झुल्के घामले चुमेको, सरकारले नचिनेको सन्दकपुर !

२०७७ माघ ७ बुधबार ०८:०५:०० मा प्रकाशित

इलाम । पर्यटकीय क्षेत्रको आ–आफ्नै पहिचान हुन्छन् । कुनै घुमघामका लागि प्रख्यात त कुनै खानपिनको लागि । कुनै मनोरञ्जनका लागि त कुनै ज्ञानगुनका लागि । हिउँदको महिना अधिकांश इलामेले आकाश खुलेको देख्नै हुन्न । भन्छन्–‘सन्दकपुर जाने मौसम पो भयो त !’

नेपाल र भारतको सीमाक्षेत्र सन्दकपुरको आफ्नै पहिचान छ । आफ्नै समानान्तर दूरीमा सूर्योदय र सूर्यास्त देखिने । अनि दन्ते लहर जस्ता हिमालसँग साक्षात्कार गर्न मिल्ने । इलामको मौसम, न धुम्मिने टुंगो हुन्छ, न त खुल्ने नै ।

मौसम खुलेको बेला सन्दकपुर नगए फेरि कहिले खुल्छ टुंगो हुन्न । इलामको सन्दकपुर गाउँपालिकास्थित माबु र माईमझुवाको संगमस्थलमा पर्छ सन्दकपुर । उचाइले इलामकै अग्लो, तीन हजार छ सय ३६ मिटर ।

इलाम सदरमुकामबाट ४२ किलोमिटरको दूरीमा छ सन्दकपुर । इलाम–बिब्ल्याँटे–रिप्स सडक करीब ८ किमीमात्र पक्की छ । सन्दकपुरका लागि इलाम–बिब्ल्याँटे–माईपोखरी–बुधबारे–कालपोखरी–सन्दकपुर भएर जान सकिन्छ भने अर्को बाटो इलाम–बिब्ल्याँटे–रिप्स स्कुल–सुम्बेक–सुलुबुङ–माबु–कालपोखरी हुँदै पनि पुग्न सकिन्छ ।

उता भारत, यता नेपाल । चिसोमा अलि बढी नै चिसो । अनि बर्खामा मध्यम  मौसम । पूर्वी नेपालको खम्बा सन्दकपुर अनगिन्ति खुराकले प्रख्यात छ । धार्मिक दृष्टिले प्रसिद्ध कनकाईमाईको शीर । इलामका चारमाईमध्ये मुख्य माईमा पर्छ, कनकाई । चिसो मौसममा, हिमालसँग रमाएर रमाइलो साट्न सकिने ।

अनि अँध्यारोमा घाम हेर्न सकिने । सुन्दा जति प्रख्यात छ, सन्दकपुर । पुग्नलाई भने त्यति सहज छैन । भारततर्फ पक्की सडकको व्यवस्था छ । जहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति सहित आधुनिक भवन समेत छन् । तर, यता नेपालतर्फ कच्ची सडक मात्र पुगेको छ । त्यसमा पनि नेपालको बाटो भएर पुग्न सकसपूर्ण छ । ठाडो उकालो बाटो, त्यसमा पनि सीमित गाडी मात्र पुग्न सक्छन् । कतिपय ठाउँमा बाटो अप्ठेरो भएकाले नयाँ सवारीचालक समेत सन्दकपुर पुग्न डराउँछन् ।

 प्रदेश नं. १ को पहिलो सूचीको पर्यटकीय क्षेत्रमा पर्छ, सन्दकपुर । अनि इलामको पनि नामी पर्यटकीय क्षेत्र । तर, प्रवद्र्धन र पूर्वाधार अभावमा अझै सन्दकपुर पछि परिरहेको छ । ‘एकातिर नाजुक बाटो हुँदै जानुपर्ने बाध्यता छ भने अर्कातिर महँगोमा सामग्री खरीद गर्नुपर्ने बाध्यता छ ।’ यातायात व्यवसायी गृष्म सुब्बा भन्छन्, ‘कतैबाट अनुगमन हुँदैन । महँगीले जाइसक्नु छैन ।’ 

मुख्य समस्या त सीमा क्षेत्रका होटलहरूमा छ । जहाँ एकै कप चियाको ५० रुपैयाँ सम्म तिर्नुपर्छ । चिया मात्र होइन, हरेक खाद्यवस्तु छोइसक्नु छैन । यसबारे कसैलाई चासो नभएको व्यवसायी सुब्बा सुनाउँछन् । “हामीले त पर्यटक बोक्ने सवारी नै घोषणा गर्ने भनेर पनि भन्यौं तर हाम्रो क्षेत्रमा कसले मान्ने र ।” सुब्बा भन्छन्, ‘भिरालो बाटो हिँड्नु पर्छ । न डाइभरको सुरक्षाको व्यवस्था छ, न कुनै तालिमको ।’ विकट क्षेत्र भएकाले पर्यटकको सुरक्षाको व्यवस्था समेत नभएको सुब्बाको बुझाइ  छ । नेपालतर्फ सन्दकपुर जति प्रख्यात छ, भारततर्फ अझै बढी प्रख्यात छ । भारत सरकारले सन्दकपुरसम्म पर्यटक पु¥याउन पर्याप्त खर्च गरेको छ भने नेपालतर्फ शून्य छ जस्तै ।

सन्दकपुर क्षेत्रमा पर्याप्त होटल, होमस्टे नभएकाले पनि पर्यटकलाई बसोबासका लागि  समस्या हुने गरेको होटल व्यवसायी एवं पर्यटनकर्मी देवी पौड्यालको भनाइ छ । एकातिर विकट क्षेत्र र अर्कातिर सरकारले प्रत्यक्ष फाइदा लिन नसकेको कारण प्रख्यात नभएको पौड्यालको बुझाई छ ।

‘केही ठाउँमा कर लिने व्यवस्था गर्नुपर्छ । यसले सरकारलाई फाइदा पुग्छ ।’ पौड्यालका अनुसार नेपालतर्फका पर्यटकलाई सन्दकपुर किन आउने भनेर वुझाउन नसक्दा सोचेजस्तो गरी पर्यटक आकर्षित हुन नसकेको हो । भारततर्फ हिमाल हेर्ने ठाउँ नभएकाले यतिकै लागि पनि पर्यटक नेपालतिर आउँछन् । तर, नेपालमा भने प्रशस्त क्षेत्र भएकाले सोचेजस्तो नभएको पौड्यालको तर्क छ ।

 यातायात र होटल नियमन गरेर सहुलियत दरमा सेवा दिन सके अझै धेरै पर्यटक आउन सक्ने उनको दाबी छ । सन्दकपुर मात्र होइन, सन्दपुर गाउँपालिकाभित्र पर्ने अरू पर्यटकीय क्षेत्रको हविगत पनि उस्तै छ । टोड्के झरना, ढापपोखरी, माईपोखरीजस्ता पर्यटकीय क्षेत्रमा पनि सरकारीतवरबाट वास्ता गरिएको छैन । निजी क्षेत्रको चासोलेमात्र केही क्षेत्र चर्चामा आएका छन् भने कहै अझै गुमनाम छन् ।

 सन्दकपुरसँगै जोडिएको डाँडा छिन्टापु यसको अर्को उदाहरण हो । पर्यटकीय दृष्टिले अब्बल मानिए पनि पर्यटकीय चासो नहुँदा आन्तरिक पर्यटक पुग्न गाह्रो छ । जंगलको गोरेटो बाटो, चियानास्ताको समेत व्यवस्था नहुँदा छिन्टापु पुग्न अत्यन्तै कष्टकर छ । स्थानीय प्रतिनिधि आएपछि यी क्षेत्रमा केही विकास हुने अपेक्षा गरिए पनि स्थिति उस्तै छ । भौतिक निर्माणलाई विकास मान्ने प्रतिनिधिको समेत आँखा यी क्षेत्रमा गएको छैन । यता, सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनाल भने पछिल्लो समय विकास गर्दै रहेको दाबी गर्छन् ।

खनालका अनुसार, सन्दकपुर डाँडा पुग्नकै लागि पक्की सडक निर्माणाधीन अवस्थामा छ भने अन्य पूर्वाधार समेत विकास हुँदै गएको छ । सन्दपुर डाँडामा पर्यटककै लागि अवलोकन स्तम्भ निर्माण गरिँदै छ । ‘भारतीय पक्षले अवरोध खडा गरेपनि स्तम्भ निर्माण छाडिएको थियो । तर, पछिल्लो समय पुनः निर्माणमा छौ ।’ खनालले भने, ‘पर्यटकबाट पार्किङ शुल्क लिन थालिएको छ भने होटलमाथि नियमन गर्न थालिएको छ ।’ अबको चार बर्षभित्रमा पक्की सडक सन्दकपुर पुग्ने योजना बनाइएको खनालको दाबी छ । गएको बर्ष मात्रै सन्दकपुर क्षेत्रबाट एक करोड राजश्व लिएको खनालले सुनाए ।
 
सीमामा सकस

गएको बर्ष सन्दकपुर गाउँपालिकाले सन्दकपुरको डाँडामा निर्माण थालेको स्तम्भमा भारतीय पक्षले अवरोध ग¥यो । निर्माणाधीन भवन नबनाउन दवाव दियो अनि लामो समय स्तम्भ निर्माण हुन पाएन । सीमा क्षेत्रमा परेको भन्दै भारतीय सीमा सुरक्षा बलले भवन निर्माण गर्न दिएन ।

नेपालतर्फ सुरक्षा व्यवस्था कमजोर हुँदा सीमाका बासिन्दा भारतीय सुरक्षाकर्मीको अत्याचार सहन समेत विवश छन् । सन्दकपुरको दशगजा क्षेत्रभित्रै भारतीय पक्षले पक्की भवन निर्माण गरेको छ भने यतापट्टि नेपाली भूभागमा भवन बनाएपनि भारतीय सुरक्षाकर्मीले नियमित निगरानी गर्छन् ।

यतिमात्र होइन, भारतीय सुरक्षाकर्मी वर्दीमै नेपाली भूभागमा पसेर नेपाली नागरिकलाई हप्कीदप्की र दुव्र्यवहार गर्ने गर्छन् । पछिल्लो समय नेपाली क्षेत्रमा सुरक्षा बढाएपनि भारतीय क्षेत्रमा जस्तो बाक्लो उपस्थिति छैन ।

यसको प्रत्यक्ष मारमा परेका छन् स्थानीयबासी र पर्यटक । भारतीय सुरक्षाकर्मीले सन्दकपुरको डाँडा जाने क्षेत्रमा तस्बिर लिन नसकिने, वाक्लो उपस्थिति गर्न नहुने भन्दै निगरानी गर्छन् । यसले गर्दा पर्यटक सुरक्षित महसुस गर्दैनन् । नेपाली भूभागमा पर्ने सन्दकपुरमा भारतीय सुरक्षाकर्मीकै दादागिरी चल्नाले कहिलेकाही भारतीय पक्ष र नेपाली पक्षबीच समस्या हुने गरेको छ । गएको बर्ष सन्दकपुरको चुचुरोमा नेपाली झण्डा गाड्न गएका नेपालीलाई भारतीय सेनाले अवरोध गर्दा झडप भएको थियो । वाक्लो उपस्थितिमा नेपाली विद्यार्थी जानेक्रममा भारतीयले निगरानी गर्दा समस्या पछिल्लो समय भने यो समस्या केही हदसम्म सुल्झेको नेपाल पक्षको दाबी छ । सन्दकपुरको चुचुरामा भवन निर्माणको क्रम चल्न थालेकाले केही हदसम्म सीमाका विषय  मिलेको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालको भनाइ छ । 

ताजा खबर