राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण भोलिबाट

२०७७ माघ २३ शुक्रबार १२:१२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण भोलि शनिबारबाट सुरु हुने भएको छ । नेपालले आगामी मार्चमा आइसीसी क्रिकेट विश्वकप  लिग टु अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानले चार नयाँ अनुहार सहित बन्द प्रशिक्षणमा ३२ जना खेलाडीलाई बोलाएको छ ।

नवनियुक्त प्रशिक्षक डेभ वाटमोर र छनोट समितिले गत शनिबार सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनलाई पनि आधार मानेर खेलाडी छनोट गरेको हो । यो पटक १५ वर्षीय अर्जुन कुमाल, अनुज चुनारा, विवेक यादव र खड्ग बहादुर बोहराले पहिलो पटकम राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । 

बागमती प्रदेशबाट प्रधानमन्त्री कप खेलेका अर्जुनले विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ३६ रन बनाएका थिए । तिव्रगतिका वलर अनुजले कर्णाली, खड्गले सुदूरपश्चिम प्रदेश र विवेकले प्रदेश दुइबाट प्रतियोगितामा सहभागिता जनाएका थिए । विवेक प्रधानमन्त्री कपमा इमर्जिङ प्लेयर घोषित भएका थिए । पृथु बाँस्कोटा, सौरभ खनाल, कृष्ण कार्की , हरिशंकर शाह र सुनिल धमलाले पुनरागमन गरेका छन् । चोटका कारण लामो समय राष्ट्रिय टिम बाहिर रहेका पृथुले उत्कृष्ट प्रदर्शन गर्दै प्रधानमन्त्री कपमा दुइ अर्धशतक प्रहार गरेका थिए । उनी उत्कृष्ट ब्याट्सम्यान बनेका थिए । 

अन्य खेलाडीमा रोहित पौडेल, विक्रम सोश, राजेश पुलामी मगर, शुसान भारी, साहव आलम, संदिप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, कुशल भूर्तेल, ललित राजबशंी, रामनरेश गिरी, पवन सरार्फ, शरद भेषवाकर, अभिनास बोहरा, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल छन् । 

पहिलो चरणको बन्द प्रशिक्षणमा शरद, अभिनास, करण, सोमपाल, कुशल मल्ल, पारस, ज्ञानेन्द्र, सन्दीप, विनोद, दिपेन्द्र र आरिफ बाहेकका खेलाडी सहभागी हुनेछन् । अरु बाँकी २१ जनालाई कम्तीमा दश दिन बन्द प्रशिक्षणमा राखिनेछ । पहिलो चरणबाट ११ अथवा १२ खेलाडी छनोट गरेर अन्तिम चरणको बन्द प्रशिक्षणमा राखिने छ । अन्तिम चरणको बन्द प्रशिक्षणबाट ओमान जाने टिम तयार गरिने क्यानले जानकारी दिएको छ ।  

 हाल करण ,सोमपाल , कुशल र पारस भने टि टेन लिगका लागि युएइमा छन् ।  बसन्त रेग्मी, भुवन कार्की, किशोर महतो र  रासिद खान भने एकदिवसीय सिरिजका लागि बोलाइएको बन्द प्रशिक्षणमा अटाएनन् । नेपालले ओमान, अमेरिका सम्मिलत सिरिज मार्च १९ देखि २८ सम्म ओमानमा खेल्नेछ । 

ताजा खबर