आफ्नै मैदानमा इङल्यान्डसँग फराकिलो रनले हार्यो भारत

२०७७ माघ २७ मंगलबार १९:५२:०० मा प्रकाशित

चेन्नई । भारतले टेस्ट क्रिकेटमा इङल्यान्डसँग आफ्नै मैदानमा पहिलो पटक फराकिलो रनको हार बेहोरेको छ । इङल्यान्डले चेन्नाइमा खेलिएको पहिलो टेस्टमा घरेलु टोली भारतलाई दुइ सय २७ रनले पराजित गर्यो । योसँगै चार खेलको सिरिजमा इङल्यान्डले एक शून्यको अग्रता बनायो ।

जीतका लागि विश्व कीर्तिमानी चार सय २० रनको लक्ष्य पछ्याएको भारत ५८ दशमलब एक ओभरमा एक सय ९२ रनमा अल आउट भयो  । भारतले दिनको सुरुवात ३९ रन एक विकेटको स्थितिबाट गरेको थियो ।  ज्याक लिच र जेम्स एन्डरसनको धारिलो वलिङ सामु भारतीय ब्याट्सम्यान निरिह सावित भए । 

भारतका लागि विराट कोहलीले सर्वाधिक ७२ र शुभम गिलले ५० रन बनाएका थिए । पाँचौ दिनको पहिलो सत्रमा नै भारतले माथिल्लो क्रमका पाँच ब्याट्सम्यान गुमाएको थियो । चेतेश्वर पुजारा १५, शुभम गिल ५०, अजिंक्य रहाणे शून्य, वासिङटन सुन्दर शून्य, रिसब पन्त ११ रनमा आउट भएका थिए ।

 इङल्यान्डको प्रभावशाली जीतमा एन्डरसनले एघार ओभरमा चार मेडन सहित मात्र १७ रन खर्चिएर तीन विकेट लिए । लिचले चार विकेट लिए पछि भारत धरासायी बनेको थियो । जोफ्रा आर्चर, बेन स्टोक्स र डम बेसले एक एक विकेट लिए । टस जितेर ब्याटिङ गरेको इङल्यान्डले जो रुटको दोहोरो शतकको मदतमा पाँच सय ७८ रनको विशाल योगफल बनाएको थियो ।

 जवाफमा भारत पहिलो पारीमा तीन सय ३७ रनमा अल आउट भएको थियो । उसका लागि रिसव पन्तले ९१ र वासिङटनले ८५ रन बनाएका थिए । पहिलो पारीमै विशाल रन बनाएको इङल्यान्ड दोस्रो पारीमा एक सय ७८ रनमा अल आउट भएपछि भारतले चार सय २० रनको लक्ष्य पाएको थियो । 

यसअघि सन २००६ मा इङल्यान्डले भारतलाई उसकै मैदानमा दुइ सय १२ रनले हराएको थियो । पहिलो टेस्ट सुरु हुनु अघि सम्म इङल्यान्ड अन्डरडग र भारत फेभरेट थियो । जीतपछि अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीको टेस्ट च्याम्पियनसिप वरियतामा चौथो स्थानमा रहेको इङल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानको भारत चौथो स्थानमा झर्यो । दोस्रो टेस्ट चेन्नाइमानै शनिबार बाट सुरु हुनेछ । 

ताजा खबर