बिराटनगरसँग पुलिस पराजित

२०७७ माघ २१ बुधबार २१:०३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय महिला लिगमा  विराटनगर महानगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबलाई एक शून्य गोलले स्तब्ध पारेको छ । जारी लिगमा पहिलो पटक विभागीय टोलीले नगरपालिकाको टिमसँग हार हो  ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबारको खेलमा वलियो पुलिस विरुद्ध विराटनगरले नवौं मिनेटमा गोल गरेको थियो । उसका लागि पार्वती घलेले गोल गरेकी थिइन् । सोही गोल पुलिसलाई हराउन पर्याप्त बन्यो । वल पोसेसनमा अघि रहेपनि पुलिसले विराटनगरको रक्षापंक्ति तोड्न सकेन ।

 पुलिसकी रेखा पौडेल, निरु थापा लगायतले अवसरको सदुपयोग गर्न सकेनन् । विभागीय टिमले नगरपालिका माथि गोलको वर्षा गरिरहेका वेला विराटनगरको जीतले लिगमा थोरै भएपनि रोमान्चकता थपेको छ ।

खेलपछि विराटनगरका प्रशिक्षक पारस चौधरीले टिमले लिएको रणनीति खेलाडिले कार्यान्वयन गरेको प्रतिकृया दिए । पुलिसका प्रशिक्षक संजीव जोशीले भने आफ्नो टिमले स्तर अनुसारको खेल खेल्न नसकेको उल्ल्ेख गरे । जीतपछि विराटनगर ६ खेलबाट दश अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो हार बेहोरेको पुलिस आठ अंक सहित चौथो स्थानमा छ ।

 लिगमा पहिलो चरणका खेल सकिएका छन् । अर्को चरणको लिग आगमी शनिबारबाट सुरु हुनेछ ।  

 

ताजा खबर