जनकपुरधाम र अयोध्याधाम एकै हुन् 

२०७७ माघ २३ शुक्रबार १६:३९:०० मा प्रकाशित

रक्ताम्भोज दलाभिराम नयनं पिताम्वरालंकृतम् 
श्यामांङ्ग द्विभुजं प्रसन्नवदनं श्री सीतया शोभितम् । 
कारुण्यामृत सागरं प्रिय गणैभ्र्रात्रादिभि र्भावितम् 
वन्दे विष्णु शिवादि सेव्यमनिशं भक्तेष्ट सिद्धि प्रदम् ।। 
– श्रीराम चरित मानस । 

सत्य युगको कुरा हो । विष्णु भगवानसँंग दुर्वाषा ऋषिको गोप्य वार्ता चलिरहेको थियो । भगवानका पार्षद जय र विजयलाई ढोकाबाट कसैलाई पनि छिर्न नदिनु भन्ने भगवानको आज्ञा थियो । त्यसैबखत अत्यन्त जरुरी काम परेर चार ऋषि बालक सनक, सनन्दन, सनातन र सनतकुमार भगवान नारायणलाई भेट्न भनी आइपुगे । भगवानका पार्षद द्वयले भित्र जाने अनुमति नदिंदा बालक ऋषिहरु सनकादी कुमारहरुले श्राप दिए— तिमीहरु मत्र्यलोकमा राक्षस भएर जन्मने छौ । यो कठोर श्राप सुनेपछि भगवान नारायणका पार्षद जय विजयले विनम्र भएर प्रार्थना गरे र आफ्नो वाध्यता बताए । यसपछि ऋषि कुमारहरुलाई दया लाग्यो र दिई सकेको श्राप फिर्ता लिन नमिल्ने भएकाले मोक्षको बाटो बताई फर्के । 

मोक्षको बाटो चाहिं यस्तो थियो – त्रेता युगमा नारायण विष्णु भगवान पृथ्वीतलको अति नै पुजनीय स्थल सरयु नदीको समीप अयोध्यामा राजा दशरथ र माता कौशल्याको पुत्र रत्नको रुपमा रामावतार हुनेछ । तिमीहरु दुवै रावण र कुम्भकर्ण भएर लंकामा जन्मने छौ । रावणले सीता मातालाई हरण गरेर लंका लैजाने छ । राम र रावणको भीषण युद्धमा अयोध्याका राजा रामबाट तिमीहरुको उद्धार हुनेछ । त्यसैगरी द्वापर युगमा भगवान विष्णु बसुदेव र माता देवकीको कोखबाट कृष्णको रुपमा अवतार हुदा तिमीहरु दुवै कंश र शिशुपाल भएर जन्मने छौ र भगवान कृष्णको हातबाट तिमीहरुको उद्धार हुनेछ । 

 
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । 
अभ्यूत्थानम्धर्मस्य तदात्मानां सृजाम्यहम् ।। 
परित्राणाय साधूनाम विनाशाय च दुष्कृताम् । 
धर्मसंस्थापनार्थाय सम्भवामी युगे युगे ।। 
–श्रीमद्भगवद् गीता 

 
गीतामा भगवान कृष्णले भन्नु भए जस्तै लंकाका राजा राक्षस रावणको पाप कर्म अन्त्य गरेर धर्म स्थापना हेतु भगवान श्रीरामको जन्म भएको थियो । रामायण कथा अनुसार, पराक्रमी राजा दशरथलाई बरद पुत्रका रुपमा अयोध्यामा भगवान विष्णु अंश श्रीरामले जन्म लिनु भएपछि यशस्वी राजा जनकको राजधानी जनकपुरधाममा श्री भगवती महालक्ष्मी पनि धर्ती पुत्री सीताका रुपमा अवतरित हुनुभयो । 

देवताका पनि देवता अर्थात देवाधिदेव महादेव शिवजीका अंश पर्शुरामबाट मिथिला नरेश राजा जनकलाई चिनो स्वरुप शक्तिशाली शिवधनुष प्राप्त भएको थियो । जुन धनुषलाई उचालेर ताँदो चढाउन शक्तिमाता जनक नन्दिनी सीता बाहेक आम समुदाय या राक्षस गण कसैले पनि सक्दैनथे । पूजा कोठा बढार्दा, सरसफाई र लिपपोत गर्दा सीताजीले धनुषलाई बायाँ हातले उचालेको राजा जनकले देख्नु भएको थियो । यस्तोमा राजा जनकले धर्तीमाताको वरदान स्वरुपप्राप्त भएकी पुत्री छोरी सीताको विवाहका लागि योग्य वर खोज्न स्वयम्वरको शर्त नै ‘शिव धनुष उचाल्ने र ताँदो चढाउने’ राख्नु भयो । रावण लगायतका एक से एक पराक्रमी वलवान राजाहरु कसैले पनि शिव धनुषमा ताँदो चढाउने त कुरै छोडौं, हल्लाउन पनि सकेनन् । 

सीता अब जीवनभर अविवाहित रहने भइन् भनेर राजा जनकलाई ठूलो चिन्ता पर्न गयो । त्यस्तो शर्त बेकारमा राखेछु जस्तो पनि मिथिला नरेश राजा जनकलाई भएको थियो । यस्तैमा विश्वामित्रको आदेश पाएर भगवान रामले शिव धनुष उचाल्नु मात्र भएन ताँदो चढाउन खोज्दा तीन टुक्रा भएर भाँच्चियो नै । त्यसमध्ये एक टुक्रा धनुषाधाममा छ । त्यसरी धनुष भाँच्चिदा पृथ्वी नै कम्पायमान हुन पुग्यो । यो थाहा पाएर रिसाउदै पर्शुराम भगवान रामसँग युद्ध गर्न समेत तम्सिनु भएको थियो । तर पछि राम स्वयम् भगवान हुन भन्ने थाहा पाएर पर्शुराम शान्त हुनुभयो । तत् पश्चातसीताराम स्वयम्वर तथा विवाह धुमधामसँग सम्पन्न भयो । 

यसरी जनकपुरधाम भगवान श्रीरामको ससुराली र देवी सीताको माइतीघर तथा अयोध्या भगवान राम र देवी सीताको घर हुन पुग्यो । ससुराली र माइती भन्नासाथ हामीमा आराम र आनन्दीभाव मनमा उब्जिएर आउछ । स्वयम् साक्षात् भगवान र भगवतीलाई त्यस्तो भाव आउने ठाउँ भनेपछि सनातनधर्मी हामी हिन्दूहरुका लागि जनकपुरधामको कति ठूलो महत्व रहेछ भन्ने कुरा वर्णन गर्नै सकिन्नँ । यस आधारमा पनि यो कुरो किटेर भन्न सकिन्छ– विश्वकै पवित्र भूमिहरुमा जनकपुरधाम अग्रणी स्थानमा आउछ । हिमालहरुमा सगरमाथा भने जस्तै हो । अर्थात जनकपुधामलाई देवभूमि भनेमा कुनै आपत्ति हुँदैन । 

यस्तो महान ऐतिहासिक पवित्रस्थल जनकपुरधाममा मैले पाँच दश भन्दा बढी प्रजातन्त्रका लागि पत्रकारिताको साधना गरेर बिताउन पाएकोमा धेरै भाग्यमानी ठानेको छु । भगवत कृपाले नै हुनुपर्छ भन्ने मलाई लागेको छ र जीवनका गोरेटा, जीवन खुशी, सुखी र आनन्दले नै बितिरहेको छ । उपचारको क्रममा केही वर्ष यता राजधानी काठमाण्डुमा बस्नु परेको छ । तैपनि मन भने जहिले पनि भगवान भगवती सीतारामको माइती ससुराली मै पुगिरहेको हुन्छ । यसै कारणले नै हुन सक्छ, अस्पताल धाउँदा धाउँदा थाकेको यो अवस्थामा पनि श्रीमती, छोराहरुसँग कुनै न कुनै वाहना झिकेर वर्षमा अनेक पटक जनकपुरधाममा जान्छु र राम जानकीको दर्शन गर्न पुगेकै हुन्छु । यसरी म आफ्नो मनको धोको पूरा गरी रहेको हुन्छुु । अहिले पनि मेरो स्थायी बसोवास जनकपुरधाम नै हो । 

अहिले अयोध्या र जनकपुरधामका वीचमा नेपाल भारतको जुन सीमा छ, त्यो पहिले थिएन । त्यसैले मैले जनकपुरधाम र अयोध्याधाम एकै हुन भनेको हुँ । अहिले हामीलाई जनकपुरधाम जस्तो विश्व कै पवित्र स्थल धार्मिक भूमि हाम्रो राष्ट्रमा छ भन्ने जुन गौरव र हर्ष छ, त्यो राष्ट्र पृथ्वीनारायण शाहको देन हो । नेपालको सीमा त सुगौली सन्धीले पो किटेको हो । त्यसैले मैले पृथ्वीनारायण शाहको सालिक ढाल्ने अभियान चलाउदा बिरोध गरेको थिएँ । 

जनकपुरधामको गौरव त हामीलाई पहिलेदेखि नै थाहा थियो । राष्ट्रको गौरव भने पृथ्वीनारायण शाहबाट थाहा पाएका हांै । इतिहास साक्षी छ । त्यसैले मैले पृथ्वी नारायणको अपमान र अवमूल्यन गर्नुको कुनै अर्थ छैन भन्ने गरेको हूँ । पृथ्वी नारायण शाहको शालिक ढाल्नु भनेको नेपालको सीमा भत्काउनु जस्तै हो । ती अभियानकर्ताहरुले यस्तो काम नबुझेर गरेका हुन् कि निहित स्वार्थले परचक्रीको खेलौना भएर गरेका हुन् भन्ने प्रश्न अझै मेरा लागि अनुत्तरित नै छ । तर सबै अनुत्तरित प्रश्नहरुको जवाफ समयले एक दिन अवश्य दिनेछ । 

सानो सन्दर्भ जोडिन आइपुगेकाले पृथ्वीनारायण शाहका यति कुरा भएका हुन् । फेरि आफ्नो प्रतिपाद्य प्रसँग जानकी मन्दीर बखान महिमा तर्फ नै मोडिन्छु ।  

स्वयम् साक्षात भगवान भगवतीको ससुराली माइती भनेपछि त्यस उताको महिमा बखान केही आवश्यक परेन । यताको इतिहासमा जानकी मन्दीरलाई नौलखा मन्दीर पनि भनिन्छ । भारतको टिकमगढकी महारानी बृषभानु दुलारी सन्तान सुख नपाएर धेरै छटपटाइ रहेकी थिइन् । जानकी माताको दर्शनबाट सन्तान सुख प्राप्त हुने सपना देखिन् । ठूलो आशा लिएर माताको दर्शन गर्न जनकपुर आइन् । त्यतिखेर सीता माताको मन्दीर सानो थियो । माताको दर्शनपछि महारानी दुलारीलाई सन्तान सुख प्राप्त भयो । हर्षले विभोर भएर ई.स. १९११ मा फेरि जनकपुर आइन् र अहिलेको भव्य नौलखा मन्दीर निर्माण गरिदिइन् । त्यतिखेर नै यो मन्दीर बनाउन नौ लाख खर्च भएको हुनाले मन्दीरको नाम पनि नौलखा भनेर पुकारिन थालेको हो । तर जति महिमा जानकी मन्दीर नामबाट हुन्छ, त्यति नौलखा मन्दीरबाट हुँदैन । 

पहिले पनि जनकपुरधाम राम–सीताको र जानकी मन्दीरको पन्ध्र दिने पञ्चकोशी परिक्रमा गर्ने चलन थियो, जुन अहिले पनि छ । सीताजीको फूलको बगैचा जुन अहिले फुलहर नामबाट प्रसिद्ध छ, पन्ध्र दिने परिक्रमा अन्तर्गत त्यो भारतमा पर्दछ । सीताजीको विवाहमा मण्डप निर्माण गर्न मटिहानीबाट माटो ल्याइएको मान्यता छ, जुन परिक्रमा अन्तर्गत नेपालमा पर्दछ । पछि एकजना महासन्त मौनी बाबाले तिन कोशे परिक्रमा गर्ने व्यवस्था पनि स्थापित गर्नुभयो जसलाई जनकपुरधामको अन्तरगृही परिक्रमा पनि भनिन्छ । 

मिथिला महात्म्यमा जनकपुरधामको यो परिक्रमाको ठूलो महत्वका साथ उल्लेख गरिएको छ । जनकपुरको यस परिक्रमाको ऐतिहासिक महत्व भएकाले देश विदेशका हिन्दू धर्मावलम्बीहरु परिक्रमा भर्न लाखौको संख्यामा जनकपुरधाम आउने   गर्दछन । नेपालमा भन्दा पनि भारतमा त त्यहाँका धर्मावलम्बीहरुले यो पन्द्रह दिने परिक्रमालाई ठूलो महत्वले हेर्ने गरेको पाइन्छ । प्रत्येक वर्ष फाल्गुण कृष्णपक्षको प्रतिपदादेखि जनकपुरधामको कचुरी भन्ने गाउँबाट पन्द्रह दिने परिक्रमाको निमित्त भगवान सीतारामको डोला उठ्दछ । 

परिक्रमाको प्रथम बास जनकपुरकै हनुमान गढी अर्थात कुवारामपुरमा हुन्छ र दोस्रो बास भारतको कल्याणेश्वरमा । रात्रीमा विश्राम गरी भोलिपल्टबाट परिक्रमाको डोला यात्रा प्रारम्भ हुन्छ । कल्याणेश्वरबाट तेस्रो वास फुलहरमा हुन्छ । यो वास पनि भारतीय भूमिमा पर्दछ । त्यो स्थानलाई त्रेता युगको सीताजीको फूलवारी मानिन्छ । सीताजीले त्यही बगैंचाबाट फूल टिपेर मनकामना भगवतीको पूजा गर्नु हुन्थ्यो भन्ने लोकोक्ति छ । सीताजीको मनोकामना भगवान रामसँग स्वयम्वर गर्ने थियो । 

त्यसैगरी चौथो वास मटिहानी, पाँचौं वास मडई, छैठांै वास धु्रव कुण्ड, सातौ वास कञ्चन वन, आठौ वास पर्वता, नवौं वास धनुषाधाम, दशौ वास सतोखर, एघारौं वास औरही र बाह्रौ वास करुणालाई मानिएको छ । यी मध्ये करुणाचाहिं भारतीय भूमिमा पर्दछ । फेरि करुणा हुँदै कल्याणेश्वर महादेवको परिक्रमा गरी बिसौलमा मध्यान्हमा पुगी त्यही करिवरी सहित भगवान सीतारामलाई महाप्रसाद भोग लगाई रात्रीमा झाँकी समेत प्रर्दशन गरिन्छ । कतिपय परिक्रमावासी यात्रुहरु जनकपुर आउदछन् तर डोला भने त्यही बिसौल मै बास बस्दछ । 

यसरी परिक्रमावासीको तेह्रौं बास त्यहीं विसौलमा हुन्छ । मिथिला परिक्रमा चौधौं दिनको दिन प्रातकाल मै जनकपुरधाम आइपुग्छ । त्यस रात जनकपुरधामको रंगभूमिमा विश्राम गरी भोलिपल्ट अर्थात् पन्ध्रौ दिनको दिन जनकपुरधामको अन्तरगृही तीन कोशे परिक्रमा घुमिसकेपछि पंञ्चकोशी परिक्रमा सम्पन्न भएको मानिन्छ । अर्थात यसरी जनकपुरधामको १५ दिने परिक्रमा पूरा हुन्छ । परिक्रमाका समयमा जुन जुन ठाउँमा बास पर्छ, ती ती ठाउँहरुमा ठूलो मेला लाग्ने गर्दछ । राम जानकीको झाकी कथा प्रवचनसहित नाच गान समेत गरिन्छ । 

ब्रह्माण्डका अधिपति महालक्ष्मीकी अवतार सीताजीको स्मृतिमा गरिने १५ दिने परिक्रमा माथि उल्लेखित स्थानहरुमा मात्र सीमित छन् भन्ने कुरा त भएन । तथापि यी ठाउँमा सीता माताका बालककालका कुनै न कुनै लिला जोडिएका थिए भन्ने मान्यता छ । सीता माताको रक्षाका लागि जनकपुरधामको चार सुरमा देवाधि देव महादेवले आश्रम जमाएर बस्नु भएको भन्ने जनविश्वास 

छ । यस मान्यता अनुसार उत्तरमा क्षीरेश्वर महादेव (सखुवा महेन्द्रनगर), दक्षिणमा कल्याणेश्वर महादेव (कलना, भारत), पूर्वमा कपिलेश्वर महादेव (कपिलेश्वर) र पश्चिममा टुटेश्वरनाथ महादेव (महोत्तरी) का धाम छन् । कतिपय ग्रन्थमा कल्याणेश्वर महादेवको ठाउँमा जलेश्वरनाथ महादेव उल्लेख गरेको पाईन्छ । जनकपुरधाम अष्टावक्र, याज्ञवल्क्य, गार्गी जस्ता ऋषि र विदुषीहरुले शास्त्रार्थ गरेको ज्ञान सागर स्थान पनि भएकाले याज्ञवल्क्य आश्रम ज्ञानकुप प्रसिद्ध छ । जहाँ अहिले पनि संस्कृत भाषामा अध्ययन अध्यापन भइरहेको छ । 

यसरी स्वर्गका देवता धर्तीमा ओर्लने एक पवित्र स्थलका रुपमा अवस्थित जनकपुरधामको पर्यटकीय महत्व पनि धेरै छ । पञ्चायत कालमा जनकपुरधामप्रति राज्य सत्ताको ध्यान नपुगेको मात्र होइन कि प्रदुषित धारणा राखेर उपेक्षा समेत भएको थियो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र आइसके पछिका दिनमा राज्य सत्ताको केही ध्यान नपुगेको पनि होइन तर जति ध्यान पुग्नु पर्ने हो त्यो भने अझै पनि पुग्न सकेको छैन । जनकपुरधाममा भौतिक विकासको पूर्वाधारका रुपमा चक्रपथ निर्माण हुनु पर्दछ । जनकपुरधाम भित्रका जति पनि मठ मंदिर ताल तलैयाहरु छन्, तिनको राम्रोसँग सम्वद्र्धन, संरक्षण भएर एउटा सफा र स्वच्छ शहरको नमूनाका रुपमा विकसित हुनु अनिवार्य छ । जनकपुरधाम प्रदेश नं.२ को राजधानीका रुपमा मात्र पहिचान स्थापित नभएर समग्र राष्ट्रकै धरोहरका रुपमा विकसित हुनु आवश्यक छ । यस्तो हुन सकेमा आगामी १० वर्षमा जनकपुरधामको कायपलट हुने कुरामा कुनै शंका रहने छैन । 

भारतका प्रधानमंत्री नरेन्द्र दामोदरदास मोदीको जानकी माता दर्शनार्थ जनकपुर आगमनको अध्यायले पर्यटकीय दृष्टिले पनि जनकपुरधाम र जानकी मंदिरको महत्ता विश्वव्यापी भएको छ । नेपालका सम्पूर्ण पर्यटन व्यवसायी मिलेर १० वर्षमा पनि गर्न नसक्ने विज्ञापन नरेन्द्र मोदीको आगमनबाट हुन पुगेको छ । नरेन्द्र मोदीको जनकपुर आगमनले विश्वका करौडौ सनातन हिन्दू धर्माबलम्बीहरुलाई एकपटक जनकपुरधाम पुगौं पुगांै जस्तो बनाएको छ । 

अहिले भारतीय तीर्थयात्रीहरुको जनकपुरधाममा बेमौसममा पनि घुईंचो लागेको देखिन्छ । अयोध्या–जनकपुर सोझो बस यात्रा उदघाटनले अब भारतका तीर्थालुलाई जनकपुरधाम आउन सुगम भएको छ । 

योभन्दा पनि अझ महत्वपूर्ण रामायण सर्किटको प्रतिवद्धता हुन पुगेको छ । वास्तवमा रामायण सर्किटले भारतभन्दा पनि अगाडि श्रीलंकासम्मलाई छुन्छ । रामायण सर्किटको अवधारणा के हो भने जहाँ जहाँ सीतारामको पाइला परेको छ त्यो–त्यो ठाउँलाई जोडेर राजमार्ग निर्माण हुनु हो । लंका (आजको श्रीलंका) त रामायण कथाको आधार स्तम्भ नै हो । माता सीताले लक्ष्मण रेखा पार नगरेकी भए रामायणको कथा नै अगाडि बढने थिएन । लक्ष्मण रेखा पार गर्नाकै कारण रावणबाट अपहरित भएर राम–रावण युद्ध हुन गयो । जुन युद्ध अर्थात रावणको अन्त्य नै भगवान रामको अयोध्यामा जन्म लिनु र जनकपुरधाममा सीताको उत्पति हुनु मूल अभीष्ट थियो । त्यसो हँुदा श्रीलंका रामायण सर्किटको एउटा मूल स्टेशन हो । अन्य महत्वपूर्ण सर्किट स्टेशनहरुमा श्रीलंका अतिरिक्त अयोध्या, चित्रकुट, पंचवटी, रामेश्वरम आदि इत्यादि ठाउँहरु आउँछन् । 

रामायण दर्शनमा अर्थात राम चरित मानसमा चित्रकुटको ठुलो महत्व छ । त्यसो त भगवान रामको राजधानी अयोध्या कम महत्वको छैन । रामचरित मानसका रचयिता गोस्वामी श्री तुलसीदास महाराजले चित्रकुटमा भगवान राम र सीताको दर्शन पाउनु भएको थियो । तर उहाँले भगवानलाई चिन्न सक्नु भएन । श्री रामचरित मानसमा उहाँको संक्षिप्त जीवनीमा एक श्लोक उल्लेख छ — 

चित्रकुटके घाट पर भइ संतन की भीर । 
तुलसीदास चंदन घिंसे तिलक देत रघुवीर ।। 

यसरी यी सर्किटमा राजमार्ग निर्माण भएर जनकपुरधाममा जोडियो भने थाम्नै नसकिने तीर्थालु पर्यटक बढ्ने निश्चित प्रायः छ । यस्तो सम्भावनालाई भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणले झन चार चाँद  लगाइदिएको छ । हाम्रा पर्यटन व्यवसायीहरुले जनकपुरधाम आइपुगेका तीर्थालु पर्यटकलाई पशुपतिनाथ र मुक्तिनाथको महत्ता बुझाउन सके नेपाल पर्यटन उद्योगमा विश्वमै पहिलो स्थान ओगट्ने देश कहलिन सक्छ । यस प्रकार जगत जननी माता सीताको जन्मभूमि जनकपुरधाम, जहाँ स्पर्श मात्र हुनाले पनि सारा पाप पखालिएर बैकुण्ठ प्राप्त हुन्छ भन्ने जन विश्वास छ । नेपालको आर्थिक उन्नतिका लागि जनकपुरधामको कति धेरै ठूलो महत्व रहेछ भन्ने कुरा यसैबाट छर्लङ्ग हुन्छ । 

यहाँनेर मलाई जारी नयाँ संघीय गणतन्त्रात्मक संविधान प्रति एउटा कुरो भने भन्नैपर्ने भएको छ । विश्वमा आजका मितिमा पनि ९६ मुलुक आफ्नो राष्ट्रिय धर्म पालना गरिरहेका रहेछन् भने नेपाल एउटा हिन्दू राष्ट्र कहलिएर विश्वको ९७ औं राष्ट्रमा गणना हुदा कसलाई र किन आपत्ति भयो ? देश हितको कुरो गर्ने हो भने पर्यटन व्यवसाय फष्टाउन योगदान गर्ने विषयमा यति ठूलो मूल्य ? नेपाली जनताको कुरा गर्ने हो भने ९० प्रतिशतले हिन्दू राष्ट्र चाहन्छन् भन्ने तथ्यांकबाट नै प्रमाणित छ । यो प्रश्नको उत्तर आउने समयले अवश्य प्रष्ट पार्ने छ । 

(यो सामग्री वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी माधव आचार्यको संस्मरणात्मक पुस्तक ‘जीवनको गोरेटो’ को एक अंश हो) 
 

ताजा खबर