ठूलो मतअन्तरले जित्छु - भीम पराजुली

२०७४ असार ६ मंगलबार १०:००:०० मा प्रकाशित

राजनीतिक र आर्थिक गतिविधिको अगुवाका रुपमा दरिएको ऐतिहासिक नगर विराटनगरको नेतृत्व यसपालि कसको भागमा पर्ला भन्ने चासो र जिज्ञासा यतिबेला व्यापक बनेको छ । भरखरै मात्र महानगरका रुपमा घोषित विराटनगर नेपालको राजनीतिक इतिहासमा अतुलनीय योगदान दिने कोइराला परिवारको गृह जिल्ला हो ।


यसकारणले पनि विराटनगरको नेतृत्व कसले लिन सक्ला भन्ने कुराले ध्यान तान्नु स्वाभाविक हो । आफ्नो पार्टी सम्पूर्ण रुपमा नेतृत्व लिन सक्षम रहेको आत्मविश्वाससाथ नेपाली कांग्रेसका युवा नेता भीम पराजुली मेयरको उम्मेदवारका रुपमा यतिबेला मतदाताको घरदैलोमा पुगिरहेका छन् । एमाले, लोकतान्त्रिक फोरम, माओवादी केन्द्रलगायतले तालमेल गरी आफ्ना उम्मेदवार उठाएका छन् । तर कांग्रेस एक्लै चुनावी मैदानमा छ । यस्तो अवस्थामा कांग्रेस विराटनगर महानगर सभापति रहेका पराजुली आफ्नो जित सुनिश्चित भएको बताउँछन् । प्रस्तुत छ सरलपत्रिकाले उनीसँग गरेको कुराकानीको सार :

उम्मेदवारी ढिलो गरी टुंगो लाग्यो, प्रचारप्रसार र मत माग्न व्यस्त हुनुहुन्छ होला ।

हो, केही ढिलो भयो । तर असाध्यै ढिलो पनि भएको छैन । अझै केही दिन बाँकी छ । सकेसम्म नगरका सबै मतदाताकहाँ पुग्ने योजना अनुसार खटिरहेका छौं । त्यसो त अहिले मात्र मतदातासमक्ष हामी गएको होइन । चुनाव नभएका बेला पनि बारम्बार सम्पर्क र संवाद भइरहेकाले अहिले मात्रै भेटघाट भन्ने होइन । घरदैलोका क्रममा उत्साहित भएको छु । सबैले साथ समर्थन दिइरहनुभएको छ ।

विराटनगर मिस्रित बसोबास भएको क्षेत्र र मधेसी मत महत्वपूर्ण पनि हो । प्रमुख उम्मेदवारमा यो समुदायको प्रतिनिधित्व भएन नि ?

हामीले कुनै पनि समुदायलाई बेवास्ता गरेका छैनौं । हरेक समुदायको प्रतिनिधित्व हुने गरी वडादेखि नै संरचना मिलाएका छौं । मुस्लिमबहुल क्षेत्रमा वडाको नेतृत्व त्यही समुदायबाट हुने गरी उम्मेदवार बनाएका छौं । दलित, थारु, आदिवासी जुन समुदायको जुन क्षेत्रमा बाहुल्य छ, त्यही समुदायका उम्मेदवार हुनुहुन्छ । यसले गर्दा हामीले बेवास्ता गरेको होइन बरु सम्मानजनक प्रतिनिधित्वका लागि पहल गरेको मान्नुपर्छ । पछि नगरको सामूहिक नेतृत्व र विकासमा सबै समुदायको उत्तिकै योगदान हुने छ ।

प्रतिस्पर्धी पार्टीहरुले तालमेल गरेका छन्, कांग्रेस एक्लै चुनावी मैदानमा छ, यस्तो परिरिस्थतिमा कत्तिको सहजता छ ?

हेर्नुस्, अरु पार्टीले तालमेल गरेर जानु भनेकै हामी बलियो छौं भन्ने देखाउँछ । हामीले कसैसँग तालमेल गरेर जानुपर्ने आवश्यकता देखेनौं । हामी आफैं सक्षम छौं । यो नगर कांग्रेस र यसका नेता, कार्यकर्ताका लागि यसै पनि उर्बर ठाउँ हो । यो ठाउँलाई बनाउनमा कांग्रेस र यसका नेताले निकै ठूलो योगदान गरेका छन् । यसलाई मतदाताले बिर्सेका छैनन् । त्यसकारण हामी यहाँ बलियो थियौं र अहिले पनि छौं ।

महानगरको विकासका लागि के छन् तपाइँका मुद्दा ?

महानगरलाई साँच्चिकै महानगर बनाउनका लागि विभिन्न क्षेत्र र पक्षको विकास महत्वपूर्ण छ । सर्वप्रथम विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउने पहलका लागि हाम्रो प्रयास केन्द्रित हुने छ । नगरका सडक व्यवस्थित गर्ने, फराकिलो बनाउने, खानेपानी समस्या समाधान गर्ने, कोसी अञ्चल अस्पताललाई क्षेत्रीयस्तरको सुविधासम्पन्न बनाएर मेडिकल कलेजका रुपमा विकास गर्ने, शिक्षाको गुणस्तर बढाउने, पार्क र खेलमैदान बनाउने, औद्योगिक राजधानीका रुपमा विकास गर्ने, विपन्र्न वर्गको उत्थानका लागि ठोस कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजना छ ।

तपाइँले मेयरमा जित्ने आधार के छ ?

विगतका निर्वाचनहरुमा, २०१५ सालदेखिकै निर्वाचनमा यहाँ नेपाली कांग्रेसको बर्चश्व रहँदै आएको छ । बीचमा केही समय अरु दलले पनि अवसर पाएका हुन् स्थानीय नेतृत्वमा पनि । तर उनीहरुले नगरका लागि केही काम गरेनन् । सिन्को पनि भाँचेनन् भन्दा पनि हुन्छ । नगरको विकासका लागि जेजति भयो नेपाली कांग्रेसकै नेतृत्वबाट भएको छ । यो कुरा आम मतदाताले बुझेका छन् । त्यसैले पनि कांग्रेसलाई माया गर्छन् । मुलुककै नेतृत्व र ठूला परिवर्तनमा नेपाली कांग्रेसको योगदान आम समुदायले बिर्सेका छैनन् । त्यसैले यो नगरको समग्र विकास, विपन्नको हकहितका लागि कांग्रेस नै एकमात्र पार्टी हो भनेर मतदाताले साथ दिइरहेका छन् । ठूलो मत अन्तरले म र हाम्रो पार्टीका उम्मेदवार साथीहरु बिजयी बन्नेमा विश्वस्त छु ।

ताजा खबर