सञ्चारमाध्यमसँग जिदानले किन गरे धेरै गुनासो  ?

२०७७ माघ २४ शनिबार १२:३४:०० मा प्रकाशित

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले संचारमाध्यमसँग रिस पोखेका छन् । संचारमाध्यमले चाहिने भन्दा बढी खेदो खनेको जिदानको गुनसो छ ।

ला लिगा अन्तर्गत वेस्का विरुद्धको प्रि म्याच कन्फरेन्समा जिदानले धेरै समय पत्रकारहरुलाई गाली गर्नमा खर्चिए ।  पछिल्लो समय क्लबको खराब प्रदर्शनका कारण जिदानको भविष्यलाई लिएर स्पेनिस संचारमाध्यममा विभिन्न टिकाटिप्पणी र आलोचना भइरहेका छन् ।

जिदानले रिसाउँदै भने– रियालले दश वर्ष अघि होइन गत सिजन मात्र लिग उपाधी जितेको हो । संचारमाध्यमले सम्मानपूर्वक ब्यबहार गर्नुपर्ने उनको भनाइ छ ।  आफू यति धेरै आलोचनाको हकदार नभएको पनि जिदानले प्रस्ट पारे । यो सिजन लिगमा  संघर्ष गर्ने अधिकार प्राप्त रहेको भन्दै उनले एक सिजन दिन आग्रह गरे । उनी भन्छन् – अर्को सिजन धेरै परिवर्तनहरु आवश्यक छ तर गत सिजन मात्र च्याम्पियन बनेको टोली यो पटक पनि उपाधीकै लागि लडिहेको छ । क्लबले प्राप्त गरेको सफलताका लागि पनि सम्मान गरिनुपर्ने जिदानले प्रस्ट पारे ।  जिदान भन्छन् तपाईंहरु (प्रेस) धेरै कुरा भन्नुहुन्छ, मैले क्लब छोडेर गएको हेर्न चाहनुहुन्छ भने मेरो अगाडि किन भन्नुहुन्न ? किन मेरो पछाडि आलोचना गर्नुहुन्छ । 

कोरोना भाइरस संक्रमण भएपछि जिदान पहिलो पटक संचारमाध्यमको अगाडि उपस्थित भएका हुन् ।  दुइ साता पिँजडामा बसेको भन्दै जिदानले बाहिरी दुनियाँमा आउन आतुर रहेको बताए । साथमा उनले सिजनका अन्त्यसम्म उपाधीका लागि लड्ने पनि जनाएका छन् । ४८ वर्षिय जिदानलाई क्लबले दोस्रो पटक सन २०१९ मार्चमा नियुक्त गरेको थियो । त्यसअघि उनले आफ्नो पहिलो स्पेलमा रियाललाई तीन पटक च्याम्पियन्स लिग उपाधी जिताएका थिए । २०१६–२०१७ को सिजनमा रियाल उनकै नेतृत्वमा ला लिगा च्याम्पियन पनि बनेको थियो । 

जारी सिजन रियाल २० खेलबाट ४० अंकका सात तालिकाको तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा दश अंकले कम हो । दोस्रो स्थानको बार्सीलोनाको पनि २० खेलबाट ४० अंक नै छ ।   रियालले वेस्का संग आज राती प्रतिस्पर्धा गर्दैछ । 

ताजा खबर