मेयर कप क्रिकेट आयोजना गर्न क्यान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता

२०७७ माघ २० मंगलबार २०:५७:०० मा प्रकाशित

काठमाडौं । मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौँ महानगरपालिका बीच मंगलबार सम्झौता भएको छ ।

मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौँ महानगरपालिकाले क्यानलाई रु ५० लाख सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार क्यानले उक्त प्रतियोगिता आगामी चैत मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ । मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कति टोलीलाई सहभागी गराउने भन्ने विषयमा क्यानले छलफलपछि टुङ्गो लगाउने छ । 

महानगरपालिकाले पहिलो चरणमा ६० प्रतिशत तथा दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउने छ । सम्झौतापछि क्यान अध्यक्ष चन्दले काठमाडौँ महानगरपालिकासितको सम्झौतापछि प्रतियोगिता गराउन आफू उत्साहित भएको बताए। नेपालको क्रिकेटमा काठमाडौँ महानगरपालिकाले ठूलो गुन लगाएको उल्लेख गर्दै उहाँले देशभरका अन्य स्थानीय तहलाई पनि नेपालको क्रिकेटको विकासका लागि सहयोग गर्न आग्रह गरे। 

महानगरका प्रमुख शाक्यले विगतमा नेपालको फुटबलको विकासका लागि विभिन्न क्लबलाई सहयोग गरेको उल्लेख गर्दै नेपालको क्रिकेटलाई अघि बढाउन क्यानसँग सहकार्य गरेको बताए। 

ताजा खबर