चलचित्रमा जस्तै भारतको उत्तराखण्डमा एक दिने मुख्यमन्त्री

२०७७ माघ ११ आइतबार १०:१४:०० मा प्रकाशित

एजेन्सी । बलिउड चलचित्र ‘नायक’मा अभिनेता अनिल कपुर ‘एक दिने मुख्यमन्त्री’ बनेर तहल्का मच्चाएको दृश्य सायदै मन नपराउने कमै होलान् । तर वास्तविकता आउने हो भने एउटा ‘कमन म्यान’लाई एक दिने मुख्यमन्त्री कसले पो बनाउँथ्यो र ?

तर तपाईँहामी सबैको अनुमान विपरित भारतको उत्तराखण्डमा आज (आइतबार) एक १९ वर्षीया किशोरी साँच्चिकै एक दिनको मुख्यमन्त्री बन्दैछिन् ।

उत्तराखण्ड सरकारले नै हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । यो निर्णयसँगै सृष्टि उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । 

२४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको हो । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका विभिन्न विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् । विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा सृष्टिले सुझाव दिनेछिन् ।

एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सन्जालमा चौतर्फि छाएकी छिन् । उनले सामाजिक सन्जालमै एक बयान जारी गर्दै भनेकी छिन्– ‘एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउँदा म निकै खुसी छु । म विशेषतः बालिका सुरक्षासँग सम्बन्धित सुझावहरु उत्तराखण्ड सरकारलाई दिनेछु ।’

सृष्टि सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएकी थिइन् ।
 

ताजा खबर