कामपाले क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने

२०७७ माघ २१ बुधबार ०९:४९:०० मा प्रकाशित

काठमाडौँ । नेपाल क्रिकेट संघलाई काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि रू ५० लाख सहयोग गर्ने भएको छ । मङ्गलबार सहमतिपत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षरसमेत गरेका छन् । 

कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही रू १० लाख, बी डिभिजनलाई जनही रू ६ लाख र सी डिभिजनलाई रू चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यसप्रकार लगानी गरिएको कामपाको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर सङ्घलाई सहयोग गरेको बताए । 

नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नतिजा ल्याउन महानगरको सहयोगले ठूलो काम गर्ने समारोहमा सङ्घका अध्यक्ष चन्दले बताए । उनले भने, “यस वर्ष महानगरले लगानीलाई अर्काे वर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौँ ।”

कामपा सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार सङ्घलाई सम्झौताबमोजिम दुई चरणमा अनुदान रकम प्रदान गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि सङ्घले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ । उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ ।
 

ताजा खबर