कोरोना खोप अभियान शुभारम्भपछि प्रधानमन्त्रीका आश्वासन 

२०७७ माघ १४ बुधबार १४:२०:०० मा प्रकाशित

काठमाडौँ ।  ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेका हुन् । उनले खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताए। 

“कोही पनि खोप लगाउनबाट वञ्चित हुनुहुन्न, खरीद गरेरै भए पनि संवेदनशीलताको आधारमा निःशुल्क वितरण गरिनेछ”, प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि आवश्यक बजेटको तर्जुमासमेत भइसकेको छ ।” शुभारम्भ भएसँगै सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको छ । 

यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ । ती सबै अस्पताल प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए । कार्यक्रमको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले खोप अभियानका विषयमा दिएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सन्देशलाई मार्गनिर्देशनका रुपमा लिएर कार्यान्वयन गर्दै जाने बताए। उनले नेपालमा कोभिडविरुद्ध सक्रिय सबैप्रति आभार प्रकट गरे। 

उक्त समारोहमा प्रधानमन्त्री ओलीले नेपालीको जीवन रक्षाका लागि यथाशीघ्र खोप उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त  गरे। कोरोनाविरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्दै प्रधानमन्त्री ओलीले खोपले नागरिकको प्रतिरोध क्षमता बढोस् भनी कामना गरे। उनले खोप खेर जान नहुनेमा पनि जोड दिए। 

प्रधानमन्त्रीले छिट्टै  खोप लगाउन शुरुआत गर्न पाएकामा खुशी व्यक्त गर्दै आफूले शुरु गरेको हप्ता दिनभित्रै १० लाख मात्रा उपलब्ध गराएकामा भारत सरकार, भारतीय जनता र मुख्यगरी भारतीय समकक्षी नरेन्द्र मोदी तथा खोप निर्माणमा लाग्ने वैज्ञानिकलगायतलाई धन्यवाद दिए ।  

उनले अहिले प्राप्त खोप अपुग हुने भएकाले अन्य देश र अन्तरराष्ट्रिय संस्थासँग खोपका लागि समन्वय भइरहेको जानकारी दिँदै भारत सरकारसँग उचित मूल्यमा थप खोप ल्याउने विषयमा कुराकानी भइरहेको बताए। प्रधानमन्त्री ओलीले शुरुमा एक ठाउँमा पनि परीक्षणस्थल नभएकामा अहिले ८२ स्थानमा २५ हजारभन्दा बढीलाई दैनिक सेवा दिन सक्ने बन्नु महत्वपूर्ण उपलब्धि भएको बताउँदै भने, “अहिलेसम्म कोभिड अस्पताल निर्माणमा लागेका थियौँ, अब त्यसलाई रोक्नुपर्नेछ, अब विगतमा झैँ कोभिड–१९ बढ्दैन तर सावधानी अपनाउने कुरामा भने ध्यान दिनैपर्छ ।”

प्रधानमन्त्री ओलीले नेपालका पूर्वजले रोगका सम्बन्धमा वैज्ञानिकस्तरकै जैविक प्रचलन अघि बढाएको स्मरण गरे। कोरोनाकालमा जीवनसँग प्रकृति, वन्यजन्तु तथा चराचर जगत्सँगको सम्बन्धलाई पुनःपरिभाषित गरेको बताउँदै प्रधानमन्त्री ओलीले यसले प्राकृतिक चिकित्सा पद्धति र जडीबुटीको प्रयोगतर्फ समाजलाई सचेत गराउने र फर्काउने काम गरेको स्मरण गरे। 

प्रधानमन्त्री ओलीले कोरोनाले सङ्कटमा कसरी जोगिने भनेर अमूल्य शिक्षा दिएको समेत बताउँदै भने, “अर्थतन्त्रलाई धक्का लाग्दा पुनःनिर्माणलगायतका काम कसरी गर्न सकिन्छ भन्ने पनि यसले सिकाएको छ ।”

उनले रोग र भोगबाट मानिसलाई बचाउन सकियो भने सिर्जनशील मानिसले पुनःउत्थान त आफैँले गरिहाल्छन् भन्दै पहिलो कुरा जनताको जीवन बचाउनु नै महत्वपूर्ण रहेको र सरकार जीवन जोगाउने कुरामा गम्भीर रहेको स्पष्ट गरे। 

उनले नेपालीमा रोगसँग लड्ने क्षमता उच्च रहेकाले नै मृत्युदर कम भएको जिकिर गरे। नेपालमा हाल शून्य दशमलव ७ प्रतिशत मृत्युदर  छ । निको हुने दर भने ९८ प्रतिशत पुगेको छ । लाखौं बिरामी भए पनि धेरै देशका तुलनामा नेपालमा प्रभावकारी काम भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।  त्यसो भन्दैमा स्वास्थ्य मापदण्डलाई भने विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

पहिलो  चरणमा खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका,अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् । रासस

ताजा खबर