प्रधानमन्त्री कप रिभ्यूः कसैले खेल जिते कसैले मन  !

२०७७ माघ २२ बिहीबार १०:०९:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस महामारीले थलिएको विश्व खेलकुद विस्तारै तंग्रिने प्रयासमा  छ । पहिलकै स्थितिमा आउन अझै कति समय लाग्छ टुंगो छैन । आर्थिक रुपमा वलिया देशहरुले महामारीकै बीचपनि स्वास्थ्य सावधानी अपनाएर मैदानमा फर्कने प्रयास गरे । तर नेपालमा भने सन २०२० को मार्च यता  खेलकुद क्षेत्र पूर्ण रुपमा ठप्प नै रह्यो । एक वर्षसम्म खेलाडीले आफूलाई लकडाउनमै राखे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवै प्रतियोगिता स्थगित भएपछि उनीहरुसँग आराम गर्नुको विकल्प रहेन । तर अब विस्तारै नेपालको खेल क्षेत्र चलायमान हुँदैछ ।

यसबीचमा झन्डै एकवर्षपछि क्रिकेट पुन सुरु भएको छ । गत मंसिरमा दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मार्फत नेपाली क्रिकेटले पुनरागमन गरेको थियो । यसै साता घरेलु क्रिकेटको एकमात्र ५० ओभरको खेल प्रधानमन्त्री कप सम्पन्न भएको छ । कोरोनाकै कारण गत वर्ष प्रतियोगिता हुन सकेन । एकदिवसीय मान्यता प्राप्त नेपालका लागि  प्रधानमन्त्री कप महत्वपूर्ण छ । समग्रमा चौथो संस्करणको प्रधानमन्त्री कप कस्तो रह्यो त ?

 

आर्मीलाई पहिलो स्पष्ट उपाधि 

प्रतियोगिता सुरु नहुँदै त्रिभुवन आर्मी क्लबलाई तीन खेलाडीको अनुपस्थितिले झड्का लागेको थियो । तीव्र गतिका बलर करण केसी, सोमपाल कामी र ब्याट्सम्यान कुशल मल्ल टि टेन लिग खेल्न युएइ गएपछि आर्मीलाई टिम सन्तुलन कसरी गर्ने भन्नेमा समस्या भयो । कप्तान विनोद भण्डारी पनि कोरोना संक्रमणबाट भर्खरै मुक्त भएकाले खेल्ने नखेल्नेमा आशंका थियो । तर भण्डारीले प्रधानमन्त्री कपको उद्घाटन खेलमा नै गण्डकी प्रदेश विरुद्ध शतक प्रहार गरे । खेलपछि उनले टिमको समस्या, आफ्नो फिटनेश लगायतले आगामी खेल कस्तो हुन्छ भन्न नसकिने प्रतिृकया दिएका थिए । तर आर्मीका हरेक खेलाडीले ब्यक्तिगत रुपमा टिमको जीतमा योगदान गरे । समूह चरणमा एपीएफसँग हारेको आर्मीले फाइनलमा उपाधि जित्दै त्यसको वदला लियो । लोकेश बम, राजेश पुलामी मगर, विक्रम सोब, अनिल मण्डल, जितेन्द्र मुखिया, साहब आलम र विनोदको प्रदर्शन उच्च रह्यो । राष्ट्रिय टिमका खेलाडी रोहित पौडेलका लागि भने यो प्रतियोगिता त्यति सुखद रहेन । उनले कुनैपनि खेलमा अपेक्षा गरिए अनुसारको प्रदर्शन गर्न सकेनन् । आर्मी यसअघिका तीन संस्करणमा पनि फाइनल पुगेको थियो । पहिलो संस्करणमा पुलिससँग संयुक्त रुपमा उपाधि बाँडेको आर्मी यसपटक भने स्पष्ट च्याम्पियन बन्यो । एपीएफले दोस्रो संस्करणमा आर्मीलाई पराजित गरेर उपाधि जितेको थियो ।

यसपटक पनि एपीएफ एक समय उपाधि नजिक जस्तै थियो । तर खेल सकिँदा उपविजेतामा सीमित भयो । अभिनाश बोहरा, कमल सिंह ऐरी, आशिफ शेख, सन्दीप जोरा, किशोर महतोको प्रदर्शन तारिफ योग्य रह्यो । तर कप्तान शरद भेषवाकर भने चलेनन् । यसले उनको फर्मलाई लिएर प्रश्न उठेको छ । यसलाई भेषवाकरले पनि स्वीकारे । आफ्नो खराब प्रदर्शन बारे भेषवाकरले भने– ‘यसमा लुकाउनु पर्ने केही छैन, मैले राम्रो खेल्न सकिन । कमी कमजोरी औल्याउँदै अर्को प्रतियोगितामा सशक्त भएर आउने प्रयास गर्नेछु ।’ 

प्रदेश टिमको प्रदर्शन

 

यसपटक प्रदेश टिमको प्रदर्शनले नेपाली क्रिकेटमा नयाँ आशा जगाएको छ । प्राय प्रतियोगितामा विभागीय टिमकै वर्चश्व रहने गर्छ । प्रभानमन्त्री कपको उपाधि अहिलेसम्म एपीएफ, आर्मी र पुलिस वरिपरीनै घुमिरहेको छ । यद्यपि यो पटक एकाधलाई छोड्ने भने प्रदेशका टिमले सन्तोषजनक प्रदर्शन गरे । कर्णाली प्रदेशले सवैलाई आर्चश्यचकित पार्ने खेल प्रस्तुत गर्दा गण्डकी प्रदेशका युवा खेलाडीले सवैको मन जिते । 

बागमती प्रदेशले सेमीफाइनलसम्मको यात्रा तय गर्यो । बागमतीले पहिलो खेलमा नै साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमतीबाट पारस खड्काले पनि सुरुवाती दुइ खेल खेलेका थिए । क्यानले खेलाडीलाई म्याच फि दिएको थिएन । तर बागमती प्रदेशले भने आफ्ना खेलाडिलाई म्याच फि, अर्ध शतक, शतक बनाउँदा र तीन भन्दा माथि विकेट लिने खेलाडिलाई नगद पुरस्कार दिएर ब्यावसायिकताको सुरुवात गर्यो । जुन अरु प्रदेशले पनि सिक्न आवश्यक छ ।  

कर्णाली प्रदेशका लागि पनि यो पटकको प्रधानमन्त्री कप विषेश रह्यो । उसले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक राष्ट्रिय प्रतियोगितामा जीत हात पार्यो । उसले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको थियो । खेल्न योग्य एउटा पनि मैदान नभएको कर्णालीका खेलाडिले केन्द्रमा आएर क्षमतामा प्रश्न नगर्न चुनौती दिए । लुम्बिनी प्रदेशले पनि स्तरीय खेल देखायो । बागमती र लुम्बिनी प्रदेश बीचको खेल प्रतियोगिताकै रोमाञ्चक बन्यो । यो खेल बराबरी भएको थियो । सुदरपश्चिममा क्षमता भएका खेलाडी भएपनि टिम ब्यवस्थापनमा तालमेल देखिएन । कुनै समयको पावर हाउस प्रदेश एकलाई भने आफ्नो साख जोगाउनै मुस्किल पर्यो । एक खेल जितेपछि प्रतियोगितामा अंकविहिन हुनबाट भने जोगियो । प्रदेश दुइ एक खेल पनि नजित्ने एकमात्र टोली बन्यो ।  तर सवै प्रदेशबाट लाग्दा खेलाडिको आगमन भएको छ । 

युवा खेलाडीको आगमन

 

यो पटकको प्रतियोगतामा युवा खेलाडिले राष्ट्रिय टिममा रहेका खेलाडिलाई चुनौती दिने खेल प्रदर्शन गरे । लुम्बिनी प्रदेशका देव खनालको ब्याटिङ प्रतियोगिताकै उत्कृष्ट मध्येको एक रह्यो । उनले प्रहार गरेका सटमा स्तरीयता झल्किन्थ्यो । २० वर्षपनि नपुगेका देवले राष्ट्रिय टिमको बन्द प्रशिक्षणसम्म आउने वलियो संभावना देखाएका छन् ।  तीन खेलमा उनले ८४ रन प्रहार   गरे । 

गण्डकीले आफ्नो टिममा सात जना २१ वर्ष  भन्दा कम उमेरका खेलाडिलाई समावेश गरेको थियो । उसको उदेश्य युवा टिमलाई तिर्खादै आगामी दुइ वर्षसम्ममा उपाधिमा दावेदारी प्रस्तुत गर्नु   हो । १५ वर्षीय अर्जुन कुमाल प्रतियोगिताभरी नै केन्द्रमा रहे । अगाडि जति ठूलो नामको बलर भए पनि ब्याटिङ गर्दा उनमा देखिएको आत्मविश्वास गज्जबको थियो । चार खेलमा एक सय १७ रन जोडेका अर्जुनको उच्च स्कोर ४६ रह्यो । जसमा आर्मी विरुद्धको ३६ रनपनि समावेश छ । भारतको दिल्लीमा रहेर क्रिकेट सिक्ने अर्जुनले आफ्ना गुरु राहुल शर्मासँगै गण्डकी प्रदेशको प्रतनिधित्व गरेका थिए ।

प्रदेश एकबाट दिपेश कँडेल र हेमन्त राई, प्रदेश दुइबाट विवेक यादव, बागमतीबाट विपिन आचार्य, तिलक भण्डारी, गौतम केसी, कर्णाली प्रदेशबाट अनुज चुनारा, हेमन्त ओली, विपिन रावल, रविन्द्रजंग शाही, गण्डकीबाट विशाल पौडेल, अर्जुन कुमाल ,समीर कँडेल, सुदुरपश्चिमबाट नारायण जोशी, अर्जुन साउद र लुम्बिनीबाट देव खनाल, सन्दीप रजाली लगायतका युवा खेलाडिले तारिफयोग्य खेल प्रदर्शन गरे । अबको चुनौती भनेको यी खेलाडिको संरक्षण हो । विगतमा धेरै संभावना बोकेका खेलाडी सिनियर स्तरमा नपुग्दै बीचैमा हराएका उदाहरण प्रशस्त छन् । क्यानले ए, बी जस्ता टिमहरु बनाएर यी खेलाडिलाई ग्रुम गर्न आवश्यक छ ।  

 

सिनियर खेलाडिको प्रदर्शन

 

चोट लागेपछि लामो समयदेखि राष्ट्रिय टिम बाहिर रहेका पृथु बाँस्कोटाले प्रधानमन्त्री कप मार्फत उत्कृष्ट पुनरागमन गरे । त्रिुभवन विश्वविद्यालयबाट छनोट खेल खेल्दा पृथु बागमती प्रदेश टिममै हुने नहुनेमा धेरैले शंका ब्यक्त गरेका थिए । पृथु दुइ अर्धशतक सहित पाँच खेलमा दुइ सय १५ रन बनाएर उच्च रनकर्ताको पहिलो स्थानमा रहे । उनी प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । लुम्बिनीका सौरभ खनाल र कृष्ण कार्की, आर्मीका विनोद भण्डारीले पनि प्राय सवै खेलनमा रन बनाए । प्रतियोगितामा बनेका दुइ शतकमध्ये एक विनोदले नै प्रहार गरेका थिए । अर्को नेपाल पुलिसका  सुनिल धमलाको नाममा रह्यो । ज्ञानेन्द्र मल्लले ठिकै खेले । राष्ट्रिय टिमबाट खेलिसकेका पवन सरार्फले १३ वलमा अर्धशतक बनाएर घरेलु क्रिकेटमा कीर्तिमान बनाए । 

 पुरस्कार राशी 

नेपाल क्रिकेट संघ (क्यान) ले सेमीफाइनल अघि मात्र पुरस्कार राशी घोषणा गरेको थियो । त्यो पनि अघिल्ला संस्करण भन्दा आधा । यसपटकको विजेता आर्मीले दश र उपविजेता एपीएफले ५ लाख नगद पुरस्कार पाए । यसअघि पुरस्कार राशी दोब्बर थियो । क्यानले पहिलोपटक प्रधानमन्त्री कपको आयोजना गरेको हो । यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले क्यानलाई निलम्बन गरेको समयमा राष्ट्रिय खेलकुद परिषद्ले सुरुवात गरेको थियो । क्यानले यसपटक मुख्य प्रयोजक पनि जुटाउन सकेन । बजेट अभावका कारण पुरस्कार कम भएको क्यानको भनाइ छ । अझैपनि आइसीसीले क्यानलाई विश्वास गर्न सकेको छैन । 

त्यसैले आइसीसीबाट आउने रकम क्यानको खातामा नआएको र परिषद्ले दिने ४० लाख बजेटले नपुग्ने उसको भनाइ छ । नेपालमा क्रिकेट क्रेज धेरै छ । निजी क्षेत्रले गर्ने प्रतयोगितामा ब्यापारिक प्रतिष्ठानले खुलेरै प्रयोजक गरिरहेका छन् । तर क्यान आफ्नै प्रतियोगितामा भने निजी क्षेत्रको लगानी भित्र्याउन असफल भयो । यसले क्यानको नेतृत्वमाथि प्रश्न उठाउन सक्ने ठाउँ दिएको छ । 

मैदानको स्तर  

प्रधानमन्त्री कपमा टिमहरुले दुइ मैदानको अनुभव गरे । एउटा स्तरीय अर्को ठीकठीकै । अर्थात् खेल टियु मैदान र मुलपानी मैदानमा भएको थियो । टियु नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको मैदानका रुपमा मानिन्छ । तर मुलपानी टियुको स्तरको छैन । छिटो प्रतियोगिता सकेर बजेट बचाउन क्यानले फरक फरक स्तरको मैदानमा खेल खेलायो । मैदानको स्तरले खेलाडिको प्रदर्शनमा पनि प्रभाव पार्छ । मुलपानीमा तीव्र गतिका वलर र ब्याट्सम्यानले निकै संघर्ष गरेका थिए । मुलपानीलाई प्रतियोगिता गर्नै नमिल्ने मैदान भन्न त मिल्दैन । तर टियुसँग तुलना गर्दा भने कम स्तरको नै छ । प्रधानमन्त्री कप राष्ट्रिय टिमसम्म पुग्ने आधार हो । हरेक खेल खेलाडिको करियरसँग जोडिएको हुन्छ । त्यसैले मैदानको स्तर समान हुन पनि आवश्यक छ । आउँदा दिनमा क्यानले यस विषयमा पनि ध्यान पुर्याओस् धेरै खेलाडिको भनाई छ । 

प्रतियोगिताको फरम्याट 

प्रतिस्पर्धामा दश टिमले सहभागिता जनाउँछन् । तर उनीहरुलाई दुइ समूहमा विभाजन गरिने हँुदा एक टिमले चार खेल मात्र खेल्न पाउँछन् । एउटामा राम्रो नखेले अर्को खेलमा प्लेइङ इलाभेनमा नपर्ने संभावना उच्च हुन्छ । त्यसैले प्रधानमन्त्री कपको फरम्याट लिग हुनुपर्ने खेलाडिको माग छ । सवैले सवै टिमसँग खेल्ने मौका पाए हरेक खेलाडिले क्षमता देखाउन सक्छन् । एउटै खेलबाट कुनैपनि खेलाडिको प्रदर्शनको मूल्याङ्कन गर्न सकिन्छ । एकदिवसीय मान्यता प्राप्त नेपालका लागि लामो समयसम्म चल्ने लामो ओभरको खेल  जरुरी हो । यस विषयमा क्यानले अर्को संस्करणबाट लिगमा जाने विषयमा छलफल भइरहेको बताएको छ । तर के उसको योजना कार्यान्वयन होला त ? 

डेभ वाटमोरको टिम 

नेपाली क्रिकेटको नयाँ प्रशिक्षकमा अस्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन् । उनी प्रधानमन्त्री कप सुरु भएको केहीदिनमा नेपाल आएका थिए । उनले प्राय: सवै खेल मैदानमा गएर हेरे । अहिले सवैलाई अब वाटमोरले बन्द प्रशिक्षणमा कुन कुन खेलाडिलाई बोलाउँछन्  त भन्नेमा निकै चासो रहेको देखिन्छ ।  
 

ताजा खबर