कक्षा १२ को परीक्षा फल प्रकाशित

२०७७ माघ १९ सोमबार १४:०२:०० मा प्रकाशित

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए अनुसार सोमबार बिहान राष्ट्रिय परीक्षा बोर्डको छलफलपछि नतिजा प्रकाशित गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेभसाइटमा परीक्षाफल हेर्न सकिने बोर्डले जनाएको छ ।

वैशाख-जेठमा हुने बताइएको कक्षा १२ को परीक्षा यसपटक कोरोना महामारीको कारण मंसिरमा सञ्चालन भएको थियो । परीक्षा संञ्चालन मंसिर ९ देखि १६ गतेसम्म भएको थियो ।

उत्तर पुस्तिका भने यसपटक विद्यालयमै शिक्षकले उपलव्ध गराएका थिए । विद्यार्थीको प्राप्तांक बोर्डका प्रदेश कार्यालयहरुबाटै नतिजा प्रकाशनको सिस्टम इन्ट्री व्यवस्था मिलाइएको थियो ।

यसअघि उत्तरपुस्तिका प्रदेश कार्यालयमा परीक्षण गरेर बोर्डको केन्द्रीय कार्यालयमा मात्रै इन्ट्री गरिन्थ्यो । कार्यविधिले ४० प्रतिशत पूर्णांकको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णांकको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णांकको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको थियो ।

प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको बोर्डले जनाएको छ । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसअघि १ हजार १ सय परीक्षा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुन्थ्यो ।

कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ । कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन् । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा निकालिँदै आएको छ ।
 

ताजा खबर