ओलम्पिकमा स्वर्ण पदकको लक्ष्य राख्छन् ब्याडमिन्टनका प्रिन्स

२०७७ माघ १४ बुधबार १३:४२:०० मा प्रकाशित

ब्याडमिन्टनले प्रिन्सलाई होइन, प्रिन्सले नेपाली ब्याडमिन्टन चिनाइरहेका छन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले एक टेलिभिजन अन्तवार्तामा भनेका शब्दहरु हुन् यी ।  यी तीनै प्रिन्स हुन् जो दुई साताअघि  विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको वरियतामा जुनियर तर्फ तेस्रो स्थानमा परे । यो नेपाली खेलाडिले वरियतामामा प्राप्त गरेको अहिलेसम्मकै ठूलो सफलता हो  । उमेरले भर्खरै १८ वर्ष टेकेका प्रिन्सले जसरी अन्तर्राष्ट्रिय स्तरमा फड्को मारिरहेका छन्, यसबाट प्रष्ट संकेत मिलेको छ उनी लामो रेसका धावक हुन् ।

केही दिन अघिमात्र प्रिन्ससँग भेट भयो । वरियता सार्वजनिक हुँदा प्रिन्स सिरहाको गोलबजारमा पुष्पलाल स्मृति राष्ट्रिय प्रतियोगिता खेलिरहेका थिए । सिरहाबाट फर्किँदा उनका अगाडि अर्को परिचय थपिइसकेको थियो– ‘राष्ट्रिय च्याम्पियन प्रिन्स ।’ उनले सेमिफाइनलमा शीर्ष वरियताका रत्नजीत तामाङ र फाइनलमा दोस्रो वरियताका दिपेश धामीलाई हराएर सनसनी मच्चाएका थिए ।

बिहानै बाइकमा हुँइकिदै आएका प्रिन्सले हेल्मेट खोल्दै उही लजालु पाराले नमस्कार गरे  । उनको त्यो मीठो मुस्कानले माघको  चिसोलाई पनि केहीछिन बिर्साईदियो । उनलाई हेर्दा विश्व ब्याडमिन्टनमा विस्तारै अघि बढिरहेको केटो यहि हो त जस्तो पनि लाग्ने । तर उनी त्यही ठिटो हुन्, जसको सपना ओलम्पिकमा देशको प्रतिनिधित्व गर्नुपर्छ भन्ने छ ।

प्रिन्स जसरी अघि बढिरहेका छन्, विस्तारै उनीबाट देशले आशा पक्कै गर्नेछ । त्यहि अनुरुप उनी अगाडि बढेका पनि छन् । प्रिन्स ब्याडमिन्टनको कुन उचाइसम्म पुग्छन्, त्यो अहिले नै अनुमान गर्नु अलि हतार हुनसक्छ । प्रिन्समाथि गरिने लगानी, खेलाडी स्वयम्ले गर्नुपर्ने मेहनत र  अनुशासित जीवनशैलीले उनको अगाडिको खेल जीवनको यात्रा निर्भर रहने छ । अहिले यति भन्न सकिन्छ उनले देखेको सपनाको यात्रा पूरा गर्नका लागि आवश्यक पर्ने साना साना गोरेटाहरु भने पार गरिरहेका छन् ।

त्यो विहानीको बसाइमा प्रिन्सले विश्व वरियतामा जुनियर तर्फ तेस्रो स्थानसम्म आउँदा र आफ्ना आइडल खेलाडिहरुलाई हराउँदासम्मको आफ्नो यात्रा बारे वर्णन गरे । उनको अहिलेसम्मको यात्राका सहयात्री हुन् उनका मामा कमलेश निरौला । मिल्क कफीको पहिलो चुश्कीसँगै प्रिन्स आफ्नो बाल्यकाल तिर फर्किए ।

प्रिन्सले भने– ‘मैले खेल्न सुरु गरेको सात–आठ वर्षको उमेरबाटै हो । मेरो बुबा ब्याडमिन्टन खेलाडी भएकाले उहाँसँगै कोर्टसम्म जान्थे । बुबाहरुले खेलिसकेपछि अन्तिममा मैले खेल्ने मौका पाउँथे । त्यसपछि त म बुबालाई उठाएर ब्याडमिन्टन खेल्न जान थालेँ । अहिले चाहिँ बुबाले मलाई उठाउनु हुन्छ ।’

दार्चुलामै ब्याडमिन्टनको सामान्य सिकाइपछि उनले कृष्णमोहन स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सिनियर तर्फ भाग लिएका थिए । त्यसबेला उनी नौ वर्षका थिए होलान् । उनलाई मिति ठ्याक्कै याद छैन । तर त्यहि प्रतियोगिताको परिणाम भने उनलाई अहिले पनि ताजै छ, उनी विकास श्रेष्ठसँग भारी अन्तरले पराजित भएपछि रोएका थिए । त्यो समय उनी संचारमाध्यामको नजरमा परे ।

भोलिपल्ट पत्रिकामा पहिलो पटक आफ्नो तस्विर हेरेर दंग परेको क्षण अझैपनि प्रिन्सको मानसपटलमा गढेको छ । उनका मामा कमलेशले प्रिन्सको खेल हेरेको पनि त्यहि बेला नै  हो । त्यसपछि कमलेश पनि  प्रिन्ससँगै आफ्नो सपना मिसाएर अघि बढे । हारबाट सुरु भएको प्रिन्सको ब्याडमिन्टन करियरले अहिले रफ्तार पक्रेको छ । ब्याडमिन्टन खेलाडी बन्न चाहनेका लागि उनी प्रेरणा नै बनेका छन् ।

केही समय  पछि  प्रिन्सले उनै विकासलाई पनि पराजित गरे । जुनियरमा एकछत्र राज गरे । अहिले त उनी जुनियरमा प्रतिस्पर्धा नै गदैनन् । किन भन्ने प्रश्नमा उनी भन्छन्– ‘मैले भाग लियो भने थोरै खेलाडीले मात्र  आफ्नो नाम इन्ट्री गर्छन् । त्यसैले अरु युवा खेलाडीले मौका पाउन् भन्ने लाग्यो अनि नखेल्ने निर्णय गरें । म खेलेको प्रतियोगितामा जुनियरमा ३२–३३ जनाको नाम आउँथ्यो तर अस्ति सिराहमा एकसय  भन्दा बढी खेलाडी आए ।’

 सिनिरयमा नै  शीर्ष वरियतामा रहेका रत्नजित र दोस्रो वरियताका दिपेशलाई हराएर प्रिन्सले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । रत्नजीत, दिपेश र विकासहरुकै खेल हेर्दै हुर्किएका प्रिन्स आज उनीहरुलाई नै हराउँदा खुशी त छन् नै त्यो भन्दा बढी उनलाई आफ्नो खेल क्षमतामाथि गर्व पनि छ ।

अनि बोल्न एकदमै लजाउने मान्छे सिरहामा दिपेशलाई हराएपछि टि सर्ट खोल्ने आँट कसरी आयो त भन्ने प्रश्नको जवाफमा उनी भन्छन्– ‘टि सर्ट खोल्दा बोल्न पर्दैन नि ।’ तर अहिले उनको खेलमा जसरी निखार आइरहेको छ साथै उनी बोल्न पनि विस्तारै सिपालु हुँदै गइरहेका छन् ।

यसअघि उनले सिन्धुपाल्चोकको चौतारामा भएको प्रतियोगितामा पहिलो पटक रत्नजितलाई हराएर उपाधि जितेका थिए । त्यो नै उनको सिनियर तर्फको पहिलो उपाधि थियो । त्यो बेला पनि उनले सिरहामा जस्तै टि टर्स खोलेर खुशीयाली मनाएका थिए । एकदमै उत्साहित हुँदै प्रिन्सले भने– ‘चौतारामा केही भएको थिएन तर यो पटक पंहेलो कार्ड पाएँ ।’

प्रिन्स, विश्व ब्याडमिन्टका स्टार खेलाडी चीनका लिन डानका ठूलो फ्यान हुन् । डानले पनि जितको खुशी यसरीनै  टि सर्ट खोलेर मनाउँथे । ‘त्यसैले मैले उनकै शैली अपनाएको हूँ’ प्रिन्सले टि सर्ट खोलेर खुशीयाली मनाउनुको कारण खुलाए  ।

उनको कुरा सुन्दा जो कोहीलाई पनि लाग्छ यो मान्छे एकदिन पक्कै पनि आफ्नो लक्ष्यमा पुग्नसक्छ  । ‘तेस्रो वरियतामा उक्लिएको खबर कसरी थाहा पाउनु भयो त ?’ भन्ने जिज्ञासामा प्रिन्स भन्छन्– ‘खेल सकेर कोठा फर्कँदै थिएँ, आफन्तले म्यासेज गर्नुभएको रहेछ । पहिला त विश्वासै लागेन । कोरोना भाइरस महामारी नभएको भए यहि वर्ष शीर्ष स्थानमा पुग्ने लक्ष्य राखेको थिएँ ।’

कोरोनाकै कारण अझैपनि जुनियरका कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता निश्चित भएका छैनन् । तर उनलाई आफू वरियताको नम्बर एकमा पुग्छु भन्ने विश्वास छ । वरियतामा सुधारका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनलमा पुग्नै पर्छ । अन्तर्राष्ट्रिय टूरमा जान धेरै खर्च लाग्छ । त्यसैले उनी चाहे जति सबैमा सहभागी हुन सक्दैनन् । एउटा प्रतियोगिता खेल्न जाँदा कम्तीमा पनि ४ लाख रुपैयाँ खर्च हुन्छ ।

राष्ट्रिय खेलकुद परिषद्ले टिकट खर्च दिने गरेको छ । अरु आफ्नै खर्च । अरु देशका खेलाडी एकेडेमीको माध्यमबाट आउँछन् । तर नेपालमा अहिलेसम्म एकेडेमी नै छैन । यो अवस्था सम्झेर उनको चित्त पनि दुख्छ । तर विस्तारै ब्याडिमन्टन, फुटबल, क्रिकेट जस्तै लाइमलाइटमा आउँछ भन्ने आश छ प्रिन्सलाई । उनी भन्छन्– ‘ब्याडमिन्टन प्राय सबैले खेल्छन्,  म जहाँ जान्छु त्यहाँ जुन स्तरको भएपनि कोर्ट हुन्छ  तर समस्या के भने  ४० कटेपछि पेट घटाउन खेल्ने धेरै भए । बालबालिकालाइँ आकर्षित गर्न अझै सकिएको छैन ।

प्रिन्स सानो उमेरमानै संचारमाध्यमको आकर्षण बने । यो उमेरमा प्राप्त फेमलाई मेन्टेन गरेर अघि बढ्नु निकै चुनौतीपूर्ण हुन्छ ।  जुनियर तहमा उत्कृष्ट बनेका खेलाडी आफूलाई सम्हाल्न नसक्दा बीचैमा हराएका हाम्रै वरिपरि थुप्रै उदाहरण छन् । त्यसप्रति सचेत छन् प्रिन्स । तर, उनी त्यसको प्रभाव अहिले आफ्नो खेलमा पर्न दिन चाहँदैनन् । ‘सुरुका दिनमा म जस्तो थिएँ, अहिले पनि त्यस्तै छु । मेरो काम मात्र खेल्ने हो’ उनले सुनाए । स्टारडमले मात्तियो भने मानिस कसरी सकिन्छ भन्ने आफूले राम्रोसँग बुझेको बताउँछन् उनी ।

१८ वर्ष लाग्दै गरेको केटोको आफ्नै सपना र रहर पनि त होलान् । कडा अनुशासनमा बस्नु कत्तिको गाह्रो हुन्छ ?     प्रश्नहरुको जवाफ दिँदा हाँस्न नबिर्सने बानी बसेका प्रिन्सले उसै गरी हाँसेर भने– ‘असाध्यै गाह्रो । खाने चिजदेखि दैनिक जीवनशैली नै बाँधिएको छ । सफल हुनु छ भने त्यो सबै ख्याल गर्न जरुरी पनि छ ।’ उनी जङ्क फुड खाँदै खाँदैनन् । रुटिन इमान्दारीपूर्वक फलो गर्छन् ।  खेल्न सजिलो की आफू माथिको नियन्त्रण त ? प्रिन्सको उत्तर– ‘आफूलाई नियन्त्रण गर्नु संसारको सबैभन्दा गाह्रो काम रहेछ ।’

बाटोमा हिँड्दा आउने मोमोको वास्नाले कहिलेकाँही उनको मन भड्काउँछ तर सम्हालिन्छन् उनी । खेल नभएको समयमा कहिलेकाँही मोमो चाहीँ खाने गरेको प्रिन्सले सुनाए । अनि मामा कत्तिको कडा हुनु हुन्छ त ? झट्टै जवाफ फर्काइहाले । मामा र उनको कति दिनसम्म त बोलचाल पनि  हुँदैन रे । आफ्नो सफलताको सारथी मामा बारे उनी भन्छन्– ‘बेलाबेला रिस पनि उठ्छ । मेरै लागि गरेको हो भन्ने मनमा लागेपनि केही दिनसम्म बोल्दिन केही आवश्यक परेपछि बोल्नै परिहाल्छ अनि बोल्छु । जित र हार दुवैमा बुबा आमा भन्दा बढी मामानै हुन्छन् कोर्टमा साथ दिन ’। 

मामाले अनुमति दिने भए प्रिन्स नेपाल घुम्न चाहन्छन् बाइकमा !

अबको लक्ष्य के छ त प्रिन्सको ?

सन् २०२१ मा जुनियरका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने उनको योजना छ । २०२२ को युथ ओलम्पिकमा नेपालका लागि स्वर्ण जित्ने उनको सपना छ । अहिलेसम्म नेपालकाबाट ब्याडमिन्टनका दुई खेलाडीले मात्र युथ ओलम्पिक खेलेका छन् । तर कोटा पाएर । प्रिन्स भने वरियताका आधारमा सिधै छनोट हुनेछन् । ओलम्पिक आउँदासम्म शीर्ष वरियतामा पुग्ने उनको लक्ष्य छ ।  अहिले आफ्नो सबै ध्यान युथ ओलम्पिकमा रहेको उनले सुनाए । त्यसका लागि प्रिन्स एक्लैको प्रयास पर्याप्त हुँदैन । ब्याडमिन्टन संघ, खेलकुद परिषद् र नीजि क्षेत्रले पनि सहयोग गर्नु पर्छ ।

जीवनको सपना भनेको ओलम्पिकमा स्वर्ण जित्नु हो । अहिलेकै सिनारियोमा नेपाली खेलाडीले ओलम्पिकमा स्वर्ण जित्छु भन्दा पत्याउनु र जस्तो लाग्छ । प्रिन्सले पनि अविश्वासको सामना गरे । सकिन्छ त प्रिन्स ओलम्पिकमा पदक ल्याउन ? प्रिन्स भन्छन्– ‘म हार्छु भनेर कहिले सोच्दिन, मैदानमा विपक्षीलाई हराउनु भन्दा  पहिले आफ्नो  सक्दिन कि भन्ने कमजोर मानसिकतालाई पराजित गर्नु गर्नुपर्छ ।’

प्रिन्सको करियर त भर्खरै सुरु हुँदैछ । उनको खेल जीवनको बाँकी कथा कस्तो हुन्छ त ? त्यसका लागि केही समय धैर्य गर्नै पर्छ !  
 

ताजा खबर