जानैपर्ने लोभलाग्दो हरियाली हाइकिङ  

२०७७ माघ २० मंगलबार २०:४९:०० मा प्रकाशित

इलाम । गाडीमा सवार गर्दागर्दा दिक्क हुनुभएको छ ? घरमा बस्दाबस्दा हैरान हुनुभएको छ ? कि कतै सामूहिक हिँडडुल गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए आउनुहोस् इलाम । 

पर्यटकीय जिल्ला, त्यसमा पनि कुलकुल मौसम । रमाउँदै हिँड्नका लागि हाइकिङ शुरु हुन लागेको छ । बच्चालाई मनारेञ्जन, युवालाई अवलोकन र वृद्धवृद्धालाई ‘रिफ्रेसमेन्ट’का लागि उपयुक्त हाइकिङ अब इलाम बजार आसपास नै उपलव्ध छ । यति मात्र कहाँ हो र ! हरियो चियाबारी, पुराना विषय राखिएको संग्रहालय, पर्यटकीय फट्को मार्दै गरेको भालु ढुङ्गा, अनि धार्मिक क्षेत्र सेती देवीको भ्रमण गर्न पनि सकिन्छ ।

 खासमा एकैदिनमा पुगेर फर्किन सकिने पैदल यात्रालाई ‘हाइकिङ’ भनिन्छ । राजधानी पश्चिममा चर्चामा रहेपनि पूर्वी पहाडी जिल्लामा यो नौलो विषय हो । यदाकदा केही ठाउँ बाहेक पूर्वी पहाडी जिल्लाको पहिलो हाइकिङ हो, इलाम हाइकिङ । जिल्ला बाहिर मात्र नभई स्थानीयस्तरका पर्यटकलाई पर्यटकीय क्षेत्र बुझाउन हाइकिङ शुरु गरिएको हो । पर्यटन प्रवद्र्धनका विभिन्न माध्यम भएपनि स्थानीयस्तरमा भ्रमण गर्ने क्रम घटेकाले नयाँ काम थालिएको स्थानीय पर्यटनकर्मी प्रशान्त गिरी बताउँछन् ।

भ्रमणका लागि इलाम सदरमुकाममा नौ पर्यटकीय क्षेत्र (नाईन भ्यू पोइन्ट) रोजिएको छ । हाइकिङ इलामको चियाबारीबाट शुरु गरिन्छ । चियाबारीबाट ओडारे खोल्सी हुँदै सेतीदेवी मन्दिर    पुगिन्छ ।

मन्दिरबाट भू–संरक्षणले बनाएको बाटो हुँदै बालन गाउँ पुगिन्छ । बालन गाउँ  होमस्टेको क्षेत्रमा चर्चामा आएको ठाउँ हो । बालनगाउँबाट ओपी धाराको बाटो हुँदै चियाबारीको सिँढी पुगिन्छ । तत्पश्चात इलाम नगरपालिकाले निर्माण गरेको प्रशिद्ध अरनिको संग्रहालय भ्रमण गर्दै मालपोत कार्यालयको बाटो हुँदै इलाम बजारको माइस्थान मन्दिर पुगिन्छ ।

 भ्रमण छोटो भएपनि उल्लेखनीय क्षेत्रको दृश्यावलोकन गर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन व्यवसायी क्वीन इलामका अध्यक्ष गिरीका अनुसार यो भ्रमण क्षेत्र १३ किलोमिटरको छ । करिब सरदर ६ देखि ८ घण्टामा भ्रमण टुंग्याइन्छ । हाइकिङको प्रमुख उद्देश्य पर्यटकलाई इलामको इतिहास बोकेको चियाबारी चिनाउनु हो । जिल्लाका विभिन्न क्षेत्रका चियाबारीले विस्थापन गर्दा इलाम सदरमुकामको चियाबारी ओझेलमा परेको छ । देशकै पहिलो उद्योग रहेको यो क्षेत्रमा नेपालमै पहिलो पटक चिया रोपण गरिएको थियो ।

विक्रम संवत् १९२० मा इलामका तत्कालीन वडाहाकिम गजराजसिंह थापाले चिया रोपण गरेका थिए । हाइकिङमार्फत चियाको प्रोत्साहन गर्न खोजिएको गिरीको भनाइ छ । हाइकिङका क्रममा इलाम चियाबारी चार तरिकाले देखिन्छ । जुन पर्यटकका लागि आकर्षक र भ्रमणयोग्य रहने छ ।

भ्रमणमा बालन गाउँमा स्थानीय परिकारको स्वाद लिन सकिने छ । गिरीका अनुसार धेरै पंक्षीको बसोबास रहेको लोवर माइभ्याली वाइल्ड लाइफ जोनसम्म पुगिने छ । यस क्षेत्रमा ८५ किसिमका चराको बसोबास रहेको बताइन्छ । 

यस क्षेत्रमा दुर्लभ सालक र दुर्लभ प्रजातिको सर्प पाइने गरेको बताइन्छ । ‘स्थानीयले यो क्षेत्रको बारेमा अझै बुझ्न आवश्यक    छ ।’ गिरीले भने, ‘विभिन्न क्षेत्रबाट चराको अवलोकनका लागि आइन्छ । तर, हामीलाई थाहा नहुनु आश्चर्यजनक छ ।’ यस्तै, इलाम सदरमुकामभित्रै पर्ने माइस्थान मन्दिर पनि इलामको इतिहास बोकेको धार्मिक स्थल हो । इलामको खलङ्गा भनेर चिनिने यस क्षेत्रमा नेपाल एकीकरणसँग सम्बन्धित निशान समेत अवलोकन गर्न पाइन्छ ।

क्वीन इलामले तीन बर्ष काम गर्ने र तत्पश्चात् इलाम नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । हाइकिङका लागि स्थानीय ‘गाइड’ समेत परिचालित गरिने छ । जसले गर्दा पर्यटकलाई भ्रमण क्षेत्रको जानकारी लिन सहज हुने छ । एक पटकको हाइकिङमा २५ जना पर्यटक समेटिने व्यवस्था छ ।

हाइकिङपछि पर्यटन पढ्नेलाई सहज

 हाइकिङसँगै यस क्षेत्रको पर्यटनलाई ‘प्याकेज’का रूपमा विकास गर्न सकिने युवाहरूको युवाको योजना छ । अहिले जिल्लामा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेपनि प्याकेजको रूपमा विकास भएको छैन ।

 

सरकारी तथा निजी पर्यटकीय क्षेत्रले पनि निश्चित पर्यटकीय क्षेत्र नतोकिदिँदा पर्यटकलाई समस्या पर्ने गरेको छ । कुनै एक पर्यटकीय क्षेत्र जाने÷आउने गरेतापनि यात्रुकै रूपमा रकम खर्चनु पर्ने बाध्यता छ । यो पछाडि प्याकेज समेत निर्माण हुने गिरीको भनाइ छ । यसका साथै जिल्लामा पर्यटन (ट्राभेल एण्ड टुरिजम) अध्ययन गर्ने विद्यार्थीलाई सहज हुने गरेको छ । व्यवस्थापन संकायमा पर्ने यो विषयमा हालसम्म प्रयोगात्मक कक्षा गराउन सकिएको थिएन । अब भने हाइकिङमै विद्यार्थीले प्रयोगात्मक कक्षा गर्न सक्ने छन् । यता, पर्यटनकर्मीको पनि तीन बर्षमा तीन सय विद्यार्थी यस क्षेत्रमा घुमाउने योजना छ । आउँदा दिनमा यो विषयमा पनि आकर्षण बढ्ने देखिएको छ ।

कति लाग्छ त खर्च ?

पर्यटकीय क्षेत्रको चिनारीका साथै अवलोकनका लागि हाइकिङ शुरु गर्न लागिएको हो । सीमित क्षेत्र निर्धारण गरिएकाले खासै धेरै खर्च निस्कदैन । त्यसमा पनि सदरमुकाम आसपासका क्षेत्र भएकाले सकसपूर्ण यात्रा गर्नुपर्दैन ।

हाइकिङलाई ‘ट्रकिङ’मा जस्तो धेरै सामग्री वोक्नु पनि पर्दैन । लामो समय यात्रा गर्नका लागि ट्रकिङमा धेरै सामग्री चाहिन्छ । तर, हाइकिङमा सामान्य लगाउने सामग्री बाहेक पानीको मात्र आवश्यकता पर्छ । यसका लागि धेरै खर्च लाग्दैन । हाइकिङको शुल्क समेत अहिले तोकिएको छैन । हाइकिङमार्फत  पर्यटकीय वातावरण निर्माण र पर्यटकीय शिक्षा बढाउन खोजिएको हो ।
 
अन्य क्षेत्र सम्भव छ हाइकिङ ?

जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा हाइकिङ चलाउन सकिने पर्यटन व्यवसायीको भनाइ छ । एकभन्दा बढी पर्यटकीय क्षेत्रबीच छोटो भ्रमण गराउन हाइकिङ प्रयोग गरिन्छ । यसका लागि सहज तवरले हिँड्न सकिने सडक र अवलोकन उपयुक्त क्षेत्र हुनुपर्छ । अब शुभारम्भ हुन लागेको हाइकिङ पर्यटकीय क्षेत्र मात्र नभई दूरीका हिसाबले पनि उपयुक्त मानिन्छ । जहाँ समुद्री सतहदेखि ९ सय २६ मि (ओडारे खोल्सा) बाट भालुढुंगा ( एक हजार तीन सय ४५ मि) दूरीमा पर्दछ ।
 

ताजा खबर