लाखबत्तीको प्रकाशमा चम्किएको ओलीको मुहार !

२०७७ माघ १३ मंगलबार १४:५५:०० मा प्रकाशित

 प्रधानमन्त्री केपी शर्मा ओलीले माघे सोमबार पारेर आराध्यदेव पशुपतिनाथ मन्दिरमा लाखबत्ती बालेका छन् । पशुपतिनाथमा लाखबत्ती बाल्ने ओली सम्भवत पहिलो कम्युनिष्ट नेता हुन् । धर्मलाई अफिम मान्ने र भन्ने गरेका नेपाली कम्युनिष्ट जमातलाई लाखबत्ती प्रज्ज्वलन बहसको तातो बिषय बनेको छ । गैर-कम्युनिष्ट पनि प्रधानमन्त्री ओलीको यो धार्मिक अनुष्ठानलाई तारो बनाएर तर्कको तिर मारिरहेका देखिन्छन् ।

लाखबत्ती प्रज्ज्वलन गरेकै दिन प्रधानमन्त्री निवास बाहिर विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि पानीको फोहोरा वर्षाएको थियो सुरक्षा निकायले । प्रतिनिधिसभा बिघटन असंवैधानिक कदम भएको भन्दै दलमा संलग्न र दलमा असंलग्न रहेका नागरिक अगुवाले प्रधानमन्त्री ओली विरुध्द प्रदर्शन गर्दै आएका छन् । सोमबार कमलपोखरीको माटोको टिका लाएर बालुवाटार घेर्न पुगेका उनीहरुलाई रोक्न प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । केही गिरफ्तारीमा पनि परेका थिए ।

लाखबत्ती बालेर पशुपतिनाथको चन्दन टिका र रुद्राक्ष लाएर बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीले आफ्ना विरुध्द प्रदर्शन गर्न निवास अघिल्तिर भेला भएका नागरिक माथि पानी वर्षाएर दमनकारी शैली देखाएको भन्दै उनको चर्को विरोध भैरहेको छ । 

रामको जन्म भारतको अयोध्यामा होइन नेपालको ठोरीमा भएको हो भनेर दावी गरेका प्रधानमन्त्री ओली पुरै भारतवर्षमा विवाद र चर्चामा रहेका थिए । त्यतिबेला विश्वका हिन्दू समूदायवीच बहसका पात्र बनेका ओलीले पशुपतिमा लाखबत्ती प्रज्ज्वलन गरेर अर्को धार्मिक कार्डको प्रयोग गरेको चर्चा सुरु भएको छ । ०६२÷०६३ को जनाआन्दोलनमा निरपेक्ष बसेका ओलीमाथि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको अभिभावकत्व ग्रहण गर्न चाहँदैनन् भन्ने आरोप छ । कहिलेकाहीँ उखानटुक्का सुनाउँदा उनले यसको छनक पनि दिने गरेका छन् । राजनीतिमा धर्मको कार्ड खेल्न सुरु गरेका प्रधानमन्त्री ओलीको गन्तव्य के हो भनेर मेलोमेसो पाउन नसकेर उनका कट्टर विरोधी र आलोचक रन्थनिएका देखिन्छन् । सहधर्मी रहँदै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री ओलीको नयाँनयाँ कार्यशैली देखेर तर्सिएका–हच्किएका देखिन्छन् । निर्वाचन आयोगले नेकपा एउटै रहेको÷नफुटेको निष्कर्ष दिएपछि झस्किएका उनीहरु माघ १५ पछि ओलीले थप चर्को काम गर्न थाल्ने हुन् कि भनेर सतर्कतासाथ अनुगमन गरिरहेको एक सूत्रले बताएको छ । 

त्यसपछि नियुक्ति परिपक्व हुने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएका पदाधिकारीले पद बहाल गर्ने र फायलको धुलो पुछ्न थाल्ने सम्भावना छ । प्रतिनिधिसभा नरहेको अवस्थामा संसदीय समितिमा बयान दिनुपर्ने झन्झटबाट मुक्ति पाएका ती पदाधिकारीले सरकार प्रमुखको जुँघा चलेअनुसार कुरा बुझ्ने निश्चित नै छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अख्तियारको फायलको धुलो पुछ्ने प्रसंग निकालेर राजनीतिका आफ्ना विरोधीलाई पर्याप्त सन्देश दिईसकेका छन् । मन्त्री ज्ञवालीको सन्देश प्रधानमन्त्री ओलीको परेला नझिम्किकन पक्कै पनि आएको होईन ।

प्रधानमन्त्री ओली यही माघको २३ गते नेकपाको अर्को पक्षलाई आफ्नो शक्ति देखाउने तयारी छन् । उनले यसको स्पष्ट सन्देश पनि दिईसकेका छन् । सञ्चारकर्मी, नागरिक अगुवा र कानुन व्यवसायी सबैलाई व्यंगवाण मारिरहेका ओलीले विपक्षलाई खुईल्याउन सबै उदाहरणहरुको प्रयोग गरिसकेका छन् । ओलीका अभिव्यक्ति यस्ता लाग्छन् उनी प्रतिनिधिसभा बिघटनको मुद्दा संवैधानिक इजलाशबाट सदर हुने कुरामा सयकासय ढुक्क छन् । दाङको भाषणले उनको यस्तो सोच उदाङ्ग पारिसकेको छ ।

राजनीतिमा राष्ट्रवादको नारा फलिफाप भएको छ प्रधानमन्त्री ओलीलाई भन्ने तर्कशास्त्रीहरु उनलाई धर्मको कार्ड पनि घाटाको कारोबार नहुने ठोकुवा गर्छन् । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्शामा समेटेर संसद्बाट सर्वसम्मतिले अनुमोदन गराउन सफल भएका ओलीले पाठ्यक्रममा नक्शा राख्न रोकेको सन्देश चुहिएपछि उनी धर्म संकटमा परेकै हुन् । त्यसपछिका उच्चस्तरीय भ्रमणहरुबाट प्रधानमन्त्री ओलीको रणनीति बदल्न प्रेरणा मिलेको हुनसक्ने विश्वास गरिँदै आएको छ । लाखबत्ती प्रज्ज्वलनको गृहकार्यमा जुटेका भनिएका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सम्भावित निर्वाचनका लागि धर्मको झुकाव नाफामुखी कदम हुने सुझावमा प्रधानमन्त्री ओलीलाई मनाएको एक जानकार उच्च सूत्रले बताएको छ ।

यसरी धर्मतिर मोडिएर झुकेको प्रधानमन्त्री ओलीको आस्था के थाहा भावी दिनमा गएर सांस्कृतिक राजसंस्थासम्म पो ठोकिने हो कि ! लाखबत्ती बालेपछि चम्किला देखिएका प्रधानमन्त्री ओलीको मुहारभित्र कतै संकटकालको रणनीति त कम्पोज भैरहेको छैन भनेर सन्त्राश महसुश गर्नेको पनि कमी छैन ।

प्रतिनिधिसभा बिघटनको मुद्दाको फैसलासँगै प्रधानमन्त्री ओलीका भावी कदमहरुले शीर उठाउने निश्चित रहेको जानकार सूत्रको बुझाई छ । 


 

ताजा खबर