यस्तो रह्यो भलिबलको परिणाम: गण्डकीसँग आर्मी चकित !

२०७७ माघ २८ बुधबार २०:०६:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशले पोखरामा जारी राष्ट्रिय भलिवल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार सेटमा चकित पारेको छ ।

पोखरा रंगशालाको भलिवल कोर्टमा स्थानीय टोली गण्डकीले राष्ट्रिय खेलाडीले भरिएको आर्मी विरुद्धको पहिलो सेट २२–२५ ले गुमाएको थियो । तर बाँकी सेटमा आर्मीले लय गुमाउँदा गण्डकीले उत्कृष्ट पुनरागमन गर्यो । दोस्रो सेटमा आर्मीले सुरुवातमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । गण्डकीले २५–१४ ले जित्यो  । तेस्रो सेट एक समय १४–१४ को स्थितिमा पुगेको थियो । तर गण्डकीले २५–१८ ले बाजी मार्यो । चौथो सेट गण्डकीले २५–१७ ले जितेपछि आर्मी आफ्नो पहिलो खेलमानै हार्न पुग्यो ।

अर्को खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई पाँच सेटमा हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो र दोस्रो सेट एपीएफले २७–२५, २५–२०  ले जितेको थियो । बाँक्ी दुइ सेटमा पुलिसले उत्कृष्ट पुनरागमन गरेपछि खेल लम्बिएको थियो । तेस्रो सेट पुलिसले २५–२० र चौथो सेट २५–९ ले जितेको थियो । तर पाँचौ सेट एपीएफले १५–१० ले आफ्नो पक्षमा पारेपछि पुलिस हार बेहोर्न बाध्य भयो ।

महिला तर्फ पुलिसले लगातार दोस्रो जीत हात पारेको छ । बुधबारको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई चार सेटमा हरायो । पुलिसले एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । पहिलो सेट आर्मीले २५–१८ ले जितेको थियो । तर बाँकी तीन सेट पुलिसले लगातार जित्यो । उसले २५–२२, २५–२३, २५–१६ ले जितेको हो । (तस्बिर सौजन्य: हाम्रोखेलकूद डट कम)

ताजा खबर