टि ट्वान्टी सिरिजको तयारी: नेपालको युवा टोली प्रशिक्षणमा छानियो, ऐरी बने कप्तान 

२०७७ माघ १८ आइतबार १८:३२:०० मा प्रकाशित

काठमाडौं । कतारसँगको टि ट्वान्टी सिरिजका लागि नेपाली टोलीको बन्द प्रशिक्षण भोलि सोमबारबाट सुरु हुँदैछ । 

यसपटक नेपालले सिनियर खेलाडीलाई विश्राम लिन लगाएर युवा खेलाडीलाई कतार पठाउँदैछ । नेपाली टिमको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन् । राष्टिय टिमका नियमित कप्तान ज्ञानेन्द्र मल्ल बन्द प्रशिक्षणका लागि बोलाइएको टोलीमा छैनन् । 

दिपेन्द्र सिनियर टिमका उपकप्तान हुन् । उनले उमेर समूहमा नेपाली टिमको नेतृत्व गरिसकेका छन् । पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी, सन्दिप लामिछाने, आरिफ शेखलाई पनि विश्राम दिइएको छ । 

शनिबार सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि  बन्द प्रशिक्षणमा बोलाइएको छ । १८ जना खेलाडीबाट कतार जाने १४ सदस्यीय छोलीको छनोट गरिने छ । 

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा विनोद भण्डारी, आसिफ शेख, सन्दिप जोरा, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनाश बोहोरा, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहव आलम छन् । करण, कुशल मल्ल र सोमपाल कामी भने हाल युएइमा भइरहेको टि टेन लिग खेलिरहेका छन् । उनीहरु सिधै कतार आउने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । कोरोना भाइरस पछि नेपाली क्रिकेटको यो पहिलो अन्तर्राष्ट्रिय टूर पनि हो । 

नवनियुक्त प्रशिक्षक डेभ वाटमोर भने कतार नजाने बताइएको छ । यसविषयमा क्यानको आधिकारिक धारणा भने आइसकेको छैन । नेपालले कतारसंँग फेब्रुरी ९, १० र १२ मा गरी तीन टि ट्वान्टी खेल खेल्नेछ । 

ताजा खबर