‘जनयुद्ध’ की छापामार तारा भन्छिन्- ‘परिवर्तनको फल यो होइन’

२०७७ फाल्गुण १ शनिबार १५:००:०० मा प्रकाशित

इलाम । समानता र स्वतन्त्रताका लागि विश्वमा अनेक लडाइँ लडिए । अधिकार पाउन कतै रक्तहीन त कतै रक्तरञ्जित लडाइँ भए । एकसमय नेपाल पनि यसमा अछुतो छैन ।
     
वर्गविहिन समाज, जातीय विभेदको अन्त्य र लोकतन्त्रका लागि विभिन्न लडाइँ भए । अधिकार प्राप्तिका लागि भएको एउटा लडाइँ हो, माओवादी हिंसात्मक द्वन्द्व । जहाँ, समानता, लोकतन्त्र, धार्मिक सहिष्णुता र स्वतन्त्रका नाममा दश बर्ष सशस्त्र लडाइँ भयो । समाजका विभेदप्रति जो कोहीलाई चित्त बुझ्दैन । यसमा परिवर्तन ल्याउन आन्दोलन गर्नुप¥यो । त्यसमा पनि बालबालिकालाई यसबारे असमान नीतिको बारेमा बुझ्दा कति  चिक्त दुख्छ ? यिनै विचारले विचलित बन्दै बन्दुक समाउन बाध्य भइन्, सूर्योदय नगरपालिकास्थित पञ्चकन्याकी तारा राई । तारा सशस्त्र द्वन्द्वमा होमिँदा पुगनपुग १५ बर्ष हुँदै थिइन् । 
   
 कक्षा ७ मा पढ्दै गरेकी तारालाई समाजको मुहार फेर्न मन थियो । वर्गविहिन समाज, हिंसाहिन राष्ट्रको परिकल्पना गर्दै तारा युद्धमा होमिइन् । २०६१ माघ १ माओबादी महिला लडाकुको संसर्गबाट युद्धका लागि तयार भइन्, उनी । जुनबेला तारा युद्धमा होमिइन्, त्यस बेला उनमा न अब्बल शिक्षा थियो, न बलियो शरीर । तर, पनि हिम्मत कसेर तारा बन्दुक बोक्न तयार भइन् ।
    
समाज परिवर्तनका लागि तारा मर्न र मार्न हिम्मत कसिन् । उनको दिमागमा अरू केही आएन । घरपरिवार,   साथीसंगी, इष्टमित्र नेपथ्यमा रहे । उनको दिमाग र मनमा थिए, युद्ध/सफल युद्ध ।

यसरी होमिइन् तारा युद्धमा ?  
 
    २०६१ साल माघ १ गतेको कुरा हो, ताराको भेट महिला माओबादी लडाकुसँग भयो । तत्कालीन सत्ताप्रति वितृष्णाका भाव महिला लडाकुले दर्शाइन् । ताराले नतमस्तक हुँदै कुरा सुनिरहिन् । उनलाई पनि महिला लडाकुका कुराले मन छुन थाल्यो । त्यसपछि एउटा लक्ष्यविहिन यात्रामा होमिइन् । मानसपटलका लक्ष्य पूरा हुने हुन् वा होइन्, दोधार थियो । तर, पनि युद्धमा होमिइन् । 

    यात्रा थालेको छ दिन नवित्दै सुरक्षाकर्मी र माओबादीबीच भिडन्त भयो । भिडन्तपछि ताराले परिवार सम्झिन्, विशेषगरी आमा सम्झिँन् । तर, सम्झेर कहाँ हुन्थ्यो र । एउटा महान् यात्रामा हिँडेपछि पछि फर्किने कुरा भएन । युद्धमा तल्लिन रहिन् । जब २०६१ कै फागुनतिर तारा शारीरिक रूपमा अशक्त भइन् । उनको मुटु रोग बल्झियो । एकातिर घरपरिवारबाट अगल भएको एउटा शरीर । त्यो शरीर पनि अस्वस्थ । अब के नै बाँकी रहयो र ? जेनेतेन मन बुझाइन् । द्वन्द्वमा होमिएका लडाकुका सदासायताले तारा केही दरी भइन् । 

    अब तारामाथि अनेक विध्नवाधा आइलागे । घरपरिवारको न्यास्रो, राज्यको तारो, रोगी शरीर । के भन्ने र ? उनले बाँच्ने आशा मारिन् । तर, पनि के गर्नु र लडाकु भएर रोगी शरीर घिसार्नुको विकल्प कहाँ थियो र ! पटक–पटक विभिन्न लडाइँमा सहभागी भइन् । तर, जिन्दगी त्यसरी मात्र व्यतित भएन । जुन नचाहेको थियो, एक दिन त्यही भयो । उनी तत्कालीन राज्यपक्षका सुरक्षाकर्मीको पञ्जामा परिन् ।

सेनाको पञ्जामा पर्दाको त्यो क्षण   

   २०६२/११९को सोमबार उनी उपचारार्थ रहेको इलामकै सोयाङमा भूमिगत जीवन व्यतित हुँदै थिए । उनीसहित उनको समूहलाई सेनाको एक फौजले घेरा हाल्यो । साथीभाइ भागे, उनको रोगी शरीर भाग्न सकेन/भ्याएन । 

    अनि शुरु भयो जिन्दगीको अर्को पाटो । आँखामा पट्टी,पछाडि बाधिएका हात र दुश्मनको साथ । अनेक उकाला÷ओराला हिँडनु थियो । न विरामी भन्न पाइन्, न माओबादी हैन भनेर झुट वक्न पाइन् । उनले पाइन्, केवल लात्ती,गाली र दुःख । घटना यतिमा मात्र सीमित भएन । 

     कुन बेला के हुने हो पत्तो थिएन । दुश्मनले ‘करेन्ट लाउँलान्, हातमा पिन ठोक्लान् वा बलात्कार गर्लान्’ उनको मनमा यिनै कुरा खेल्न थाल्यो । ताराले लेखेको ‘छापामार युवतीको डायरी’मा उल्लेख छ,‘तर, उनी यी सबै कुरा सामना गर्न तयार थिए, तर, आत्मासमपर्ण गर्न तयार भइन ।’ उनलाई दुश्मनसँग झुक्नु थिएन । कहिले पूर्व त कहिले पश्चिम, सेनाको साहारामा घुम्दैमा वित्न थाल्यो दिन । सेनाले सोधेको उत्तर दिनु, हप्कीदप्की खानु उनको दैनिकी बन्यो । गाउँघर र जंगल घुमाउँदै कारागार र हिरासत पु¥याइयो । पहिले तारालाई इलाम हिरासत हालियो । 

    स्वतन्त्रताको पक्षमा वकालत गर्ने तारा एउटा साँघुरो कोठामा सीमित रहिन् । त्यसमा पनि ‘दश्मन’निगरानीमा । हिरासत बसाइँ इलाममा मात्र रहेन । झापा सारियो । ठाउँ नयाँ तर समस्या उस्तै । न प्रहरी चिनेका, न बन्दी । जसरी पनि बस्नै पर्ने थियो । बसिन पनि । झापाबाट पनि हिँड्नु पर्ने भयो, मोरङतिर । 

   त्यसपछि २०६२ मंसिर २१ गते मोरङ कारागारबाट पनि छुटिन,तारा । केही खुसी पनि भइन् उनी ।तर, पुनः गिरफ्तार गरियो । उनको खुसी लामो समय रहेन । फेरि, उही ठाउँमा पु¥याइयो ।त्यसपछि पुनः २०६२ साल मंसिर २४ मा पुन: छ महिनालाई नजरबन्द भनेर हातमा पुर्जी थमाइयो । तर, त्यसपछि भने फेरि कारागार चलान । अब भने केही सन्तुष्टि सास थाम्यो । कारागारमा सुत्न, टीभी हेर्न चाहिँ सुविधा भयो । अनेक समस्या झेल्दै तारा कारागारबाट छुटिन २०६३ बैशाख २० गते । उनलाई केही जितेझँ लाग्यो । मुलुकमा परिवर्तन भएझैँ लाग्यो ।

लडाकुपछिको जिन्दगी

‘फूलै फुल्यो, बैश फुल्यो, यो मन फुलेन
मनको पीर बुझिदिने कोही भएन’ 

   कुनै समयको चर्चित गीतका हरफ हो यो । शम्भु राईले गाएको यो गीत झैं भयो ताराको जीवन ।  तारा र ताराजस्तै लडाकुका कारण जनयुद्ध सफल भयो । केही परिवर्तन भयो । तर, ताराका जिन्दगीमा खुसी    भेटिएन । 
   
ताराको गायक बन्ने सपना थियो । यो पूरा भएन । उनी शम्भु राईलाई भेट्न चाहन्थिन् । त्यो पनि पूरा भएन । गायकको ‘भूत’चढेको बेला शम्भु राईलाई भेट्न घरबाट भागेर धरान समेत पुगिन् । तर, धोको पूरा भएन । 
  
 यस्तै अर्को समस्या आइलाग्यो, जनयुद्धपछि । जब उनी घर गइन् । उनलाई लागेको थियो, ‘परिवर्तनको हकदार हामी नै हौं भन्ने’तर, त्यो भावको उनको समाजले दिएन । उनलाई लडाकु र छापामारकै दृष्टिले हेरियो । 

   समाजले उनलाई कहिल्यै सकरात्मक दृष्टिले हेरेन । फगत, एक्लो बनिन् तारा । जसका लागि लडेका त्यो नै आफ्नो नभएपछि दुख्नु चित्त दुख्यो । आफ्ना पुराना साथीपनि अलप भए । अहिले उनलाई जनयुद्ध लडेको गलत लाग्दैन ।तर, त्यसरी स्थापित अधिकार संस्थागत नभएको देख्दा मन कटक्क खान्छ । आफूलाई देखाएको आश्वासन, अधिकारका लागि लम्किदाँका ती संघर्षका दिन सम्झदा रुन मन लाग्छ ।

ताराको अबको जीवन

  एक्लिएकी ताराको साहारा बन्न पुगे, एक पूर्वसैनिक । भनिन्छ, जीवनमा लेखेको कुरा नै पुग्छ । जुन कुरा ताराको जीवन हेर्दा देखिन्छ । लडाकु बन्दा सैनिकलाई कुन रूपमा हेर्थिन् तारा । तर, पछि तिनै एक सैनिक पति बने ।  अहिले ताराको जीवन साथीसहित छोरा पनि छ । इलाम छाडेर झापाको विर्तामोडमा बस्न थालेकी छन् । घरीघरी पुराना कुरा सम्झँदा अझै चित्त बुझ्दैन, तारालाई । 

   परिवर्तनका लागि लडेपनि परिवर्तनको अनुभूति हुन नपाएको तारा बताउँछिन् । अहिले उनको सम्पर्कमा पुराना साथी पनि छैनन्, सम्झिँदैनन् पनि । त्यसरी घटिएकी युवतीलाई न पार्टीको सहयोग पुग्यो, न   सरकारको । केवल एक लठ्ठी बनिन् तारा । जुन उकालो बाटो टेकियो, तेस्रो लागेपछि फ्याकिँयो । 

   ‘बाहिर धेरै समय दिन सक्दिँन÷भ्याउँदिन । घरपरिवारलाई नै समय दिएको छु ।’ ताराले भनिन्,‘पुराना कुरा निकाल्न मनै लाग्दैन । चाहे जस्तो भएन ।मन बुझ्दैन ।’ ताराको अबको यात्रा घरपरिवारसहित रहेर एउटा पुस्तक लेख्ने छ । कारागारपछिको आफ्नो जीवन/भोगाइ समेटेर लेख्ने लक्ष्य बुनेकी छन् । पहिले पुस्तक ‘छापामार युवतीको डायरी’ माथि पनि विभिन्न चर्चा भए । अब अर्को पुस्तक ल्याएर आफ्ना भोगाइ समाजलाई सुनाउन चाहन्छिन् तारा । तर, कहिले हो टुंगो छैन ।


 

ताजा खबर