाबगर गाउँ विकास समितिमा पर्ने यो आयोजनाको आौसत वार्षिक ऊर्जा उत्पादन २ अर्व २८ करोड युनिट हुनेछ । ग्रस हेड ८२२ मिटर र डिजाइन डिस्चार्ज ६६ घनमिटर प्रतिसेकेण्ड रहेको छ ।

आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएकामा भूकम्प, नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने भएको छ । २०७५ सालको पुस महिनासम्ममा आयोजनाबाट व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । 
 

ताजा खबर