भरतपुरको सिटीहल र ६ लेन सडकको शिलान्यास प्रधानमन्त्रीले गर्ने

२०७७ माघ १२ सोमबार ०९:२६:०० मा प्रकाशित

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली भरतपुरमा हुन गइरहेको दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न माघ १७ गते चितवन आउने भएका छन् ।
 
नेकपा चितवनले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यक्रमबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावलले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास प्रधानमन्त्रीबाट हुने जानकारी दिइन् । यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको छ । 

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिसमेत रहेकी रावलका अनुसार उक्त कार्यक्रमपछि भरतपुरमा जनसभाको आयोजना गरिएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः१५ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 
भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम शुरु भएको छ । सङ्घीय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।
 
बोलपत्र रकम रू एक अर्ब ६करोडको रहेकोमा रू ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । दुईवटा भर्याङ र दुइवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक ६ हजार ५०० वर्गमिटरमा हुने उनको भनाइ छ । जुन क्षेत्रफल एक बिघाको हुनेछ ।
 
यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको ६ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी रू एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुरको मुख्य शहरी क्षेत्रमा पर्दछ । यी दुवै आयोजनाको काम शुरु भइसकेको छ ।
 

ताजा खबर