म अहिले सुत्दा एउटा आँखा खोलेर सुत्छु

२०७७ माघ ४ आइतबार १२:३५:०० मा प्रकाशित

अब अमेरिकाको कुनैपनि दिनमा गोरा ईतरको बत्ती झ्याप्प निभ्न सक्छ !

सन् २०१३, अक्टोबर ३ को मध्यान्ह। बिस्तारै चीसो हुन थालेको वासिङ्गटन डी.सी. मा घाम ताप्न रमाईलो लाग्ने बेला थियो।यो पंक्तिकार युनियन स्टेशनमा न्यू जर्सी जाने एम्ट्रेक्सको रेल टिकट काटेर बाहिरको चहलपहलमा मग्न थियो। रेल गुड्न अझै दुई घण्टा बाँकी हुँदा मोबाईल खेलाएर बस्ने बाहेक खासै काम पनि थिएन। अचानक कतै टाढाबाट पटटट अनि ढ्याङ्ग ढ्याङ्ग गोली चलेको आवाज आयो।

युनियन स्टेशन र अमेरिकी संसद भवन परिसर क्यापिटोल हीलको दूरी हिंडेर पांच मिनेट पनि छैन। एक हूल मान्छेहरु चिच्याउँदै आए। "क्यापिटोलमा गोली चल्यो, मान्छे मर्यो," "टेरोरिस्ट अट्याक भयो," "दीस कुड बी अन्यादर नाईन इलेभेन," आदि ईत्यादि।

फुर्सदिला मान्छेहरु धमाधम संसद भवन तिर कुद्न थाले। आम मान्छेको स्वभाव नै हो, खतरा छ भन्ने जान्दाजान्दै पनि भीड त्यतातिर बढिहाल्छ। आफ्नै आँखाले हेर्ने उत्सुकता जो हुन्छ! पंक्तिकार पनि अपवाद थिएन। भीडको पछि लागेर क्यापिटोल हील पुगेर मात्र उसले सम्झिने गरी स्वास फेर्यो।

भएको के रहेछ भने एउटा कालो गाडीले १६०० पेन्सिलभेनिया एभेन्यु स्थित राष्ट्रपति भवन "व्हाईट हाउस" को सुरक्षार्थ ठड्याइएको एउटा तगारोमा ठक्कर दिएछ। सुरक्षाकर्मीहरुले गाडी रोक्न दिएको आदेश र ईशाराको अवहेलना गर्दै त्यो गाडी क्यापिटोल हील तिर हुंईकिएछ। "सिक्रेट सर्भिस" भनिने सेतो घरका सुरक्षाकर्मीहरु त्यो गाडीको पछि लागेछन्। क्यापिटोल हील पुगेर त्यो बतासिएको कालो गाडीले अर्को तगारोलाई ठक्कर दिएर एउटा सुरक्षाकर्मीलाई झन्डै ठोकेछ। गोली त्यसपछि चलेको रहेछ।

सुरक्षाकर्मीले चलाएको गोलीले त्यो कालो गाडी छियाछिया मात्र भएन, चालक ३७ बर्षिया मरियम केरीलाई सातवटा गोली लाग्यो। उनी ठाउँको ठाउँ ठहरै भईन्। गाडीमा उनकी ३ बर्षे छोरी पनि रैछिन्। उनलाई केहि भएन। पेशाले दन्त्य चिकित्सक मरियम आफ्नी छोरीको उपचारका लागि वासिंगटन आएकी रहिछन्। तर उनी "बाईपोलर डिसअर्डर" नामको एक मानसिक रोगले ग्रस्त रैछिन्। आफ्नो गाडी ठोक्किएपछि उनलाई तत्काल रोकिएर सुरक्षाकर्मीहरुसंग कुरा गर्ने आँट भएन। उनी भागिन्। त्यसैले तातो गोली खाएर मरिन्।

मरियम श्याम बर्णकी एक आमा थिईन्। पंक्तिकार आफ्नो रेल चढ्न युनियन स्टेशन फर्किंदा उसले बाटोमा गाईङ्गुईं सुन्यो, "त्यो केटी गोरी हुँदि हो भने यसरी गोली चल्ने थिएन।" बिडम्बना भनौं कि के? त्यो बेला अमेरिकाको सर्वशक्तिमान राष्ट्रपति पदमा काला रंगकै बाराक ओबामा आसीन थिए।

"एल प्लुरुबिस उनम।" ल्याटीन भाषामा यसको अर्थ हुन्छ, अनेकतामा एकता। यो वाक्य अमेरिकाको निशाना छापमा अंकित छ। तर जनताको दैनन्दिनीमा यो अमेरिकाको देखाउने दांत हो। खाने दांत अर्कै छ। जो अहिलेसम्म लुकेर बसेको थियो।

डोनाल्ड ट्रम्पले यसपटक त्यो लुकेको दाँतको सार्वजनिक प्रदर्शन गरिदिए। रंगभेद अमेरिकाको समस्या होईन। संस्कार हो। समस्याको समाधान हुन्छ। संस्कारको हुँदैन। संस्कार परिवर्तन हुनसक्छ। तर त्यसकालागि समय चाहिन्छ। शायद अमेरिकामा त्यो समय आईसकेको छैन। सन् २००८ मा काला रंगका राष्ट्रपति बराक ओबामाको उदय नहुँदो हो त, गोराहरुको तथाकथित अभिमानमा शायद यस्तो झंझावात आउने थिएन।

ओबामाका पिता अफ्रिकी मुलुक केन्याका काला मुसलमान भएकै कारण उनी "शैतानका प्रतिनिधि" हुन् भन्ने षड्यन्त्रको सिद्दान्त त्यसैबेला प्रतिपादित भएको हो। यसभन्दा एक कदम अगाडि बढेर हालका रास्ट्रपति डोनाल्ड ट्रम्पले स्वेत अधिनायकवादी समूहहरुको बलमा "ओबामा अमेरिकामा जन्मिएका नै होईनन्, अमेरिकी संबिधान अनुसार बिदेशमा जन्मिएको मान्छे राष्ट्रपति हुन् पाउंदैन," भन्ने "बर्थर मुभमेन्ट" नामको  अर्को मिथ्या अभियान नै चलाए। ओबामाले सन् २०१३ मा दोश्रो कार्यकाल समेत जितेपछि गोरा नश्लवादीहरुको धैर्यको बाँध नै फुट्यो।

यसले डोनाल्ड ट्रम्प नामको एक सिद्दान्तच्यूत स्वार्थी व्यापारीलाई अमेरिकी राजनीतिको केन्द्रमा ल्याईपुर्यायो।   यसअघि, यो संस्कार साना साना कुरामा प्रकट हुन्थ्यो। डोनाल्ड ट्रम्पलाई ‘धन्यवाद’, उनले यसपटक अमेरिकाको नक्कली आवरण च्यातेर सक्कली संस्कार देखाइदिए। फरक यत्ति हो , उनले देखाउन अमेरिकालाई खोजेको थिए। देख्यो सारा विश्वले।

डोनाल्ड ट्रम्पले अमेरिकी सत्ताको बागडोर सम्हाल्नु अघि पनि झन्डै एक सय पचास श्वेत आतंककारीहरुको समूह अमेरिकामा सकृय थियो भन्ने कुरा सदर्न पोभर्टी ल सेन्टर (एस. पी. एल. सी.) को एउटा अद्ध्यनले पुष्टि गर्छ। डोनाल्ड ट्रम्पको उदयपछि रातारात "प्राउड ब्वाईज" जस्ता नाजीवादी र क्”युएनन्” नामका उग्र दक्षिणपन्थी स्वेत संगठनहरु रातारात सशस्त्र रुपले प्रकट भए।

सन् १९९५ मा तिमोथी मक्भे नामको एक पूर्व सैनिकले ओक्लोहामा राज्यमा गरेको बिस्फोटबाट २५ नाबालिग सहित १६८ अमेरिकी नागरिकको मृत्यु भयो। त्यसपछि, सन् २०२० सम्म गोरा नश्ल वादीहरुले अमेरिका भित्रै १ हजार ५ सय ४१ ओटा ठूला साना आतंकी गतिविधि गरेको तथ्य एफ बी आई (अमेरिकाको संघीय अनुसन्धान ब्यूरो) को वेब साईटमा उल्लिखित छ। यो अंकगणितको डरलाग्दो पक्ष हो, डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथ लिएको ३४ दिन भित्र यस्ता एक हजार थप घटना एफ बी आईमा दर्ता भए।    

बाइडेनका चुनौती

जनवरी २० बाट अमेरिकाको लगाम समात्ने ७८ बर्षे बुढा जो बाईडेनलाई सजिलो छैन। डोनाल्ड ट्रम्पले चार बर्ष चढेको अमेरिका नामको घोडा अब नियन्त्रण बाहिर छ। एकातिर बाइडेनलाई घरभित्रको प्वाल टाल्ने चुनौति छ, अर्कोतिर विश्वलाई प्रजातन्त्रको पाठ पढाउने अमेरिकाको पारम्परिक बिदेश नीतिलाई निरन्तरता दिने नैतिक साहसको खडेरी छ। बाईडेनले अब उत्तर कोरियाका कीम उन जोंग, ब्राजीलका बोल्सेनारो, फिलिपिन्सका डुटेर्टे अथवा भारतका नरेन्द्र मोदीलाई कुन मुखले प्रजातन्त्रको पाठ पढाउने? यी सबैले उनलाई एक फ़ासिस्टको उत्तराधिकारी भन्दै मुखमा बुजो लगाउने मौका पाएका छन्।

उत्तर कोरियाका अधिनायकले "अब हामी फेरि मिसाईल परिक्षण गर्छौं" भनेर बाईडेनको स्वागत गरिसके। फिलिपिन्सका डुटेर्टेले उनलाई भन्नेछन्, "मैले त लागू पदार्थका व्यापारीलाई खोजी खोजी मारें। तिमीहरुले जस्तो संसद्मा मान्छे मारेको छैन।" कथं जो बाईडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भयो र बाइडेनले कश्मीर र धारा ३७० को कुरा उठाएभने मोदीले भन्नेछन, "तिमीहरुको जनसंख्या विश्वको अनुपातमा ४ प्रतिशत मात्रै छ। तिम्रा देशका कालाहरू जति कलेजमा छन्, त्यो भन्दा बढी जेलमा छन्। सारा संसारमा जति वकील छन्, त्यो भन्दा बढी वकीलको संख्या तिम्रै देशमा छ। तिम्रो देश झगडियाले भरिएको छ। मैले ट्रम्पसंग हात मिलाएँ, हो, तर मेरो देशका मुस्लीम भन्दा तिम्रो देशका काला र आप्रवासीहरु दोश्रो दर्जाको नागरिकका रुपमा बाँचेका छन्।पहिले आफ्नो घर सफा गर।"

नेटो संगठनसंग आबद्द युरोपेली राष्ट्रका प्रमुखहरुले डोनाल्ड ट्रम्पको नाम नै नलिई क्यापिटोल हील काण्डको भत्सर्ना गरिसके। यसको शोधभर्ना गर्ने जिम्मेवारी अब जो बाईडेनकै हो।

क्यापिटोलको ताण्डव

सन् २०२० मे महिनाको कुरा हो। अमेरिकाको माथिल्लो मध्यपश्चिमी राज्य मिनेसोटाको मिनियापोलिस सहरमा एक अश्वेत ४७ बर्षिय मान्छे, जर्ज फ़्लोयड २० डलरको नक्कली नोट विनिमय गरेको शंकामा प्रहरी फन्दामा पर्यो। प्रहरीले सामान्यत: शंकास्पद जो सुकैलाई हात पछाडि पारेर हत्कडी लगाउने अधिकार पाएको छ अमेरिकामा। तर यो मान्छेलाई हत्कडी लगाईसकेपछि प्रहरीले सुरक्षित रुपमा आफ्नो गाडीमा हुलेन। सडकमा सुताएर झन्डै नौ मिनेट घुँडाले उसको घाँटी अँठ्यायो। जर्ज फ़्ल्योड "मलाई सास फेर्न गाह्रो भयो," भन्दै आर्तनाद गर्दैरह्यो। प्रहरीले सुनेको नसुन्यै गर्यो। जर्ज मर्यो !

गोरा पुलीसले गोरा डाँकालाई पनि अदालत पुर्याउनु अघि "सर" भन्छ।

यो सत्य हो।

त्यसको पृष्ठभूमिमा शुरु भएको आन्दोलनको नाम थियो, "ब्ल्याक लाइभ्स म्याटर,”  अर्थात् , “कालाहरुको जीवनको पनि अर्थ छ।" यो संकथन् पहिलेदेखिनै चर्चामा थियो। तर गोरा प्रहरीहरुले जर्ज फ़्ल्योडको गैर न्यायिक हत्या गरेपछि यसले आन्दोलनको रुप लियो।  देशव्यापी दावानल उब्जियो। मिनेसोटाबाट शुरु भएको आन्दोलन वासिङ्गटन डी.सी आईपुग्यो। आन्दोनलको लक्ष क्यपिटोल हीलमा पुगेर प्रदर्शन गर्ने थियो। खै किन हो कुन्नि, कालाहरुले बर्गर खाएर छोडेको डकार पनि सत्तासीन अथवा नसीन गोराहरुलाई बारूदले भरेको बम जस्तै लाग्छ। राष्ट्रपति ट्रम्पले तुरुन्तै आफ्नो सर्वप्रीय ट्वीटरमा प्रतिक्रिया दिए, " त्यहाँ आतंककारीहरुले एउटा उपद्रव गरे, अर्को गोली चल्छ।"  उनले एक घण्टा भित्र हजारौं सुरक्षाकर्मी खटाए। सवाल कालाहरुको जो थियो !

जुलुश आउनु अघि हजारौंको संख्यामा त्यहाँ सुरक्षाकर्मी तैनाथ गरियो। गोरा ट्रम्प अमेरिकाका राष्ट्रपति थिए। राज्य शक्तिको नाममा उनले आफ्नो औकात देखाए।

जनवरी छ २०२१ मा उनी मरे। उनको समाधिस्थलमा उनी मरेको मिति जे जेसुकै होस्, उनको "हेड स्टोन" मा ०१/०६/२०२१ लेखिनु जरुरी छ। किनभने, उनको राजनैतिक स्खलन संगसंगै अमेरिकाको २ सय ४५ बर्ष लामो प्रजातन्त्रको धरोहर उनले निमेषभरमै धुलिसात तुल्याईदिए।

के डोनाल्ड ट्रम्प समर्थक सुरक्षाकर्मीहरुको सहयोग बिना स्वेत 'सुपर्मेसिस्ट'हरुको हुलले प्रहरी घेरा तोड्न सम्भव थियो? क्यापिटोल हील पुलीसको आफ्नै साथीलाई मर्न दिएर उपद्रवीहरुलाई ढोका खोलिदिने अर्को सुरक्षाकर्मी को थियो? संविधानले आग्रह गरे अनुसार आफ्नो भूमिका निर्वाह गर्न पुगेका ट्रम्पका "साईड किक" उपराष्ट्रपति माईक  पेन्सलाई "झुन्ड्याउनु पर्छ" भन्दै चोटाकोठा चाहार्ने भीड कसको थियो? क्यापिटोल हीलका हमलावारहरुसंग "सेल्फी" खिच्ने सुरक्षाकर्मीहरुको दायित्व र ईमान्दारी ट्रम्पसंग थियो वा राज्यको कानूनसंग?

धेरैलाई लाग्छ, त्यो भीड डोनाल्ड ट्रम्प समर्थकको थियो। होईन। जसरी डोनाल्ड ट्रम्प आफू बाहेक अरु कसैलाई पत्याउंदैनन्, त्यसैगरी ट्रम्प समर्थक पनि उनलाई पत्याउंदैनन्।

ट्रम्पसंग राष्ट्रीय मुद्दालाई सम्बोधन गर्ने कुनै दृष्टि थिएन। तर उनीसंग काला रंगका राष्ट्रपति बाराक ओबामाको आठ बर्षे कार्यकाल देखेर बिक्षिप्त भएका गोराहरुको मनस्थितिलाई राजनीतिक मुद्रामा भजाउने संकीर्ण व्यापारिक रणनीति अवश्य थियो। कट्टर गोराहरु आफ्नो छालाको रंग नमिल्ने आप्रवासीलाई देखिसंहदैनन्। त्यसैले ट्रम्पले आफ्नो उम्मेदवारीको घोषणा संगै अमेरिकाको आप्रवासन नीति बिरुद्द शंखघोष गरे। यही संकथनले उनलाई चुनाव जितायो।

ट्रम्प र उनका समर्थकहरु बीच एउटा गजबको समानता छ। उनले आफ्नो "रियल स्टेट" को साम्राज्य दैनिक ज्यालादारी मजदूर आप्रवासीहरुकै पसीनाको शोषण गरेर खडा गरेका हुन्। उनका समर्थकहरु पनि उधारो खानुपर्यो भने गोराको व्यापारमा जांदैनन्। उनीहरु "व्हाट्स अप बड्डी?" भन्दै आप्रवासीकै स्टोरमा चुरोट माग्न आउंछन्। अनि मौका परे रातको अँध्यारोमा उनैलाई लुट्छन पनि।

जे जे नाम दिएपनि, गोराहरुको नाममा मेडियाले चर्चामा ल्याईदिएका यी संगठन यथार्थमा गुण्डा र लुटेराहरुको हूल मात्रै हो। अमेरिकामा "अमिगो शपिंग" भन्ने एउटा कथ्य खुब चल्छ। अमिगो, अर्थात् स्प्यानिश भाषा बोल्ने मेक्सिकन लगायत दक्षिण अमेरिकाबाट आएका पसीना बगाउने मजदूर आप्रवासीको भाषामा "साथी।" यस्ता "साथी" हरुसंग कागजपत्र हुँदैन। दिनको अठार घण्टा काम गर्छन। रेश्टुरेण्टमा, खेतमा, गोराहरूले नरुचाएको कुनै पनि "डर्टी" र "डेन्जरस" उद्दोगमा।

शुक्रबार एक हप्ता काम गरेको आधारमा आफ्नो पारश्रमिक नगदमा बुझ्छन। घर जाने बाटोमा कोरोना बियर अनि टाको-टकिटो भनिने रोटीमा बेरेको मासु तरकारी बुजो हाल्छन। ट्रम्पको झण्डा बोकेर क्यापिटोल कब्जा गर्नेहरु जो थिए, उनीहरु अँध्यारो गल्लीमा "अमिगो" हरुलाई कुरेर बस्छन। भेट्ने बित्तिकै दुई मुक्का, चार लात, अमिगोको खल्तीमा भएको मेहनतको पैसा खल्लास ! यीनै हुन् डोनाल्ड ट्रम्पका समर्थक हरु।

डोनाल्ड ट्रम्पले यी गोरा लुटेराहरुलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याईदिए। यी लुटेराहरुले ट्रम्पलाई विभाजित अमेरिकाको स्वेत समूहको बिम्बको रुपमा प्रयोग गरे। एउटाले चुनाव अघि प्रयोग गर्यो, अर्कोले चुनाव पछि। यो संस्कारजन्य गतिरोधको चेपमा परेर अहिले अमेरिकी प्रजातन्त्र अनि यस अन्तर्गतको प्रणाली घाईते भएको छ।         

एक्लो ट्रम्प

डोनाल्ड ट्रम्प नामका एक सिद्दान्तहीन, स्वार्थी अनि "नार्सिसिस्ट" (आफूलाई मात्र राम्रो र असल देख्ने, अर्काले नराम्रो भनिदिए मर्न अनि मार्न तयार हुने प्रवृत्ति )ले न्यूयोर्कको ट्रम्प टावरमा जडेको सुनौलो बिद्दुतीय भर्यांगबाट ओर्लेर आफ्नो उम्मेदवारीको घोषणा गर्दा जे भनेका थिए, त्यसैबाट स्पस्ट हुन्थ्यो, उनी अमेरिका जुटाउन होईन, फुटाउन आएका हुन्।

उनको जित ऋणात्मक शक्तिको उपज थियो। उनको बिजयले अमेरिका मात्र होईन, विश्वभरी नै गोरा अनुदारवादीको तिकडम बिस्तार भएको छ। तर उनले त्यो भन्दैमा अमेरिकामा पुस्तौं देखि आफ्नो रगत पसिना बगाएर बसेका काला, गहुंगोरा, राता, पहेंला आप्रवासी अमेरिकनहरू सुतुरमुर्ग जस्तो बालुवामा टाउको गाडेर बस्नेछैनन्।

डोनाल्ड ट्रम्प एक्लो हुँदैछ। आजै ट्वीटरमा उसको पूर्व समर्थक नीक फ़ोण्टेस भन्ने मान्छेको कुरा पढें। ग्रोपर आर्मी नामको संगठनको कार्यकर्ता उ भन्छ, "जनता उसको लागि मर्न तयार थिए। तर यो मान्छेले हामीलाई न यता न उताको पारिदियो। लाज लाग्नु पर्ने हो उसलाई।"

मागा एक्टिभिस्ट भन्ने ट्वीटर ग्रुपमा कसाण्ड्रा फेयार्ब्यांक्स भन्छिन, "जसले सन्कायो, उसैले लाजमर्दो पार्यो।"

ट्रम्पको बिरासत

सत्ताच्यूत हुनुअघिको क्षणले हरेक सत्तासीनको मन भारी तुल्याउँछ। ट्रम्प नामका स्व उपासक लाई झन् कस्तो भएको होला? त्यसैले सेतो घर छोड्नु एक साता अघि उनी हुर्हुराउँदै मुलुकको दक्षिणी सिमानामा बन्दैगरेको पर्खाल निरिक्षण गर्न पुगे। उनलाई थाहा छ, अब उनको केही लाग्दैन।

उनको बिचारमा उनले पर्खाल लगाएर अमेरिकालाई सुरक्षित तुल्याए। उनले त्यहि भने। तर पर्खालले देश वा प्रणाली सुरक्षित हुँदो रहेनछ। यो कुरा जनवरी छ तारिक, बुधबार उनका उग्र समर्थकले क्यापिटोल भवनको पर्खाल जुन जोशका साथ नाघे, त्यसैबाट पुष्टि भएको छैन र?

ट्रम्पको बिरासत अब ईतिहासमा अराजकता, घृणा, रंगभेद, स्वार्थ, अधिनायकवाद, विभाजन र अमेरिकाको बिश्वब्यापी सामरिक बिचलनको आधारमा लेखिनेछ।    

हिटलरको अन्त्यकाल पनि यस्तै थियो।

सन् १८१४ मा, अमेरिका स्वतन्त्र भएको ३८ बर्ष पछि सम्म पनि बेलायतीहरुले अमेरिकालाई गरिखान दिएका थिएनन्। अमेरिकाको व्यापारिक मार्ग समुद्र थियो, त्यो कब्जा गरेका थिए। राष्ट्रपति जेम्स म्याडिसनले सनकको भरमा युद्दको आव्हान गर्दा क्यानडामा रहेका बेलायति सैनिकले वासिङ्गटन डिसी आएर शहर नै जलाइदिए। क्यापिटोल हील त्यो बेला बेलायतीले तहसनहस पारे। यसपाली डोनाल्ड ट्रम्पले।

अमेरिकाको ईतिहासमा एउटै कार्यकालमा दुईपटक महाभियोग लागेका राष्ट्रपतिका रुपमा उनको ईतिहासमा अब कहिल्यै नमेटिने खत लागिसक्यो। उनले अबका राष्ट्रपति जो बाईडेनलाई काम गर्न दिंदैनन्।

ट्रम्पले मीटलोफ (पाउरोटीको आकारमा पकाएको मासुको चोक्टा) मा गोलभेडाको झोल खाएर छोडेको अपानवायूलाई  अत्तर भन्दै आफ्नो फोक्सो भर्ने विदेश मन्त्री माईक पोम्पियोले जाँदाजाँदै बाईडेनको परराष्ट्र नीतिमा तगारो हालिसके। उनले क्यारेबियनको क्यूबालाई आतंककारीका प्रायोजक भनेर घोषणा गरिदिए। ट्रम्प अघिका ओबामाले क्यूबालाई मूलधारमा ल्याउन आठ बर्ष गरेको मिहेनत उनको एउटा घोषणाले पुरानै समय चक्रमा फर्किएको छ। ईरानलाई आणविक अस्त्र उत्पादन गर्न बाट रोक्न बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले पहिले नै खारेज गरिसके।  अब ईरान समर्थित यमनका बिद्रोहीहरुलाई आतंककारी घोषणा गरेर उनले बाईडेनको बाटो दूरूह मात्र बनाएनन्, त्यो क्षेत्रको शान्ति प्रक्रियालाई नै अँध्यारो सुरुंगमा हुलिदिए।

ट्रम्पलाई अमेरिकाको चिन्ता छैन। उनलाई आफ्नो कुरूप अनुहार ऐनाले दुरुस्त देखाइदिओस भन्ने चेष्टा छ। ऐना फ़ुटिसक्यो। अब जो बाईडेनले त्यो फुटेको ऐनामा नाङ्गो पैताला टेकेर अमेरिकाको गुमेको प्रतिश्ठा फर्काउने चुनौती छ।

बाईडेन सेतो घरमा सुरक्षित हुनेछन्। तर अब अमेरिका काला, गहुँगोरा, राता र पहेंला अमेरिकीहरु मात्र होईन, आफ्नो भविष्य खोज्दै आएका आप्रवासीहरुको ब्यापार र जीवनमा चुनौती छ। अमेरिकी प्रजातन्त्रलाई हिंसाको च्यादरले छोप्दैछ।

म त अबदेखि एउटा आँखा खोलेर सुत्ने हो। (पत्रकार राजेश मिश्र https://psjtv.com का संस्थापक सम्पादक हुन् । उनी हाल अमेरिका प्रवाशमा छन्) 

ताजा खबर