नेपाली हरर टेलिशृङ्खला "हरर डायरिज" प्रशारण हुने

२०७७ माघ २९ बिहीबार ०९:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाली हरर-थ्रीलर टेलिशृङ्खला प्रशारण हुने भएको छ । आउँदो फागुन ३ बाट "हरर डायरिज" प्रशारण हुने भएको हो ।

एपि वन टेलिभिजनबाट हरेक सोमबार र मङ्गलबार राती ८:३० मा प्रशारण हुने "हरर डायरिज"मा विजय सुवेदीको निर्देशन तथा लेखन रहेको छ । निर्देशक सुवेदीले अस्कर कलेज अफ फिल्म स्टडिजबाट चलचित्र निर्देशनमा स्नातक गरेका छन् ।

टेलिशृङ्खलाकाे पहिलाे एपिसाेडकाे नाम "अधिरा" रहेकाे छ । "अधिरा"मा सदीक्षा शर्मा, निश्चल कार्की, युरेका रायमाझी, सुवास गजुरेल, सुजन खतिवडा र कपिल अधिकारी प्रमुख पात्रको रूपमा रहेका छन् । सानुबाबु महर्जनको छायांकनमा बनेको टेलिशृङ्खलाको सुटिङ र सम्पादन सकिइसकेको छ । शृङ्खलाको आगामी भाग हाल सुटिङको क्रममा रहेको निर्देशक सुवेदीले बताएका छन् ।

"हरर डायरिज" कति शृङ्खलाको हुने भन्ने बारे भने सुवेदीले बताएनन् । उनी भन्छन्- "हामिले धेरै नै शृङ्खलाको तयारी गरेका छौं, तर दर्शकको चाहना बमोजिम थपघट हुन सक्छ ।" नाममै "डायरिज" भएको हुँदा जति पनि शृङ्खला बन्न सक्ने उनी बताउँछन् । "पूर्णतया नेपाली कथा हुनेछ, र भेटेका उत्कृष्ट हरर कथा सकभर समेट्नेछौं", सुवेदीले भने ।

सुवेदीका अनुसार उनले धेरै चलचित्रका स्कृप्ट पनि लेखिसकेका छन् । समय र लगानी जुट्नासाथ उनी चलचित्रमै होमिने समेत बताएका छन् । उनी भन्छन्- "म सँग अहिले करिब १० वटा चलचित्रको स्कृप्ट तयार छ । काम गर्न सक्ने टीम, समय र लगानी जुट्नासाथ म चलचित्रमै आफूलाई केन्द्रित गर्छु ।"

टेलिशृङ्खलाकाे ट्रेलर यस्ताे छ :

 

 

ताजा खबर