प्रधानमन्त्रीले नपत्याएको पत्रकारिता !

२०७७ माघ ९ शुक्रबार १६:१२:०० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुको क्षमता र अस्तित्वमाथि फेरि एकपटक प्रश्न उठाएका छन् । समाचारमा प्रयोग हुने भाषा आफूलाई मन नपरेको ओलीको भनाईबाट बुझ्न सकिन्छ । उनी समाचारमा पात्रहरुलाई ‘तिमी’ भनेकामा असन्तुष्ट छन् । पूर्व राजपरिवारका लागि प्रयोग हुने उतिबेलाको अति औपचारिक भाषाको चर्चा गर्दै ओलीले पत्रकारहरुलाई छेडखानी गर्दै ‘आफ्नै बाबुआमालाई पनि तपाईं’ भन्न नसक्ने बर्गका रुपमा पत्रकारलाई चिनाईरहेका छन् । यतिमात्र होईन प्रधानमन्त्री ओलीले पत्रकारहरु प्रष्टसँग दलीय झुकावअनुसार चिनिनुपर्ने सुझाव पनि दिएका छन् । बिहीबार आफूले नेतृत्व गरिरहेको नेकपा गुटसँग सम्बध्द पत्रकारहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले पत्रकारहरु व्यवसायिक रुपमा स्वतन्त्र बस्न नहुने आशयको धारणा राखे ।

देशको कार्यकारी प्रमुखले पत्रकारिता व्यवसायको स्वतन्त्र हैसियत र पत्रकारहरुको दलीय असंलग्नतामाथि धावा बोलिरहँदा प्रेस काउन्सील नेपाल र नेपाल पत्रकार महासंघ जस्ता प्रत्यक्ष सरोकारवाला संस्थाको ओठ उघ्रिएको छैन ।

यो समस्या प्रधानमन्त्री ओलीको मात्र होइन । अघिल्लो दिन नेकपाकै अर्को प्रचण्ड र नेपाल गुटसँग सम्बध्द पत्रकारहरुको भेलामा दुइजना पूूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले कार्यकर्ताकै हैसियतमा सम्बोधन गरेका थिए । नेपाली कांग्रेसको पनि पत्रकारहरुको भ्रातृ संगठन नभएको होइन । निर्वाचन आयोगमा दर्ता भएका र अन्य संगठनले पनि आफू निकट सञ्चारकर्मीलाई भ्रातृ संगठन सरहकै दर्जामा राखेका छन् ।

बलियो परिभाषा

यतिबेला परिभाषा बदलिएको छ पत्रकारिताको । हामी कस्तो पत्रकारिता अभ्यास गरिरहेका छौं भनेर समाजको ऐनामा आफ्नो अनुहार हेर्ने हो भने स्पष्ट छैन परिभाषा । हुन त पत्रकारितालाई नै समाजको ऐना भन्ने गरिएको छ । तर समयले अब परिभाषा बदलिदिएको छ । समाजलाई चैं पत्रकारिताले ऐना मान्नुपर्ने अवस्था निर्माण भएको छ । समाज आमूल परिवर्तनको नयाँ पोशाकमा सजिएको छ । पत्रकारिताले भने यो परिवर्तनको आभाससम्म गर्न सकेको छैन । समाजको अडिटिङमा पत्रकारिता पेशा ऋणमा चुर्लुम्म डुबेको देखियो भने अनौठो नमाने हुने तथ्यहरु खडा भैसकेका छन् । 

पत्रकारिताका नयाँ माध्यमहरु थपिएका छन् । परम्परागत माध्यम अहिलेको मूलप्रवाहको पत्रकारिताले छोडिसकेको छ । नयाँ माध्यम र नयाँ पुस्ताको सहभागिता बढेसँगै परम्परागत पत्रकारिता अजायव घरको सजावट बनिसकेको छ । नयाँ राजमार्ग बनेपछि बटुवाले बिर्सेको पुरानो बाटो जस्तै बनेको छ परम्परागत पत्रकारिता अर्थात् नेपाली पत्रकारिताको इतिहास अर्थात् पत्रकारिताको प्राथमिक विद्यालय । जे भनेर सम्झिए पनि हुन्छ त्यो गौरवशाली बिगत । तर त्यो पत्रकारिताले पेशाको आधारभूत धर्मको पालना, सम्मान र रक्षा गरेको थियो भनेर आज बिर्सन मिल्दैन । देशमा राजनीतिका अनेक बदलाव भए । उतारचढावको तनावपूर्ण श्रृंखलामा राजनीति छालको गतिमा आयो गयो तर त्यतिबेलाको पत्रकारिताले पेशाको मूलभूत धर्म छोडेका थिएन । त्यो त्यतिबेलाको कुरा भयो । 

आजको कथा फरक छ । त्यही कारण परम्परागत पत्रकारिताको इतिहासलाई झलक्क भएपनि सम्झनु परेको हो । हो, आजको पत्रकारिताले आधुनिक माध्यमहरु पाएको छ । व्यवसायिक सञ्चार संस्थाहरु ठडिएका छन् । छापा, टेलिभिजन, रेडियो हुँदै अनलाईन न्यूजपोर्टलहरु पत्रकारिताका सशक्त माध्यम बनेर उदाएका छन् । अनलाईन पत्रकारिता अब नेपाली पत्रकारिताको मूल प्रवाहको नेतृत्व लिने दौडमा छ । अर्थतन्त्रको उन्नतिसँगै संस्थागत सञ्चार उद्योगहरुले आर्थिक समृध्दि पनि हासिल गरेका छन् । अर्थोपार्जनका विकल्पहरु उपलव्ध हुन थालेकाले पत्रकारहरुको संख्या पनि बढेको छ । पत्रकारिता रोजगारीको पेशा पनि हुनसक्छ भन्ने भरोसा र विश्वास देखिएपछि ठूलो संख्यामा पत्रकारहरु जन्मिएका हुन् । संस्था र पेशाकर्मीको संख्या गणना गर्दा दंग पर्ने अवस्था बनेको छ । राजनीतिक परिवर्तनकै प्रतिफल हो यो भन्दा अन्यथा हुने छैन ।

तर यति धेरै उपलव्धि हासिल भैसक्दा पत्रकारिता पेशा आफैं भने कुन अवस्थामा बाँचिरहेको छ भन्ने तर्फ ज्यादै थोरै मानिसहरुको ध्यान गएको देखिन्छ । कतै यो होहल्लाको माध्यम मात्रै पो भैरहेको छ कि भनेर सोच्नुपर्ने परिस्थिति सिर्जना भएको देखिन्छ । किन पत्रकारिता यस्तो अवस्थामा रहनुपरेको छ त ?

स्वथ्य र निष्पक्ष पत्रकारितालाई जनमत निर्माणको भरपर्दो वैकल्पिक माध्यम पनि भन्ने गरिन्छ । यही आधारमा समाजले पत्याएको पनि हो । यो धर्म पालना गर्दासम्म पत्रकारिता भरोसाको पात्र थियो र रहन्छ पनि । तर बितेका केही वर्षहरु यता विश्वासको त्यो पूँजी गुमाउँदै गएको छ पत्रकारिताले ।

विश्वास गुमाउनुको पहिलो कारण हो पत्रकार आफैं पत्रकार रहन नसक्नु । व्यवसायिक धर्म पालनाबाट च्यूत हुनु । आफ्नो धरातलमा विश्वास नरहनु र दलीय छातामा ओत लाग्न जानु । दलमात्र होइन दलका गुट र अन्य अनेक भावनात्मक समूहमा भावुकतावश संठठित हुनु । पत्रकारिता पेशा शिथिल हुनुका यी केही मूलभूत कारण हुन् । तीतो लागेपनि सत्य यही हो ।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै पत्रकारिताले दलीय पक्षधरताको फेर समात्न थालेको हो । तैपनि उग्र दलीयकरण भने भएको थिएन । प्रजातन्त्रवादी र वामपन्थी बिचारप्रति झुकाव राख्ने दुइ समूह बैचारिक रुपले संगठित थिए । तैपनि यी दुइ समूहले पत्रकारहरुको पेशागत छाता संगठन नेपाल पत्रकार महासंघलाई साझा थलोको रुपमा बलियो बनाउँदै लगेका थिए । यससँगै पत्रकारिता पेशा बैचारिक रुपमा परिचित भएपनि न्यूनतम मान्यताको लक्ष्मणरेखाभित्रै रहेको थियो । समाज जसरी बिचारले बिभाजित थियो त्यसको प्रत्यक्ष छाँयाँ पत्रकारिताको अनुहारमा पनि परेको थियो । वास्तवमा यो अनौठो बिषय थिएन, त्यस्तो मानिएको पनि थिएन ।

अहिलेको कथा–व्यथा अर्कै छ । व्यवसायिक पत्रकारिताको धर्म पूरै नष्ट भयो । बाँकी अब केही पनि रहेन भनेर गालामा हात राखेर धर्धरी रोइहाल्नुपर्ने अवस्था पनि होइन । यो पेशालाई अन्यथा आक्षेप लाग्नबाट बचाएर जोगाएर कर्म गरिहेका धेरै पत्रकारलाई बिर्सन मिल्दैन, सकिँदैन । तर पत्रकारिताको ठूलो जनसंख्या यसरी नै धर्म पालना गरिरहेको छ त ? के हामी पत्रकारहरु यो दावी गर्न सक्छौं ? मूलधारका राजनीतिक दल, क्षेत्रीय दलहरु र अन्य जातजाती, समूदायको अलगअलग पहिचानमा हामी पत्रकारहरु संगठित छैनौं भनेर भन्न सक्छौं त ? यो कसले गरेको विभाजन हो ? यसको नैतिक जिम्मेवारी कसले लिने ? पत्रकारिताको मूल धर्मबाट विचलित भएका सबै पत्रकारको नाकमा झुण्डिएको संगीन प्रश्न हो यो !

राजनीतिक दलहरु पत्रकारलाई पत्रकारका रुपमा चिन्न चाहँदैनन् । यसमा उनीहरुलाई घाटा छ । पत्रकारलाई कज्याउन गाह्रो छ तर कार्यकर्ता त कार्यकर्ता भैहाले । उनीहरुको कान निमोठ्न पनि पाईन्छ र उठबस गराउन पनि सकिन्छ । यसैले उनीहरुको नजरमा पत्रकार भनेका उनका कार्यकर्ता मात्र हुन् । उनीहरु जुन बिचारको पूजा गर्छन् ।  आरति उतार्छन् र अनुष्ठान गर्छन् । उनका निकट पत्रकार पनि उस्तै हुन् उनीहरुको नजरमा । दलीय चिनारीमा भ्रातृ संगठन बनाएर किन बसेका त पत्रकार ? अझ पार्टीको महाधिवेशनमा भागलिने मतदाताको हैसियत समेत लिएर ! कुन दलका छैनन् पत्रकार भ्रातृ संगठन ? यसरी बैचारिक रुपले दलमा एकाकार हुँदा पत्रकारको व्यक्तिगत, पारिवारीक र सामाजिक हैसियत त ह्रष्टपुष्ट हुँदो हो । तर पत्रकारिता पेशा त सुक्दै गएको छ नि ? हेपिँदै पनि त छ ! यसको नैतिक जवाफदेहिता र जिम्मेवारी कसैले लिनुनपर्ने ? 

यिनै चञ्चल चरीत्रको परिणाम हो पत्रकारिताको परिभाषा बदलियो । समाजले नाक खुम्च्याउन थाल्यो । विश्वासको धरातल हल्लिन थालेको छ । पत्रकारिता भन्दा होहल्ला र चञ्चलताले बजार पिटेको छ । अदृश्य स्रोतहरु काँचका शिशामा लोभिन थालेका छन् । टेलिभिजनका सुकिला कार्यालय खुल्न थाले कर्पोरेट    हैसियतमा । जागिर खुल्यो भाउ बढ्यो पत्रकारको । तर मूल्य किन घटिरहेको छ पत्रकारिता पेशाको । अहिलेको मुख्य प्रश्न हो यो । 

अस्थिरताको राजनीतिक सिरियल धानीरहेको नेपालमा फेरि पनि यो दोहोरिन थालेको छ । प्रतिनिधिसभा बिघटन भएको छ । भविष्य सर्बोच्च अदालतको संवैधानिक इजलाशको अधिनमा छ । यही अवसरमा पनि हामीले हाम्रो पेशाको पहिरन श्रृंगार र भावभंगिमा नजिकबाट नियाल्न सक्छौं । हाम्रो पेशाको तराजुको डण्डि कति सोझो छ भनेर अवलोकन गर्ने यो एउटा सुवर्ण अवसर हो । न्यायालयको बिचाराधीन बिषयमा कसरी चलिरहेको छ हाम्रो कलम भनेर बुध्द आँखाले हेर्ने हो भने पत्रकारहरुको पेशागत वस्त्र जोगाउन गाह्रो छ । स्वतन्त्र, तटस्थ र तुलनात्मक रुपमा निष्पक्ष उभिन नसक्दाको परिणाम हो यो भनेर स्वीकार्दा कसैलाई पाप लाग्ने छैन । 

नेपाल पत्रकार महासंघ द्यौरालीको पाती चढाईमाग्ने ढुङ्गो शीला हुनुहुँदैन । अभिभावकीय जिम्मेवारी भनेको सदस्यताकै वरिपरी अल्झिनुपर्छ भन्ने सोचाई सही होईन । यो संकीर्ण सोचबाट उठेर पत्रकारिता पेशाको मूल्य, मान्यता र धर्म जोगाउन अनि पालना गराउन पनि महासंघको महत्वपूर्ण दायित्व हुन्छ । यसमा उदासिन हुने छुट छैन महासंघलाई ।

दलीय गुटबन्दीको संक्रामक भाइरसले आक्रान्त प्रेस काउन्सील नेपाललाई उसको धर्म सम्झाउने,  पालना गर्न मद्दत गर्ने र प्रभावकारिता बिस्तार गर्ने काममा पनि महासंघको भूमिका रहन्छ । तर यति नै बेला भने यो परम दायित्व नै अभिभावकविहीन भएको देखिन्छ ।

अब यसरी हुँदैन । यहाँ चर्चा गरिएका प्रसंग आजका पत्रकार साथीहरुको रुचिको बिषय हुने छैन । यो सबैलाई पच्ने प्रसंग पनि होइन । तर आफ्नो जीवनलाई पत्रकारिताको करिअरबाट अर्थपूर्ण बनाउँछु भनेर चट्टान जस्तो अठोट गरेर कलम समाएका युवाहरुले यस कुरालाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ भन्ने मेरा धारणा हो । महासंघका सभा सम्मेलन र अधिवेशनहरुको प्राथमिकतामा कहिल्यै पनि नपर्ने यस्ता व्यवसायिक मूल्यमान्यताको प्रसंगमा युवा पुस्ता संलग्न हुनुपर्छ । अनि मात्र पत्रकारिताको गुम्दै गएको साख बचाउन सकिन्छ । समाजले ऐना मानिआएको पेशा पत्रकारिता फेरि आफ्नो पुरानो पहिचानमा फर्किन सक्छ भन्ने अपेक्षाका साथ यी शब्दहरु लेखिएका हुन् । 

सर्वविदितै छः करेला तीतो हुन्छ तर स्वास्थ्यवर्ध्दक हुन्छ !

 

 


 

ताजा खबर