काङ्ग्रेसभित्रै माओवादी छन्, तश्कर पनि छन् 

२०७७ माघ ३० शुक्रबार १७:४६:०० मा प्रकाशित

 आफ्नै घर काङ्ग्रेस बारे !

काङ्ग्रेसभित्रै माओबादी छन् भन्दा कडा होला ! तर त्यो बिचार बोकेपछि त्यही बादी भैंदैन र ?

काङ्ग्रेसभित्रै यो संविधानमा पूर्ण असहमत हुनेहरु पनि छन् । काङ्ग्रेसभित्रै बाहिरी खुफियाका पेरोलमा रहेका पनि छन् । काङ्ग्रेसभित्र जग्गा दलाल, म्यानपावर ब्यवसायी, ठेकेदार, तश्कर, कुण्डले, चुल्ठे, मुन्द्रे, कालाबजारी, स्कूल र कलेजमा पढाउन ठग्ने शिक्षक र प्राध्यापक, लोफर युवा जमात आदि आदि पनि छन् ।

छन त छन् धेरै असल, इमान्दार र साँचो अर्थका काङ्ग्रेस पनि छन् !

निर्णय जे आउला तर ढिलो चाँडो चुनाव त होला ! हुन्छ पनि । तर टिकट कसले पाउँछन् ? या त पुरानै असफल पात्र ।
 माथि उल्लेख गरेका पात्र । या त क्यासडाउन गर्ने पात्र ।   त्यो पनि हैसियत अनुसारको भागबण्डाबाट ।

काङ्ग्रेसमा अहिले पद नहुनेहरु काङ्ग्रेस नै होइनन् जस्तै भएको छ ! यदाकदा मिटिङ हुँदा पद हुनेहरुबीच मात्र हुने हो । पद पाएका अधिकांश त्यही बर्गका छन् !

 त्यसैले त्यहाँ अधिकांश साँचो काङ्ग्रेसहरु आँगनमा छन्, न त भित्र जाने अनुमती छ न त आँगन छाडेर बाहिर जान सक्छन् !

बाहिर देख्नेले (समाजले) चिनेको काङ्ग्रेस त त्यहि आँगनवाला हुन्, जसको समाजमा छवि राम्रो छ । भित्र भएकाहरुप्रति समाजको धारणा त बेग्लै छ ! तर टिकट त उनै भित्रकाले नै पाउने हुन् ! अनि समाजले नपत्याइ भोट आउँछ ??? काङ्ग्रेसको जनाधार के हो ? समाजले कस्तो ब्यक्ति खोज्छ ? रोज्छ ? काङ्ग्रेस के कारणले स्थापित भएको हो ?

काङ्ग्रेसको गौरबमय ईतिहास स्थापित हुनुमा उसको  बिचार, नेता वा कार्यकर्ताको चरित्र, आचरण अर्थात् समाजमा उसको छविले निर्धारण गरेको होइन ?

हरेकको आफ्नो मौलिक चरित्र वा बिशेषता हुन्छ ! खुर्सानी पिरो नभए, उखु गुलियो नभए, कागती अमिलो नभए, करेला तीतो नभए त्यसको कुनै मूल्य हुन्छ ? ढुङ्गाको कडापन नभए त्यसको के उपयोग ?

काङ्ग्रेस काङ्ग्रेस भएको उसको मौलिक आदर्श र त्यसका नेता र कार्यकर्ताहरुको समाजमा बनेको छवि हो ! लबेदा सुरुवालमा टाइ बाँधे कस्तो देखिन्छ ? हो, काङ्ग्रेसले आफ्नो मौलिकता छाड्दा त्यस्तै देखिएको छ !

सत्य यहि हो !

आदर्श, नैतिकता, चरित्र, गुण वा आफ्नै मौलिक बिशेषता जड, बनस्पतीमा त आवश्यक छ भने शासन गर्ने पार्टी, त्यसका नेता वा कार्यकर्तालाई आवश्यक नहुने हुन्छ र ?  भन्ने हो, बाटो देखाउने हो ! स्वीकार नगरे सकिने हो !

माया त लाग्छ नै जन्मेर, हुर्केर निस्वार्थपूर्वक पसिना बगाएर सिँगारेको घर बिग्रँदा कसलाई पीडा हुँदैन ? त्यसैले त आँगन छाडेर जान सकिएन नि !

इश्वरतुल्य जन्मदिने आमा बाबुलाई पनि नश्वर देहको अवसान पछि घाटमा लगेर आफैं आगो लगाउनु पर्छ भने यो नसोचियोस् कि सधैंभरी यी कार्यकर्ता र जनता आफैंसँग हुन्छन् !

भ्रम नरहोस् कि बर्तमानको काङ्ग्रेसका लागि आगामी कुनै समय हुने निर्बाचन अन्तिम नहोस् !

(नेपाली कांग्रेसका जुझारु नेता कोइरालाले उनको फेसबूकमा लेखेको टिप्पणी सामयिक ठानेर यहाँ प्रकाशन गरिएको छ ।)
 

ताजा खबर