‘लाइन’ मा पहिलो को त ?

२०७४ मङ्सिर १ शुक्रबार २२:०८:०० मा प्रकाशित


काठमाडौं, १ मंसीर । राजधानीका नाटक घरहरुमा नाटक देखाउनु पुर्व एउटा नियम सुनाउने गरिन्छ, ‘कृपया आफनो मोबाइल स्विच अफ अथवा साइलेन्ट मोडमा राख्नुहोला’, ‘खानेकुरा नखाइदिनुहोला’, ‘पानी पिउन सक्नुहुन्छ तर आवाज ननिकाली’, ‘एकआपसमा कुराकानी नगर्नुहोला’ र नाटक मन परे सबै नातागोता साथीभाइलाई भनिदिनुहोला, मन नपरे हामीलाई भन्नुहोला’ । तर यसपटक शिल्पीमा मञ्चन भइरहेको नाटक ‘लाइन’ ले अलि बेग्लै चर्चा पायो, त्यो हो नाटक १६ वर्षभन्दा माथिका उमेरका समुहले मात्रै हेर्न पाउने ।

‘लाइन’ एउटा मानवीय प्रवृत्तिमाथिको कटाक्षले बनेको नाटक हो । अमेरिकी नाटककार इज्रेइल होरोभित्जले लेखेको ‘लाइन’ नाटकमा यस्ता संवाद र दृश्य छन् जसले साना उमेरका दर्शकलाई नाटक हेर्नबाट वञ्चित गर्छ । एडल्ट कन्टेन्ट सहितको यो नाटक झन्डै ४० वर्षअघि अमेरिकामा थुप्रै पटक मञ्चन भइसकेको छ । आकांक्षा कार्की निर्देशित नाटक विश्वका ३५ भाषामा अनुवादित भइसकेको छ ।

नाटकमा लाइन लागेर उभिएका पाँच जनाको समुह माध्यमबाट मानिसको व्यक्तिवादी मनोवृतिलाई  उठाउन खोजिएको छ । उनीहरू केका लागि लाइनमा उभिएका हुन भन्ने कुरा सुरुमा सस्पेन्स नै हुन्छ । डेढ घण्टा लामो नाटकको विषयवस्तु खासै नयाँ छैन । कुनै स्टेजको भव्य सजावट पनि देखिदैन । मात्रै पाँच जना कलाकार लाइनमा बसेका हुन्छन् र सबै को पहिला हुने भन्ने होडबाजीमा बसेका हुन्छन् । नाटकको कथा यिनै कुराहरुमा केन्द्रीत छ । पाँच जनाको भीडमा एक महिला पात्र हुन्छिन् जसले नाटकमा मसला थप्नुका साथै शक्ति के हो भन्ने पाठ सिकाएकी छन् । रविना पात्रको भूमिकामा देखिएकी लुनिभा तुलाधरको रोचक अभिनयले दर्शक रमाउँछन् । अन्य चार पुरुष कलाकारको अभिनयलाई नराम्रो भन्न मिल्दैन । पात्रअनुसार उनीहरुको अभिनय पनि तारिफयोग्य नै छ ।

नाटकमा राजकुमार पुडासैनी, सुदाम सिके, लुनिभा तुलाधर, सरोज अर्याल तथा सन्देश शाक्यको अभिनय छ । नाटक अवधिभर दर्शकको समय हाँसेरै नै बित्छ । दर्शकलाई कलाकारहरुको अभिनयले डेढ घण्टा मज्जाले बाधेर राख्छ ।

नाटकमा खासै तामझाम छैन । लाइट प्रयोग सामान्य छ । गीतसंगीतले नाटकमा थप रोचकता थपेको छ । विश्व काफ्ले र सुशान्त चालिसेको सांगीतिक जुगलबन्दी तारिफयोग्य नै छ । नेहा क्रिस्टोफरको कोरियोग्राफीले नाटकलाई मनमोहक बनाइदिएको छ ।

आकांक्षा कार्कीको निर्देशन प्रशंसायोग्य  छ । कलाकारलाई फरक व्यक्तित्वमा प्रस्तुत गर्न उनी सफल देखिएकी छिन् । विदेशी कथालाई नेपाली मञ्चका लागि छनोट गरेर निर्देशकले ठुलो जोखिम उठाएकी हुन तर संयम तरिकाले नाटकलाई भारी नबनाईकन पात्रहरूलाई नेपाली समाजमा उतार्न सक्नुनै उनको सफलता हो । नाटकको कथा सामान्य भएपनि हेर्दा वास्तविक लाग्ने निर्देशक कार्कीले बताइन  । उनले भनिन् , नाटकमा सबै पात्रको पृष्ठभूमि नदेखाइए पनि दर्शकले उनीहरूको पृष्ठभूमि अभिनयबाटै थाहा पाउनेछन् । नाटकमा प्रयोग भएका केही संवाद र दृश्यका कारण यो नाटकलाई बालबालिकाले हेर्न नमिल्ने पनि उनले जानकारी दिइन् । –सुकृत

ताजा खबर