एक लाख ८४ हजारले लगाए कोरोना भाइरसविरुद्धको खोप

२०७७ माघ २५ आइतबार ०९:३६:०० मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ एक लाख ८४ हजार भन्दा बढीले लगाएका छन् ।  पहिलो चरणको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । देशभरका २०१ खोप केन्द्रबाट खोप लगाइएको थियो । 

जसअनुसार प्रदेश नं १ मा २४ हजार दुई सय २४, प्रदेश नं २ मा २५ हजार ६ सय ३७, बागमती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नौ सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जना छन् ।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याएको खोप प्राथमिकताका आधारमा अर्काे चरणमा लगाउने भएको छ ।

नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।
 

ताजा खबर