हारेर मैदान नछोडेका हिरो– मन्देकाजी 

२०७७ माघ २ शुक्रबार १२:१९:०० मा प्रकाशित

हारेर थाकेका मानिसहरुलाई प्रेरणा दिने प्रचलित एउटा भनाइ छ– जित्छ उसले जसले हार्न जान्दछ ! अर्थात् हार नै जितको शिक्षा हो । संसारमा अनेकपटक हारेर नथाकेका र अविष्मरणीय बिजय हासिल गरेका व्यक्तिहरुको कैयौं उदाहरण पाउन सकिन्छ । यिनै उदाहरणहरुबाट मानिसहरुले निष्कर्ष निकालेका होलान्– ‘जीवनमा हारिएन भने जीतको भोक नै लाग्दैन !’

नेपाल स्पोर्टस् जर्नलिस्ट फोरम (एनएसजेएफ) स्पोर्टस अवार्डमा पुरुष तर्फ वर्षको उत्कृष्ट खेलाडी घोषित मन्देकाजी श्रेष्ठको कथाले यी भनाइहरुलाई पुष्टि गर्छ । कराँते खेलाडी मन्देकाजी अहिले करियरको उच्चतम विन्दुमा छन् । घरेलु मैदानमा गत वर्ष भएको १३ औं सागमा कराँतेको एकल र टिम कातामा गरी दुइ स्वर्ण जितेपछि उनको मुहारमा आएको चमक अहिले पनि उत्तिकै तेजिलो छ । यो तेजिलो मुहारका लागि मन्देकाजीले धेरै गहिरो अँध्यारो यात्रा छिचोलेका छन् ।  

के हो अँध्यारो यात्रा ?

२०५० सालतिरको कुरा हो । त्यतिवेला मन्देकाजी त्यस्तै आठ नौ वर्षका थिए । भक्तपुरको ठिमीमा जन्मिएका मन्देकाजीको घर नजिकै एउटा कराँतेको डोजो थियो । साथीहरुसँग गुच्चा खेल्ने क्रममा अक्सर उनी पर्खालको प्वालबाट डोजोभित्र   नियाल्थे । यसरी नियाल्दा नियाल्दै   थाहै नपाइ उनले कराँतेलाई प्रेम गर्न थालिसकेका थिए । एकदिन पछाडिबाट कसैको आवाज आयो– ‘के तिमी पनि कराँते खेल्छौ त ?’

त्यो आवाज थियो उनका बुबाको । बुबाको प्रश्न राम्रोसँग नटुंगिदै मन्देकाजीले फुर्तिसाथ जवाफ फर्काए– ‘खेल्छु ।’ यहिँबाट सुरु भयो मन्देकाजीको कराँते यात्रा । 

उनले कराँते खेलेको २७ वर्ष भइसक्यो । राष्ट्रिय प्रतियोगितामा टिम, एकल काता र फाइटमा तीन स्वर्ण जित्ने कराँते खेलाडीको कँर्तिमान मन्देकाजीकै नाममा दरिएको छ । त्यसो भए उनले साग खेल्न किन यति लामो समय कुर्नु पर्यो त ? ३५ वर्षको उमेरमा उनले स्वर्ण पदक जिते, जवकी यो उमेरमा प्राय खेलाडी सन्यास नजिक हुन्छन् । धेरैले त सक्रिय खेल जीवनलाई विश्रामनै दिइसक्छन् । 

दशौं साग, कोलम्बो श्रीलङका 

दशौं सागका लागि मन्देकाजी छनोट खेल खेल्दै थिए । तर छनोट खेल उनका लागि सुखद रहेन । सेमीफाइनलमा उनी हारे । पदाधिकारीसँग पनि केही कुराहरुमा भनाभन भयो । त्यसैले उनी सहित केही खेलाडी अनुशासनको कारबाहीमा पनि परे । पछि फुकुवा भयो । मन्देकाजी त्यो समय आफ्ना लागि निकै कठिन भएको बताउँछन् । नजिकका साथीभाइले पनि साथ  छोडे । खुट्टा तान्नेहरु धेरै आए । एक समय कराँते नै छोड्ने बारे सोचेका पनि थिए । तर परिवार र हाल कराँतेका प्रशिक्षक रहेका साग स्वर्ण विजेता दिपक श्रेष्ठले उनलाई हिम्मत हार्न दिएनन् । सोही घटनाका कारण मन्देकाजीले केही राम्रा प्रतियोगिता गुमाए तर जीवनभर काम लाग्ने पाठ पनि सिके ।

 उनी भन्छन्– ‘खेलाडी मात्र होईन कुनै पनि मानिसले आवेगमा आएर केही पनि निर्णय गर्नु हुँदैन रहेछ ।’ उनले यहिबाट शिक्षा लिए,  रिस माथिको नियन्त्रण र संयमता असल ब्यक्तिका महत्वपूर्ण गुण हुन् । 

एघारौं साग र बंगलादेश  

एघारौं सागमा देशको प्रतिनिधित्व गर्ने पक्का थियो । सागकै तयारीका लागि १५ जना खेलाडीलाई थाइल्यान्डको बैङकक पठाइएको थियो । तर सागको मिति नजिकै गर्दा नेपालबाट खबर आयो दश जना खेलाडीका लागि मात्र कोटा आएकाले अरुलाई फिर्ता पठाइदिनु । फिर्ता हुने खेलाडीमध्ये एक थिए मन्देकाजी । सागको नजिक पुगेर पनि प्रतिस्पर्धा गर्न नपाएका मन्देकाजीको मन साह्रै दुख्यो ।  जीवनको सवैभन्दा पिडादायी क्षण उनको त्यही नै हो । त्यसपछि उनले धेरै रात रोएर विताए । लाग्यो खेल जीवन अब यहि रोकिन्छ । तर मन्देकाजी खहरे खोला थिएनन् । अप्ठ्याराहरु छिचोल्दै आफ्नै गतिमा अघि बढ्ने नदी जस्तै हुन् उनी । त्यसैले त उनी गन्तब्यमा पुग्न सफल भए ।

१२ औं सागमा कराँतेनै समावेश गरिएन । यसले उनलाई अझ बढी निराश बनायो । बढ्दो उमेरले पनि मन्देकाजीलाई कराँतेबाट टाढा हुनु पर्छ भन्ने संकेत गर्दै थियो । तर उनले देखेको सपना सपनामै विलिन हुने खालको थिएन । आफूभित्र रहेको धैर्य गर्न सक्ने शक्तिले उनलाई अझ बढी मेहनत गर्न प्ररित गर्याे । 

नेपालमानै भएको १३ औं सागमा मन्देकाजीले दुइ विधामा प्रतिस्पर्धा गरे– एकल र टिम काता । सागमा डेब्यु गरेका मन्देकाजीलाई राम्रोसँग थाहा थियो मेरो लागि यहिनै अन्तिम मौका हो । आत्मविश्वाशी  पनि थिए उनी स्वर्ण पदक जित्छु  भन्नेमा । नभन्दै  मन्देकाजीनै १३ औं सागमा नेपालका लागि स्वर्णको खाता खोल्ने पहिलो खेलाडी बने ! सोही दिन ब्यक्तिगत दोस्रो स्वर्ण जितेपछि मन्देकाजी देशको स्टार खेलाडीमा परिणत भए । जसरी कोइलालाई खारेपछि हिरा निस्कन्छ, त्यसरीलै निस्किएका हिरा हुन् मन्देकाजी ।

मन्देकाजीले यति लामो समय धैर्य गरे की त्यसको हिसाब स्वयम् समयले पनि गर्न सक्दैन । राष्ट्रिय र अरु अन्तर्राष्ट्रिय स्तरमा धेरै सफलता हात पारेपनि उनी खासै नोटिस भएका थिएनन् ।  १३ औं सागपछि संचारमाध्यमको अत्यधिक नोटिसमा उनै   छन् । उनी मार्फत कराँतेले पनि पुनः आफ्नो ‘चार्म’ फर्काउने मौका पाएको छ ।  

गुरु दिपक श्रेष्ठलाई आदर्श मान्ने मन्देकाजी आज नयाँ पुस्ताका आदर्श मानिन्छन् । साग स्वर्ण जितेपछि उनको  जीवनशैली नै परिवर्तन भएको छ । मन्देकाजी भन्छन्– ‘पहिला म जहाँ जसरी पनि हिँडडुल गर्न सक्थें । जे मन लाग्यो त्यहि खान्थे । तर अहिले हरेक पाइलामा सम्हालिनु पर्छ । मैले बोल्ने कुराहरुले ठूलो अर्थ राख्न थालेको छ ।  मेरो बोली विक्न थालेको छ । मानिसहरुले मलाई चिन्छन्, फोटो खिच्न आउँछन् । अटोग्राफ लिन्छन् । पहिलो खुट्टा तान्नेहरु अहिले हात मिलाउन   आउँछन् ।  एउटा खेलाडीले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने महसुस भइरहेको छ ।  सवैभन्दा धरै माया राष्ट्रको झण्डा बोक्नेले पाउने रहेछ ।’

एकवर्ष भयो मन्देकाजीलाई फुर्सद नभएको । निरन्तर संचारमाध्यममा अन्तर्वार्ता, सम्मान, प्रतियोगितामा अतिथि यसरीनै वितिरहेको छ उनको दैनिकी । नगद पुरस्कार पनि उनले धेरैनै प्राप्त गरे । पुरस्कार वापतको पैसा केमा खर्च गर्नुभएको छ त भन्ने प्रश्नमा उनी हाँस्दै जवाफ फर्काउँछन्– ‘अरु वेलापनि मेरो खर्च धेरै नै हुन्छ । तर पसिना बगाएर कमाएको पैसा खर्च गर्न धेरै लोभ लाग्ने रहेछ ।’

पुरस्कार पाएको पैसा भविष्यमा कराँते एकेडेमी खोल्न प्रयोग गर्ने उनको योजना छ ।  

समाज सेवामा पनि उनको रुची छ । कोरोना भाइरस संक्रमणका कारण देश लकडाउनका गएका वेला उनी निरन्तर राहत बाँड्ने काममा ब्यस्त थिए । आगमी दिनमा पनि जारी रहने उनी बताउँछन । भन्छन्– ‘समस्यामा रहेका मानिसहरुलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ ।’  

३६ वर्ष पुगिसके मन्देकाजी । सक्रिय खेल जीवनलाई टुंग्याउने योजनाहरु बुन्दै छन् उनी । कहिले सन्यासा घोषणा गर्ने भन्ने मिति यकिन नभएपनि मानसिक रुपमा तयार भएको मन्देकाजीको भनाइ छ । नेपाल पुलिस क्लबमा आवद्ध उनलाई विभागीय टिमबाट केही समय खेल्नुपर्ने हो की भन्ने पनि लाग्छ । तर करियरको सर्वोत्तम समयमानै खेल जीवन अन्त्य गर्ने उनको इच्छा छ ।  त्यसपछिको उनको बाटो प्रशिक्षण तर्फ हो ।  

उमेरले पनि मन्देकाजीलाई झुट बोलिरहेको छ । अर्थात् उनी ३६ पुगिसके तर हेर्दा लाग्छ २५–२६ को ठिटो  । विवाहित हुन्, दुइ छोरी छन् तर मानिसहरुलाई विश्वासै लाग्दैन । महिला समर्थकहरुको अझै प्रेम प्रस्ताव आउँछ । यसो भनिरहँदा मन खोलेर हाँसेका मन्देकाजी फेरी दोहो¥याउँछन्– ‘जीवनमा हरेस कहिल्यै पनि खानु हुँदैन ।’  
 

ताजा खबर