रहेनन् गन्धर्व संस्कृतिका धरोहर धनबहादुर

२०७७ माघ १२ सोमबार १४:३१:०० मा प्रकाशित

पोखरा । प्रायजसो नेपालीको ओठमा झुण्डिएको यो गीत ‘यो दाजुको मिरमिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाख नरोऊ मायालु... !’ का स्रष्टा सारङ्गी वादक धनबहादुर गायक अब यो संसारमा रहेनन् । उनीसँगै गायक प्रवीण गुरुङ र बिमाकुमारी दुराले यो लोकप्रिय गीत गाएका हुन् । यसको सङ्गीत र शब्द हो यिनै धनबहादुर गायकको ।

गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक  निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो । 

पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक थिए । विसं २०२१ मा जन्मिएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए । उनी “लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ”  भन्नेमा विश्वास गर्थे ।  गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए ।

झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे तर उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए । एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका छन् । लोकगीतको संरक्षणमा सक्रिय मियाँले  दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् । 

सहपाठी, संस्कृतिकर्मी र लोकगायिकाका नजरमा धनबहादुर कृष्ण थापा (सहपाठी एवम् गण्डकी प्रदेशसभा सदस्य)

‘पोखरा– १६ बाटुलेचौरका धनबहादुर गायक र म स्कूले सहपाठी हौँ । सानैदेखि गीतसङ्गीतप्रति उहाँको रुचि जीवनका अन्तिम प्रहरसम्म उस्तै जीवन्त रह्यो ।  तत्कालीन समयमा म पोखराको मेयर हुँदा उहाँ कार्यालय सहयोगी हुनुहुन्थ्यो तर उहाँको सङ्गीतप्रतिको झुकाव  देखी विन्ध्यवासिनी सङ्गीत पाठशाला खोलेर त्यसको जिम्मा उहाँलाई सुम्पियो । उहाँ सारङ्गी र मादलका सम्राट् नै हुनुहुन्थ्यो । गन्धर्व समाजका संस्थापकसमेत रहनुभएका उहाँ राम्रो गायक, रचनाकार पनि हुनुहुन्थ्यो ।  एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्व गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पु¥याएको छ । 

    मैले तत्कालीन समयमा  मातृशिशु मितेरी अस्पतालको शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर  सारङ्गी पाठशालाका सञ्चालनका लागि होस्टेमा हैँसे गरेको थिएँ । बाटुलेचौरसँगै झलकमान र  जनकविकेशरी धर्मराज थापा अनि  पछिल्लो समय धनबहादुर गायकसँग लोकसंस्कृतिको गौरवको गाथा जोडिएको थियो । लोकगीत र संस्कृतिको उर्वरभूमि बाटुलेचौरमा अहिले लोकबाजा सारङ्गी सिक्न नयाँ पुस्तालाई उहाँले नै आकर्षित गर्नुभएको थियो ।  उहाँको निधनले गन्धर्व संस्कृतिमा ठूलो क्षति पुगेको छ ।’ 

तीर्थ श्रेष्ठ, साहित्यकार तथा संस्कृतिकर्मी 

‘धनबहादुर गायक लोकसंस्कृति एक सशक्त धरोहर हुनुहुन्थ्यो । लामो समयदेखि म उहाँसँग परिचित छु, डाँफे कला मन्दिर आरम्भदेखि हामी सँगै भयौंँ । बहुप्रतिभाशाली उहाँ गायन, वाद्यवादन, नृत्य  तीनै कुरामा पोख्त हुनुहुन्थ्यो । उहाँको गायक सरोजगोपालसँग पनि निकै राम्रो सम्बन्ध थियो । पोखराको कुनै पनि साङ्गीतिक गतिविधिमा धनबहादुर भएनन् भने के भएन जस्तो लाग्थ्यो । पछिल्लो समय झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशाला खोलेर उहाँले नयाँ पुस्तालाई सारङ्गी र मादल सिकाई संस्कृति हस्तान्तरण गर्नुभयो ।  यो उहाँको निकै महत्पूर्ण योगदान हो । उहाँले क्रिश्चियन धर्म अपनाए तापनि हिन्दूधर्ममा उस्तै आस्था र श्रद्धा थियो । विन्ध्यवासिनी मन्दिरमा दशैँका समयमा  सारङ्गी र मादलको धुनबाट मादलबाट मालश्री धुन बजाउन उहाँले सहयोग गर्नुभयोे । पोखराको महत्वपूर्ण साङ्गीतिक सङ्घसंस्थामा उहाँको संलग्नता थियो, उहाँ जस्तो कर्मठ सर्जक सम्भवतः अब यस क्षेत्रमा पाउन निकै मुश्किल पर्नेछ ।’ 

हरिदेवी कोइराला, प्राज्ञ एवम् लोकगायिका

‘बाटुलेचौरको माटो लोकसंस्कृतिले सिञ्चित छ । गन्धर्व समुदायको बस्ती  पनि यस क्षेत्रको एउटा विशेषता हो । सामाजिक मूल्यमान्यता, रहनसहन, संस्कृति र संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा भेटिने यस क्षेत्रका सर्जक धनबहादुर गायकको निधनले अपूरणीय क्षति पु¥याएको छ । उहाँ अजर –अमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि हुनुहुन्थ्यो  ।  उहाँ पोखरेली सङ्गीतका क्षेत्रमा मात्र नभई नेपालको सङ्गीत क्षेत्रको एउटा असल सङ्गीतकर्मी पनि हुनुहुन्थ्यो ।  उहाँ पुर्खाको चिनोलाई जर्गेना गर्न तल्लीन हुनुभयो । उहाँले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराउनुभयो । लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उहाँले पु¥याएको योगदान निकै महत्वपूर्ण छ ।’  रासस

ताजा खबर