नेपाली राष्ट्रिय महिला भलिवल टिमलाई एशियन च्याम्पियनसीप खेल्ने मौका मिल्यो

२०७७ माघ २० मंगलबार ११:४४:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिवल टिमले एशियन च्याम्पियनसीप खेल्ने भएको छ । एशियन च्याम्पियनसीपमा महिला टिमले सहभागिता जनाउन लागेको यो पहिलो अवसर   हो । 

नेपाल भलिवल संघका महासचिव जितेन्द्र चन्दले नेपालको सहभागिता पक्का भएको जानकारी दिएका हुन् । एशियन भलिवल महासंघको गएराती बसेको बैठले नेपाललाई सहभागि गराउने निर्णय गरेको थियो ।

 च्याम्पियनसीपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र चीन र वरियताको शीर्ष दशमा रहने देशले सिधै प्रवेश पाए । अरु बाँकी रहेका पाँचवटा कोटा भलिवल महासंघले इस्र्टन, वेस्र्टन, सेन्ट्रल, ओसियाना र साउथ इस्र्टनजोनका लागि छुट्याएको थियो । सेन्ट्रल जोनमा रहेको नेपाल  र श्रीलङकाले दावी गरेका थिए । तर वेस्र्टन र इस्र्टन जोनमा रहेका देशले दावी नगरेपछि नेपाल र श्रीलङका दुवैले च्याम्पियनसीप खेल्ने अवसर पाएका हुन् ।

पछिल्लो समय महिला टिमले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत वर्ष घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुदमा महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो । सेन्ट्रल जोनमा स्वर्ण जितेको थियो ।

एशियन च्याम्पियनसीप खेल्न पाउने भएपछि खेलाडीले खुशी ब्यक्त गरेका छन् । यसले एक्सपोजरको मौका दिएको उनीहरुको भनाइ छ । पुरुष टिमले यसअघि सन १९८३ मा एशियन च्याम्पियनसीप खेलेको थियो ।

प्रतियोगितामा लाग्ने सवै खर्च संघ आफैंले बेहोर्नुपर्छ । संघले करिब ७० लाख खर्च अनुमान गरेको छ । भलिवल संघसँग रकम अभाव भएकाले सरकारसँग सहयोगको आग्रह गरेको छ । एशियन च्याम्पियनसीप अगस्ट २९ देखि सेप्टेम्बर पाँचसम्म हुनेछन ।  

 

ताजा खबर