प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नै धम्क्याउन थालेपछि

२०७७ पौष २६ आइतबार ०९:४२:०० मा प्रकाशित

काठमाडौं । सरकारी सुविधामा रहेका जिम्मेवार मानिने व्यक्तिहरु नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्न थालेका छन् । आलोचना सुन्ने धैर्य गुमाए झैं गरी उनीहरु सार्वजनिक रुपमै चेतावनी र धम्की दिन अघि सरको छन् । यसको ताजा उदाहरण बनेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल । रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई ‘सीमामा बस्न’ भनेर चेतावनी नै दिएका छन्। मिश्र सिध्दहस्त पत्रकार र विश्लेषक पनि हुन् ।

प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अवस्थामाथि टिप्पणी गर्दै मिश्रले ट्वीट गरेका भाषाबाट रन्थनिएका रिमालले  ‘सीमामा बस्न’ भनेर चेतावनी दिएका हुन्।

मिश्रले व्यंग्यात्मक भाषामा कस्तो समय आयो भन्दै ट्विटरमा लेखेका छन्, ‘पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौँ जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्‍याली आह्वान गर्दा हजारौँ सरिक हुने।अब अति भो।’

मिश्रको यही ट्विटमा आक्रोशपूर्ण प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीका सल्लाहकार रिमालले धम्कीपूर्ण भाषामा चेतावनी दिएका छन् । रिमालको चेतावनी छ, ‘सीमामा बस्नुस् रवीन्द्र जी१ तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यति चाहिँ भनूँ, मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।’

यसपछि मिश्रले पनि रिमाललाई जवाफ फर्काएकाउँदै लेखेका छन्, ‘प्रिय विष्णु रिमालजी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझाव मात्र।’

सल्लाहकार रिमाल यसअघि पनि यस्तै पदीय मर्यादा विपरित प्रतिक्रिया जनाएर विवादमा परेका थिए ।

ताजा खबर