ग्रान्डस्लाम: अमेरिकाकी सेरेना विलियम्सको सुखद सुरुवात

२०७७ माघ २६ सोमबार २१:१६:०० मा प्रकाशित

वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिस सोमबारबाट सुरु भएको छ । करियरको २४ औं ग्रान्डस्लाम उपाधी जित्ने लक्ष्य सहित मेलवर्न पुगेकी अमेरिकाकी सेरेना विलियम्सले सुखद सुरुवात गरेकी छिन् ।

सेरेनाले जर्मनीकी लौरा सिगमन्डलाई सोझो सेटमा पराजित गरिन् । ३९ वर्षिया सेरेनाले पहिलो सेट ६–१  ले जितेकी थिइन् । दोस्रो सेट पनि ६–१  ले नै आफ्नो पक्षमा पारिन् । उनले जीत हात पार्न मात्र ५६ मिनेट लगाएकी थिइन् । 

युएस ओपन च्याम्पियन जापानकी नाओमी ओसाकाले पनि दोस्रो चरणमा स्थान बनाएकी छिन् । ओसाकाले रुसकी आनासटेजा पाबुल्योचेनकोभालाई सहजै ६–२, ६– १ को सोझो सेटमा हराइन् । दोस्रो वरियताकी सिमोना हालेपले अस्ट्रेलियन वाइल्डकार्ड लजाक कबेरालाई ६–२, ६–१ को सेटमा पराजित गरिन् । उनले जित निकाल्न मात्र ५९ मिनेट लगाइन् । 

पूर्व च्याम्पियन एंजेलिक कर्बर भने पहिलो चरणबाटै बाहिरिन् । उनी  अमेरिकाकी बर्नाडा पेरासँग ६–०, ६–४ को सोझो सेटमा हराईन् । उनले आफ्नो हारको कराण लामो समयको क्वारेन्टिनलाई दिइन् । कर्बर १४ दिनको क्वारेन्टिन बस्ने ७२ खेलाडी मध्येकी एक हुन्  । यो समयमा उनले कोठा भन्दा बाहिर जान पाएकी थिइनन् । 

 

ताजा खबर