अग्रजको सम्मानमा लुम्बिनी क्षेत्रका तलाउको नामाकरण

२०७७ माघ २१ बुधबार ०९:२१:०० मा प्रकाशित

कपिलवस्तु । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । विश्व सिमसार दिवसका अवसरमा अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए ।

पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए । उनका अनुसार प्रकृतिविद् स्व डा हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ ।

डा घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक छन् भने हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बुद्ध दर्शनसँग सम्बन्ध राख्ने सारसको संरक्षण र सिमसारको संवद्र्धनका लागि विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए । विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक डा घनश्याम गुरुङले सिमसार र प्रकृति संरक्षणका लागि अग्रजहरुको सम्मानमा सिमसारको नामाकरण गरिनु महत्वपूर्ण रहेको बताए ।
 

ताजा खबर