योगसहितको शिक्षा, गुणात्मक जीवनको परीक्षा

२०७७ पौष २७ सोमबार १०:०५:०० मा प्रकाशित

शिक्षा जीवन बदल्ने सबैभन्दा महत्वपूर्ण पाटो हो । तर पनि शिक्षा मात्रै रूपान्तरणको एकल साधन भने होइन ।  नेपालको बर्तमान शिक्षा मानिसलाई गैह्र मानिस बनाउँने मेसिन हो । अहिलेको शिक्षामा न शीप छ न नैतिक चारित्रिक, सामाजिक एवं आध्यात्मिक ज्ञान छ, न त जीवनलाई भौतिक रूपान्तरण गर्ने कला नै छ । समाज बिघटन गरी अराजक भ्रष्ट लोभी, चरित्रहीन एवं कर्तब्यच्युत जनशक्ति, तयार गर्ने एउटा बिषवृक्षलाई हामी शिक्षा भनिरहेका छौं ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा बिद्यालय तहदेखि नै योग आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी पढाइ गरिने कुरा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा उल्लेख गरिए अनुरूप नै कार्यान्वयनमा पनि आयो भने यसलाई एउटा सकारात्मक कदम मान्नु पर्छ । योग आयुर्वेद तथा प्राकृतिक चिकित्सा हाम्रा मौलिक एवं प्रयोगात्मक ज्ञान हुन । अहिलेसम्म त हामी आफ्नो बारी बाँझो छोडेर अर्काको बारी खनजोत गरिरहेका छौं । यसको के प्रभाब पर्छ त ? सम्पूर्ण उत्पादन अर्कैले लैजान्छ र भिखारीलाई झैं जग्गाधनीले, तिमीले पनि काम गरेका थियौ, लाउ अलिकता खाउ भनेर दिन्छ । हामी आफ्नै बारीमा पौरख गर्न छोडेर अर्काको बारी जोतेर निगाहपूर्ण दानापानी खाइरहेका छौं ।

हरेक समाजको आफ्नै प्रकारको जीवन पद्धति हुन्छ । जीवन पद्धति डोर्याउने मुख्य सूत्र शिक्षा नै हो । वैदिककालदेखि नै पूर्वीय शिक्षा पद्धतिको वैज्ञानिकता, ब्यबहारिकता एवं लौकिक तथा पारलौकिक ज्ञानको परम आनन्दका बिषयमा विश्वभर प्रभावशाली छवि स्थापित भैसकेको छ । अन्य देशहरूले पनि आफ्नै मौलिक ज्ञान पद्धतिलाई स्थानीय तहको ब्यबहारिक जीवनसँग जोडेर बिस्तार गरिरहेका छन् । यसका साथै आवश्यकता अनुसार विश्वभरीका मानवचेतनाजन्य संस्कार एवं जीवनमूल्यसँग पनि जोडेका छन् । समग्र मानव समाज अहिले पूर्णत भौतिक बनेको छ । समृद्धिका नाममा असीमित पदार्थको तृष्णा बोकेर दौडिरहेको छ । तर पनि तृष्णा राख्दैमा इच्छा गरेका सबै कुरा मानिसले प्राप्त गर्न सक्दैन । इच्छा र आवश्यकताका बीचमा समन्वय गर्न नसक्दा मानिसमा असन्तुष्टिको पहाड अग्लो बन्दै गएको छ । योग तथा ध्यानले हामीलाई हाम्रो आवश्यकताको सीमा महसुस गर्ने योग्यता दिन्छ ।  मानिसले हताश हुँदै खोजिरहेको खुसी सजिलै प्राप्त गराउँछ । आफूसँग भएका बिषयसँग सन्तुष्ट हुन र गर्व गर्न सिकाउँछ । सबैप्रति मायाँ, सद्भाव एवं करुणाको भावलाई उदात्त बनाउँछ । मानवको बिषेशता भनेको नै प्रेम, सद्भाव एवं करुणाभावलाई आत्मीकृत गर्ने हो । आजभोलि, मानव हृदयले आफ्नो मौलिकता त्याग्दै गएको  छ । कलह, वैमनस्य, असमानता, क्रोध, निर्दयता एवं अविश्वास नै मानव समाजको चरित्र बनेको छ । यदि समयमा नै यो बढ्दो संवेगलाई यथोचित नियन्त्रण गर्न सकिएन भने सिंगो मानव समाज नै बिघटन हुने खतरा छ ।

योगले समाज या देशलाई भौतिक रूपमा पनि सक्षम र सबल बनाउन सक्छ । योग तथा प्राकृतिक चिकित्सा र आयुर्वेद हाम्रो मौलिक ब्राण्ड हो । भारतले पनि यसलाई आफ्नो ब्राण्ड भनिरहेको छ, जुन कुरा सत्य पनि हो । विश्व समुदाय योग तथा आयुर्वेद तर्फ आकर्षित भैरहेको बेलामा उनीहरूले खोजेजस्तो गुणात्मक र आधिकारिक बजार हामीले तयार गर्न सक्नुपर्छ । योग तथा आयुर्वेदको नकारात्मक असर बिहीन उपचार पद्धति र मानसिक तनावलाई कम गरी अकल्पनीय आनन्द दिने योगको ब्यवस्थित बिस्तार गर्न सकिएको खण्डमा आन्तरिक रोजगारीमा ब्यापक बृद्धि हुनुका साथै सिंगो पर्यटन क्षेत्रमा ठूलो फाइदा पुग्छ । यसका साथै राष्टिृय आय आर्जनमा पनि महत्वपूर्ण योगदान पुग्छ । भर्खरै प्रधानमन्त्रीले  जनतालाई निरोगी, सबल रोग प्रतिरोध क्षमता सम्पन्न, क्षणिक खुसिभन्दा पनि दीर्घकालीन सुखको अनुभव गराउँनेगरी सरकारले काम गर्ने कुरा बताउनुभएको छ । ‘सर्वे भवन्तु सुखिन’ भन्ने हाम्रा पूर्खाहरूको भावना अनूकुल सबै जनतालाई सुखी बनाउँने योजना रहेको सरकारको योजना रहेको बताइरहँदा यस्तो कसरी हुन्छ भन्ने कुरा चाहिं वहाँले बताउनु भएन । प्रधानमन्त्रीको कुरा यदि भाषण मात्रै होइन भने योग र आयुर्वेदको समुचित बिकास एवं प्रयोग बिना यी कुराहरू सम्भव हुँदैनन् । बिश्व नै मनको शान्ति, एवं मानसिक तनावरहित जीवनको खोजीमा भएको बेला गौतम बुद्धको देश र पशुपतिनाथको पावन भूमिका नामबाट योग साधनाको अन्तर्राष्ट्रिय अध्ययन एवं तपसाधना केन्द्रको रूपमा नेपाललाई बिकसित गर्न सकिन्छ ।

आयुर्वेद तथा प्राकृतिक कृषि, प्रणालिलाई प्रोत्साहन गरी अघि बढ्न सकेको खण्डमा यस किसिमको उत्पादनमा नेपालले एकाधिकार कायम गर्न सक्ने स्थिति हुन्छ । नेपालको हिमालयन तथा पहाडी क्षेत्रको उत्पादन मानव स्वास्थ्यको लागि, सर्वोत्कृष्ट मानिएको छ । यथेष्ट खनिज, जडिबुटी, अधिक जैविक बिबिधायुक्त वातावरण नै हाम्रो बिशेष मौलिकता हो । जुन ठाउँमा वानस्पतिक विविधता हुन्छ, त्यो ठाउँ मानव स्वास्थ्यका लागि, सर्वोत्कृष्ट हुन्छ भन्ने कुरा त वैदिककालदेखि, नै प्रमाणित भएकै छ ।

भौतिक सुख सुबिधाले मात्र मानिस खुसी एवं सुखी हुन सक्दैन भन्ने कुरा त अहिले बिश्वका बिकसित देशहरूका जनतामा देखिएको मानसिक तनाव र असन्तुष्टिले नै प्रष्ट पार्छ । प्रविधिको तीब्र बिकास, भोग बिलासका लागि यथेष्ट साधन श्रोत हुँदा पनि मानिस खुसी छैन ।  तिनै बिकसित देशहरूमा मानिस झन् बढी असन्तुष्ट छन् । पछिल्लो तथ्यांक अनुसार २६ प्रतिशत अमेरिकी जनतामा कुनै न कुनै एक मानसिक तनावजन्य समस्या रहेको छ । खासगरी निराशा (डिप्रेसन) सिजोफेनिया, बाइपोलार डिस अर्डर, चिन्ता जस्ता मानसिक समस्याहरूले नयाँ पुस्तालाई समेत नराम्रोसँग गाँजीसकेको छ । सन २०१६/०१७ मा प्रक्षेपित विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभरी वार्षिक ८ लाख मानिसहरूले आत्महत्या गर्छन्, तर यो तथ्यांक स्वास्थ्य संगठनलाई घटना प्राप्त भएको आधारमा मात्र प्रक्षेपण गरिएको हो । कतिपय देशहरूसँग कतिले आत्महत्या गर्छन् भन्ने प्रष्ट रेकर्ड पनि छैन, तसर्थ यो तथ्यांक अझ बढी हुनुपर्छ । आत्महत्याको यो दर अबिकसित र बिकसित देशहरूमा खासै फरक छैन । बिश्वकै जीवनस्तर उच्च र जनस्वास्थ्य लगायत जनताको आधारभूत बिषयमा राज्य पूर्ण जिम्मेवार भएको देश क्यानडामा समेत सन २०१९ को तथ्यांक अनुसार प्रतिदिन सरदर ११ जना अर्थात बार्षिक रूपमा ४ हजार मानिसले आत्महत्या गर्छन् । अमेरिकामा सन १९९९ देखि २०१७ सम्म आइपुग्दा आत्महत्याको अनुपात ३३ प्रतिशतले बढेको तथ्यांक छ । भौतिक बिकासमा जति बृद्धि, हुँदै गएको छ त्यती नै मानिसमा असन्तुष्टि, निराशा, मानसिक तनाव एवं जीवनप्रतिको मोह गट्दै गएको पाइन्छ । यस्ता गंभीर बिषयलाई हल गर्न एक मात्र उपाय योग, ध्यान, प्राकृतिक चिकित्सा, आयुर्वेद एवं प्राकृतिक खानेकुरा नै हो ।

अरु देशसँग बेचेर सकिने भौतिक खनिज पदार्थहरू होलान, पेट्रोलियम पदार्थ होलान, यस्ता खानीहरू एकदिन रित्तिन्छन् तर योग तथा आयुर्वेद अनन्तकालसम्म निरन्तर रहने ज्ञानधारा हो ।

योग अध्यात्मविज्ञान हो । अध्यात्म शब्दलाई हाम्रो समाजका शिक्षितहरू विश्वास गर्दैनन् । उनीहरू आफूलाई धेरै ठूलो विद्वान ठान्छन् । उनीहरूले नजानेको वा बुझ्न नसकेको कुरालाई उनीहरू असत्य, वाइहात एवं पूरातन सोच भन्दै आफ्नै जडतालाई छोप्ने कोशिश गर्छन् । हाम्रो शिक्षाले यस्तै जनशक्ति पैदा गरेको छ । धतुरो रोपेर सयपत्री फुल्ने कुरै भएन । हाम्रो शिक्षित भनिएको समाज ‘मेनिया’ ग्रस्त छ । ‘मेनिया’ भनेको ठूला ठूला गफ दिने र आफूलाई संसारकै जान्नेसुन्ने ठान्ने एउटा मानसिक समस्या हो । बर्तमान शिक्षा नीति नै ‘मेनिया’ को उपज हो । यतिमात्र हैन, नेपलको मौलिक संस्कृति, र यसको गरिमालाई समाप्त गर्न बाहिरी शक्तिको चलखेल तीब्र छ । बाहिरी शक्तिको चलखेलमा कति पर्दा पछाडि बसेर त कति प्रत्यक्ष रूपमा नै यिनै शिक्षित भनिएकाहरू सकृय छन् । आफ्नै देशको मौलिकता गरिमा र ढुक्ढुकी बेचेर जीविका चलाउने नालायकहरूको झुण्डलाई हामी ’शिक्षित बर्ग’ भनिरहेका छौं । यिनै शिक्षित बर्गको विषालु पञ्जाभित्र देशको अस्मिता लुटिएको छ, अस्तित्व बेचिएको छ, जनताको गरीबीमाथि, खिसिट्युरी गर्दै त्यही गरीबीको बजारमा ब्यापार गरिएको छ । त्यसैले त यिनीहरू नेपाली जनतालाई अझै गरीब बनाइराख्न चाहन्छन्, नेपली समाजको तलाउलाई अशान्त र धमिलो बनाइराख्न चाहन्छन्, जसका कारण यो धमिलो तलाउमा माछाको शिकार गर्दै रमाउन पाउँछन् ।

योग अध्यात्म विज्ञानको चमत्कार अकल्पनीय छ । योग शारीरिक ब्यायाम मात्र हैन, मन एवं समग्र अध्यात्मचेतनाको एक रमणीय बगैंचा हो । योगले शरीरलाई स्वस्थ बनाउँछ, मनलाई शुद्धीकरण गर्छ र मष्तिस्कलाई ब्रह्माण्डगामी बनाउँछ । आफ्नै अन्तर्मनबाट निस्कने दुःख एवं पीडाका बिषालु उद्वेगहरूलाई परिशोधन गरी दिव्यता प्रदान गर्छ र मानिसले अद्भूत आनन्द प्राप्त गर्छ । योगले हाम्रो शरीरका असंख्य कोषाणुहरूलाई पोषण दिन्छ र स्वस्थ बनाउँछ । तिनै स्वस्थ कोषाणुहरू नै हाम्रो आन्तरिक एवं बाह्य ऊर्जाको केन्द्र हो ।

अहिले नेपालमा योगको चर्चा प्रशस्त छ । जताततै योगका पसलहरू खुलेका छन् । तर चोक चोकमा जिरा मसला पसल जस्तै खुलेका पसलहरूमा योग हैन योगको सौन्दर्य समाप्त गर्ने काम भैरहेको छ । योगको अन्तर्य कत्ति पनि नजानेका नै ‘योगा गुरू हुँ’ भन्दै केवल ब्यापारको लागि, मात्र योगलाई भजाउन थालियो भने हामीसँग भएको एउटा अमूल्य निधि समाप्त हुनेछ । सरकारले यसरी मनपर्दी हिसाबले जताततै खुलेका योग स्टुडियोहरूलाई नियमन गरी एउटा मानक मर्यादा भित्र राख्नैपर्छ । योगगुरू सजिलै बन्न सकिने बिषय हैन, यसको लागि त अथक साधना, प्रशान्त मन, सात्विक खाना तथा परिशुद्ध मन हुनुपर्छ । साँझ पर्न नपाउँदै सेकुवा कर्नर खोज्दै हिँड्ने र उठ्नै नसक्नेगरी रक्सीको नशामा झुल्नेहरू योगगुरू हुनै सक्दैनन् । यस्तो बिकृतिलाई रोकेर एउटा आधिकारिक नियमनकारी संस्था सरकारले खडा गर्नु उपयुक्त हुन्छ । योग गुरू हुन आवश्यक न्युनतम योग्यता तोक्नै पर्छ । कमसेकम महर्षी पतञ्जलीको योगसूत्र र योग तथा गीता दर्शनको आधारभूत ज्ञान नभएको मान्छेले योगगुरू बन्नै सक्दैन ।

ताजा खबर