एपीएफ क्लबको गोल वर्षा, एक खेलमा शून्यका विरुध्द १४ 

२०७७ माघ २६ सोमबार २१:०७:०० मा प्रकाशित

काठमाडौं । एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । एपीएफले सोमबारको खेलमा चौदन्डीगढी नगरपालिका उदयपुरलाई १४ शून्यको फराकिलो अन्तरले पराजित गर्यो । एपीएफको यो लगातार सातौं जीत हो । 

एन्फा कम्प्लेक्समा एपीएफका लागि सावित्रा भण्डारी एक्लैले आठ गोल गरिन् । चौथो मिनेटमा सावित्राको गोल मार्फत एपीएफले खाता खोलेको थियो । १८ औंं मिनेटमा सावित्राले अग्रता दोब्बर बनाइन् । २४ औंं मिनेटमा अनिता केसीले टिमका लागि तेस्रो गोल थप्दा ३६ औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गरिन् । ४० औं मिनेटमा अनिता र ४२ औं मिनेटमा सावित्राले ब्यक्तिगत चौथो र टिमका लागि छैटौ गोल गरिन् । 

इन्जुरी समयमा बर्थडे गर्ल अनिता बस्नेतले गोल गरेपछि एपीएफ पहिलो हाफमा सात शून्यले अघि रहेको थियो । दोस्रो हाफमा सावित्राले चार गोल गरिन् । उनले ५३, ५६ र  ६४ औं मिनेटमा अनिता बस्नेतले गोल गरिन् । ७२ औं मिनेटमा  सावित्राले फेरी गोल थपिन् । ७६ औं मिनेटमा अनु लामा र ७९ औं मिनेटमा रविना गोलेले गोल थपे ।

 दुवै बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । ८७ औं मिनेटमा सावित्राको गोलसँगै एपीएफले १४ शून्यको फराकिलो जीत सहित खेल टुंग्यायो । सावित्राको लिगमा कुल गोल संख्या ३२ पुगेको छ । 

चौदन्डीगढीले लिगको पहिलो चरणमा भन्दा सोमबार केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । उसले पहिलो चरणमा एपीएफसँग २२ शून्यको हार बेहोरेको थियो । सो खेलमा सावित्राले मात्र १२ गोल गरेकी थिइन् । जीतपछि शीर्ष स्थानको एपीएफको सात खेलबा २१ अंक छ ।  दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटवल क्लब पाँच अंकले पछि छ । चौदन्डीगढीले अहिलेसम्म जीत हात पार्न सकेको छैन । 

ताजा खबर