कोरोना असर: उपचार खर्च जुटाउन सरकाले गुहार्यो 

२०७७ पौष २९ बुधबार ०९:११:०० मा प्रकाशित

काठमाडौं । सरकारले कोभिड-१९ विरूद्धको खोप किन्‍नका लागि खोप कोषमा योगदान गर्न सार्वजनिक रुपमै आह्वान गरेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना निकालेर कोभिड-१९ विरूद्धको खोप किन्‍न ठूलो रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेको हो ।

कोरोनाविरूद्धको खोप चाँडो नै बजारमा आउने प्रबल सम्मावना रहेको उल्लेख गर्दै सूचनामा लेखिएको छ- 'सो खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निस्शुल्क वितरण गर्न आवश्यक तयारी भइरहेको छ ।'

कात्तिक २४ गतेको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी निस्शुल्क वितरण गर्न रकमको आवश्यकता परेको सूचनामा उल्लेख छ । खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निस्शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएको छ- 'खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकउले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्छ ।'  कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने सूचनामा उल्लेख छ ।

कोरोना नियन्त्रण तथा रोकथाम कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने सूचनामा उल्लेख छ । कोरोना खोप खरिदका लागि सरकारले खोप कोष बनाएको छ । खोप किन्न तत्काल ठूलो रकम आवश्यक परेपछि मन्त्रालयले सूचना निकालेर सहयोगका लागि अपील गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ तर जोखिम कायमै छ ।

ताजा खबर