स्टार स्ट्राइकर सावित्राको विदेशमा गएर पनि खेल्ने आँट

२०७७ माघ २८ बुधबार १९:५६:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले नेपाल फुटवल संघले सहयोग गरे आफू भारत भन्दा बाहिरको लिगमा पनि  आफ्नो क्षमता देखाउन सक्ने बताएकी छिन् । 

जारी लिगमा विपक्षी विरुद्ध गोलको वर्षा गरिरहेकी सावित्राले विदेशमा गएर ब्याबसायिक लिग खेल्न आफू एक्लैले केही गर्न नसक्ने उल्लेख गरिन् । त्यसका लागि एन्फाले पहल गरिलिनुपर्ने उनले बताइन् । अहिलेसम्म आफ्नो कुनै एजेन्ट नभएको पनि उनले प्रस्ट पारिन् । जारी राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहट विरुद्धको खेलपछि संचारकर्मीसँग कुरा गर्दै सावित्राले मौका पाए विदेशमा गएर क्षमता देखाउन सक्छु जस्तो लागेको बताइन् । उनले चन्द्रपुर विरुद्ध ६ गोल गरेकी थिइन् ।

हरेक खेलमा गोल गर्छु नै भनेर मैदान प्रवेश गरेपनि यति नै गोल गर्छु भनेर नसोच्ने सावित्राको भनाइ छ । एपीएफले आठ खेल खेलिसक्दा सावित्राले एक खेल बाहेक हरेक खेलमा गोल गर्दै आएकी छिन् । उनको गोल संख्या ३८ पुगिसकेको छ । टिमले आफूमाथि विश्वास गर्ने भएकाले गोल गर्न दवाव हुने उनको भनाइ थियो । टिम मेट्सको सहयोगले यति धेरै गोल संभव भएको सावित्राको बुझाई छ । तर विगतमा भन्दा यो पटकको लिगमा गोल गर्न कठिन भएको उनको अनुभव छ । चौदन्डीगढी बाहेक अरु नगरपालिकाको टिमले निकै राम्रो चुनौती पेश गरिरहेको सावित्राले उल्लेख गरिन् । सावित्रा भन्छिन्– नगरपालिका टिममा विदेशी खेलाडी छन् । त्यसैले ब्यक्तिगत र टिमका लागि पनि चुनौती महसुस भएको छ ।

पहिलाको भन्दा लिगको स्तर बढेको र नयाँ खेलाडीको प्रदर्शन पनि तारिफयोग्य भएको सावित्राको विश्लेषण छ । सावित्रा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता पनि हुन् । उनले राष्ट्रिय टिमका लागि ३८ गोल गरेकी छिन् । सावित्राले भारतको महिला लिगमा दुइ सिजन खेलेकी छन् । 

ताजा खबर