मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

२०७७ माघ २० मंगलबार ०८:३९:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा निर्माणको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइनसक्दा पुनः परीक्षण गर्न नसकिएको हो । 

आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । 

गत असारमा आयोजनास्थलमा एक जनाको ज्यान जाने गरि र अर्काे बेपत्ता हुने गरि भएको दुर्घटनापछि आयोजनाले विभिन्न सुधारको काम गरेको थियो । सुधारपछि अझै कुनै समस्या छ÷छैन भनि बुझ्नसमेत अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए । उनले भन्छन्– “समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।”

इटालियन कम्पनीले छिट्टै अन्तिम प्रतिवेदन बुझाउने भनेकाले लामो समय नलाग्ने सूचना अधिकारी पन्तले बताए । कम्पनीले यसअघि दिएको प्रतिवेदनमा साना–तिना सुधार गर्नुपर्ने भए पनि ठूलो समस्या नभएको जनाएको थियो । साना किसिमका समस्या देखिएमा त्यसलाई सुधारेर पुनःपरीक्षणमा जान समय नलाग्ने उनको भनाइ छ । उनले भने, “अरु सबै किसिमको तयारी भइसकेकाले यही महिनामा नै परीक्षण गर्न सकिनेछ ।”

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरेको थियो । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गरेको हो । 

सुरुङमा पानी परीक्षणका लागि पठाउनु पहिले चार द्वारमा सुधार गरिएको आयोजनाले जनाएको छ । द्वारको फ्रेम, सुरुङको भित्तामा अड्याउने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो । फ्रेमलाई कङ्क्रिट राखेर केही दिनसम्म हेरिएको सूचना अधिकारी पन्तले बताए । सुरुङ परीक्षणका लागि पानी भरिएपछि केही दिनसम्म त्यो पानीलाई भित्र नै थुनेर राखिन्छ । सबै पानी बाहिर निकालेपछि मात्रै त्यसमा समस्या भए÷नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ । सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायीरूपमा पानी पठाइन्छ । उनले भने, “दुई महिना यो प्रक्रियाका लागि लाग्छ ।”

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुनेछ । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने मन्त्रालयले जनाएको छ ।
 

ताजा खबर