इङलिस प्रिमियर लिग: लिभरपुल मानसिक रुपले कमजोर  ?

२०७७ माघ २२ बिहीबार १०:३८:०० मा प्रकाशित

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टोली मानसिक र शारीरिक रुपमा फिट नभएको बताएका छन् । इङलिस प्रिमियर लिगमा गएराती ब्राइटनसँग एक शून्य गोलले पराजित भएपछि क्लोपको यस्तो प्रतिकृया आएको हो ।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा लगातार दोस्रो हार बेहोरेको हो । एनफिल्डमा ब्राइटनलाई जीत दिलाउन एकमात्र निर्णायक गोल ५६ औं मिनेटमा स्टिभन अल्जाटेले गरेका थिए । क्लोपले ब्राइटन विरुद्ध खेलाडी  मानसिक रुपमा थाकेको जस्तो देखिएको बताए। ब्राइटनले राम्रो खेलेको भएपनि आफूहरुले सजिलो बनाइदिएको उनको भनाइ थियो । क्लोपले हारको कारण के हो भनेर खोज्न आवश्यक रहेको बताएका छन् ।

एनफिल्डमा ६८ लिग खेलमा अपराजित रहेको लिभरपुलले पछिल्लो समय भने एकपछि अर्को हार बेहोरिरहेको छ । अघिल्लो साता मात्र घरेलु मैदानमानै बन्र्लीसँग एक शून्यले पराजित भएको   थियो । ब्राइटन भने लिगका पछिल्ला चार खेल यता अपराजित छ ।  उसले  १३ पटकको प्रयास मा लिभरपुललाई हराएको हो । यसअघि सन १९८४ मा एफ ए कपमा दुइ शून्य गोलको जीत हात पारेको थियो । हारपछि साविक विजेता लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले पछि परेको छ । र सिटीले लिभरपुल भन्दा एक खेल कम खेलेको छ । सिटीको २१ खेलबाट ४७ अंक छ ।

चौथो स्थानमा झरेको लिभरपुलको २२ खेलबाट ४० अंक छ । उपाधि दौडमा कायमै रहने हो भने लिभरपुलले आइतबार सिटीलाई पराजित गर्नुपर्नेछ । गएरातीनै भएको खेलमा सिटीले भने बन्र्लीलाई दुइ शून्य गोलले पराजित गर्यो । सिटीको जीतमा तेस्रो मिनेटमा गाब्रिएल जेसुस र ३८ औं मिनेटमा रहिम स्र्टलिङले गोल गरेका थिए । लेस्टर सिटी फुलह्यामलाई दुइ शून्य गोलले हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लियो । लेस्टरको २२ खेलबाट ४२ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४४ अंक छ ।  एभर्टनले लिड्सलाई दुइ एक र वेस्टह्यामले एस्टन भिल्लालाई तीन एक गोलले पराजित गर्यो । 

ताजा खबर