भलिवल च्याम्पियनसिप: पुलिससँग एपिएफ पराजित

२०७७ माघ २७ मंगलबार १९:३६:०० मा प्रकाशित

पोखरा । पोखरामा मंगलबारबाट राष्ट्रिय क्लब भलिवल च्याम्पियनसिप सुरु भएको छ ।  पहिलो दिन महिला तर्फको खेलमा एपीएफ क्लब चीर प्रतिद्धन्दी नेपाल पुलिस क्लबसँग तीन शून्यको सोझो सेटमा स्तब्ध भयो ।  रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २६–२४ ले जित्यो । बाँकी दुइ सेटमा भने एपीएफले पुलिस सामु गतिलो चुनौती पेश गर्न सकेन । दोस्रो सेट पुलिसले २५– २२ ले जित्यो । तेस्रो सेट सहजै २५–११ ले आफ्नो पक्षमा पार्दै पुलिसले एपीएफलाई सोझो सेटमा पाखा लगायो । 

अर्को खेलमा न्यूडाइमन्ड एकेडेमीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पाँच सेटमा पराजित गर्यो । पहिलो सेट न्यूडाइमन्डले सहजै २५–१२ ले जितेको थियो । तर बाँकी दुइ सेटमा लय गुमाउदा आर्मीले पुनरागमन गरेको थियो । दोस्रो र तेस्रो सेट आर्मीले २५–२२, २५–१८ ले जित्यो । चौथो सेटमा फेरी न्यूडाइमन्ड हाबी भयो र २७–२५ ले आफ्नो पक्षमा पार्यो । पांचौ तथा निर्णायक सेटमा न्युडाइमन्ड १५–१३ ले विजयी भयो । 

पुरुष तर्फको खेलमा नेपाल पुलिस क्लबले गन्डकी प्रदेशलाई सोझो सेटमा पाखा लगायो । पुलिसले स्थायिन टोलीलाइ २७–२५, २५–२१, २५–२२ ले पराजित गरेको हो । (तस्बिर सौजन्य: हाम्रो खेलकूद डट कम)

ताजा खबर