कांग्रेस ठीक गर्न देउवा र डाक्टरको गुप्त सम्वाद

२०७७ माघ १ बिहीबार १६:०२:०० मा प्रकाशित

काङ्ग्रेस बाजेको  उपचार !

ढोकामा उभिएको पाले जोडले चिच्यायो– नेपाली काङ्ग्रेस... ! 

देउवा जुरुक्क उठ्नुभो र कमजोर काङ्ग्रेसलाई हतेर्दै भित्र पस्नुभो !  यता बस्नुस बाजे ! नजिकैको टुल देखाउँदै डाक्टरले सोध्नु भो– के भएको हो ? समस्या के छ ? निकै कमजोर देखिनु हुन्छ त ?

खै के हो ? के हो ? दिनदिनै सुक्दै जानू भको छ ! हिँडडुल गर्न समेत कठिन छ ! अर्काको सहारा चाहिन्छ ! पहिले कुन डाक्टर देखाउनु हुन्थ्यो ? औषधि के खाने गरेको थियो ? देउवाले झोलाबाट झिकेर पुराना रिपोर्ट देखाउनु भो ! सबै रिपोर्ट हेरिसकेपछि डाक्टर फेरि बोल्नु भो– यो त बिपि हुन्जेलसम्मको रिपोर्ट रैछ ! त्यसपछिको खै त ? बिपि हुन्जेल सम्म त राम्रै रैछ त ! 

त्यसपछि त कुनै डाक्टर देखाएकै छैन ! आफू पनि ब्यापार ब्यबसायमा ब्यस्त भैयो ! खासै ध्यान नै दिईएन !! देउवाले स्पष्टीकरण दिनु भो ! बाजे यता सुत्नुस् त ! डाक्टरले बालाई बेडमा सुताउनु भो ! छातिमा आला लाएर लामो सास फेर्न लाउनु भो ! मुख च्यातेर टर्च लाईट बालेर जिब्रो हेर्नू भो ! हात खुट्टा तन्काउनु भो र देउवातिर हेर्दै बोल्नु भो– एक पटक होलबडी चेकअप गरौं अनि मात्र केही भन्न सकिन्छ ! अहिलेलाई यी टेष्टहरु गरौं ! लामो लिस्ट थमाउँदै पुनः बोल्नु भो– दुई नम्बर कोठामा गएर यी टेष्ट गराउनुस !

बालाई लिएर देउवा दुई नम्बर कोठामा पस्नु भो ! पैताला देखि टाउकोसम्म सबै टेष्ट भए ! भोलि दुई बजेपछि रिपोर्ट लिन आउनु होला भन्ने ल्याब टेक्निसियनको आदेश पछि टाउको हल्लाउँदै देउवा निस्किनु भो !

भोलिपल्ट सबै रिपोर्ट हेरेपछि डाक्टर गम्भीर देखिनु भो ! देउवाले सुस्तरी सोध्नु भो– के भको हो डाक्टर साब ? कस्तो छ स्थिति ?

हालत खराब ! गलत खानपिनको असर ! शारीरिक भन्दा पनि मानसिक असरले गलाएको छ बाजेलाई ! एक्स रे प्लेटमा सानो लठ्ठी नचाउँदै डाक्टरले बताउनु भो– फोक्सो पुरै कालो छ ! लगभग ड्यामेज ! रगतमा पानीको मात्रा बढेको देखिन्छ ! दिमागमा समेत गहिरो चोट छ !

खानपिनमा त ध्यान पुर्याएकै हो डाक्टर साब ! स्याहारसुसार पनि गरेकै छ ! त्यसो त नहुनुपर्ने ........ शेर बहादुरले जित बहादुर बन्ने प्रयत्न गर्नु भो !

नहुनुपर्ने हैन ! भैसक्या छ ! तपाईं आफैं जान्ने भए म कहाँ किन ल्याउनु भको त ? तपाईं डाक्टर कि म डाक्टर ?

देउवाले घोसे मुन्टो लाउनु भो ! केही बोल्नु भएन ! यी हेर्नुस् त ! फोक्सो पुरै तुवाँलोले ढाकेको पहाड जस्तो देखिन्छ ! क्याल्सियमको कमिले हड्डी गलेर पाटाखाडिको सन्ठी जस्तो भैसक्या छ ! तपाईंहरुका गलत क्रियाकलापले गर्दा शारीरिकभन्दा पनि मानसिक असरले फुक्दै जानुपर्ने ज्यान सुक्दै गएको देखिन्छ ! यी हेर्नुस् त– टाउकोमा भएको दाग देखाउँदै डाक्टरले अगाडि बताउनु भो– बिपिको स्याहार पुगुन्जेल स्वस्थ रहेका बालाई पञ्चायत लडाउने हतारमा ०४६ सालमा बिषादियुक्त बामसँग मिसाएर ख्वाएपछि बूढा खस्किँदै गएको देखिन्छ ! यी हेर्नुस् यो कालो दाग त्यै हो !

किशुनजीको रेखदेखसम्म पनि बा ठीकठीकै रैछन् ! गिरिजाप्रसादको हात परेपछि खस्किन थालेको ज्यान गणेशमानजी र किशुनजीले बिरक्तिएर बालाई छोडेपछि दिमागमा परेको चोटको नराम्रो असर छ ! झन तपाईंको हात परेपछि त बा चिलिम चौतारी !! एक पटक बाको टाउको फोरेर बेग्लै डेरा समेत लिएर बस्नु भएको रैछ ! हैन त ? बल्लतल्ल पाएको प्रजातन्त्र राजालाई बुझाउन पुग्नु भएछ ! टाउकोको अर्को कालो डल्लो देखाउनु भो डाक्टरले ! बालाई ख्वाउनु पर्ने खान्की शत्रुलाई ख्वाउन पुगेपछि बा नगलेर को गल्छ त ? चितवनमा के गरेको त्यस्तो ? जीवनमा कहिल्यै आफ्नो नहुने नकच्चरो बाबुराम स्याहार्ने कि आफ्नो बा स्याहार्ने ? देख्नु भो त ? तपाईंकै बालाई म्युजियममा राख्नुपर्छ भन्दै हिँड्छ !! 

अब बालाई तङ्र्याउन के गर्नुपर्ला त डाक्टर साब ? कुन औषधि ख्वाउनु पर्ला ? 
बाले खाने हैन ! बालाई ख्वाउने हैन !! औषधिको आवश्यकता तपाईंलाई छ ! बा तन्दुरुस्त हुनुहुन्छ !! मात्र मानसिक शान्ति चाहिन्छ उहाँ लाई !!

मैले के औषधि खाने त डाक्टर साब ?

मलिन स्वरमा देउवा बोलेपछि डाक्टरले औषधि बताउन थाल्नु भो– तपाईंको रगतमा सदाचार सकिएर भ्रष्टाचार बढेको देखिन्छ ! यसका लागि एन्टि भ्रष्टाचार टोनिक लेखिदिएको छु, सदाचार टोनिक ! यसलाई नटुटाई दैनिक खानुस् ! दिमागमा भाईचाराको स्थान भाईमाराले ओगटेको छ ! आफ्ना जति निकालेर शत्रुलाई भित्र्याएर जुत्तैसँग भान्सामै पसाएको असर हो यो ! यसका लागि भाईचारा सिरप चिसोपानीसँग दैनिक खाने गर्नुस् ! यसले दिमागमा बुद्धि बिकास हुनुका साथै दिमाग ठण्डा राखेर सहि कुरा सोच्ने तागत प्राप्त हुन्छ ! म नै सर्वेसर्वा हूँ र मैले जे गर्दा नि हुन्छ भन्ने दम्भ मेटाउन दम्भ नासक ट्याब्लेट दिएको छु ! नबिर्सी खानु होला !!

अनि ! बालाई जीवित राख्ने हो तन्दुरुस्त राख्ने हो भने अहिले तपाईंले खाँदै गर्नु भएको र खान खोज्दै गर्नु भएको बाम प्याकेट भित्रको मिक्स जुस खान तुरुन्तै बन्द गर्नुपर्छ ! ती प्याकेटमा राम्रा राम्रा उखान लेखिएको भएता पनि खतरनाक छन् ! अनेकौं क्रान्तिकारी कुरा लेखिए तापनी भ्रमपूर्ण छ हानिकारक छ !! 

देउवा ट्वाल्ल परेर हेरि मात्र रहनु भो ! निकैबेरको मौनता पछि बोली फुट्यो– अरु के गर्नु पर्ला डाक्टर साब ? 

 एउटा अर्को काम गर्नुस् ! शहर बजारमा भन्दा गाउँघरमा बढी उपलब्ध शुद्ध समाजवादी पिठोको लिटो बनाएर बेलुकी सुत्ने बेलामा खानुहोला नत्र यी औषधिको कुनै असर हुन्न ! 
बालाई चैं केही गर्नु पर्दैन त डाक्टर साब ? 

बालाई मानसिक तनावबाट मुक्त राख्नुस् ! चर्को घामबाट  जोगाउनु होला ! हलो जोत्न पनि नदिनुस् ! गाई गोठालो पनि भरसक नबनाउनुस् !! रुखको शितल छहारीमा राख्नुस् ! यति गर्नु भो भने बा आफैं हिँड्ने मात्र हैन कसैको सहाराबिनानै गुटुटु कुद्न सक्नुहुन्छ !! यी सबै औषधि स्वदेशमै उपलब्ध छन्, बिदेश दौडिनै पर्दैन ! भारततिर त झन् जाँदैनजानु !
बुझ्नु भो त ? 

देउवाले बुझेको भावमा टाउको हल्लाउनु भो ! बालाई सहारा दिँदै अस्पतालबाट बाहिर निस्किनु भो ! हेर्दै जाउँ– डाक्टरको सल्लाह कत्तिको मान्नु हुने हो ? 
हुन त उखान नै छ– के जाती को पुच्छर ....... !

  खै के ? खै के ????
 
 

ताजा खबर