जुलुशबाट हराएका नेता शीतल निवासमा शपथ खाँदै !
ठूलै जोरशोरका साथ सडकमा जुलुस निस्कियो । सर्वत्र ट्राफिक जाम भए । सवारी साधनहरू जहाँकोतहिँ अडिए । जताततै सडक, गल्लीहरू अस्तव्यस्त थिए । जुलुस भने नारा लगाउँदै एकनासले चलि नै रहेको देखिन्थ्यो । एउटा वडेमानको व्यानर सबैभन्दा अगाडि जुलुसका सहभागीले बोकेर हिँडिरहेका थिए । त्यो व्यानरमा “प्रतिनिधि सभाको विघठन गैरसंविधान कदम खारेज गर” भन्ने ठूलै अक्षरमा लेखिएको, टाढैवाट देख्न पढ्न सकिन्थ्यो । जुलुस भने नारा लाउँदै आफ्नै गतिले गन्तव्यतिर अघि बढ्दै थियो ।
सरकार तेरा पाराले,
दुःख पाए साराले ।
सर्वसत्ता चाहिँदैन,
संविधान मिच्न पाईदैन ।
हाम्रो आन्दोलन जारी छ
होशियार होशियार...
जुलुसका नेताजी पनि के कम ? सक्दो जोश जाँगरका साथ, आक्रामक शैलीमा अगुवाइ गर्दै अघि वढ्दै हुनुहुन्थ्यो । अकस्मात, गाउँ–गाउँबाट उठ, बस्तीबस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ...भन्ने वहाँको खल्तीमा मोवाइलको रिंग टोन बज्न थाल्यो । नेताजीले खल्तीवाट मोवाइल झिक्नु भो । हेलो......कसैसँग छोटो संवाद सम्पन्न भो । सम्पादित त्यो संवाद नेताजीको लागि सायद खास थियो कि क्या हो ? मोवाइलमा भएको कुराकानी, विषय वस्तु नेताजी बाहेक अरूले थाहा पाउने कुरा भएन । मोवाईल आफ्नो खल्तीमा राख्नु भो । नेताजीको अनुहारमा अप्रत्याशित प्रफुल्लता छायो, मुटुभरि छट्पटी चल्यो । उकुसमुकुस भो । सँगै रहेका अर्का नेतातिर नजर दौडाउनु भो । दुवैका आँखा जोडिए । नेताजीले सांकेतिक रूपमा काञ्छी औंला ठड्याउँदै, एकैछिन है, कामरेड ! बाथरूम पुगेर आउँछु भन्दै हतारिएर त्यहाँवाट हिँड्नु भो । तर कता जानू भो । कसैलाई थाहा भएन । वेपत्ता हुनुभो, नेताजी कतै हराउनु भो ।
हरे शिव, त्यसरी हराएका नेताजी एकैपटक टिभीमा पो देखा पर्नु भो ! उहाँ त नवनियुक्त मन्त्रीका हैसियतले शितल निवासमा शपथ पो लिँदै हुनुहुन्थ्यो !
शपथको दृश्य यस्तो थियोे–
म..ईश्वरको नाममा शपथ लिन्छु कि मन्त्रीको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी देश र जनताप्रति वफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ लालच मोलाहिजा नगरी............ आदि..... .ईत्यादि....!
भव्य सपथ ग्रहण समारोह समाप्त भो । समारोह समाप्त सँगै बधाई, शुभकामनाको बाढी चल्यो, फूलमाला र खादा, शिरदेखि पैतालासम्म ढाकिइयो । अन्तमा पकवान, रसवानका परिकार पनि भव्यरूपमा चल्यो । शितल निवासको वातावरण झन उल्लासपूर्ण बन्दै गयो । सवै मस्त भए । समय घड्कियो, उपल्लो मस्तीको सीमा टेकेर समारोहका सहभागीहरू आ–आफ्नो थलो तर्फ लागे । समारोह स्थल एकैक्षणमा सुनसान भयो । मंत्रीज्यू पनि आफ्नो पदभार ग्रहण गर्नतिर लाग्नु भो ।
पदभार ग्रहण गर्ने क्रममा मन्तव्य राख्नै पर्ने नै थियो । मन्तव्यको क्रममा मन्त्रीजीले भावी कार्ययोजना सहित निर्देशन दिँदै अन्तमा “समृद्ध नेपाल सुखी नेपाली” मूल मन्त्र सरकारको भए पनि सरकारलाई काम गर्न नै दिएन, सरकारले वाध्य भएर ताजा जनादेशको लागि संसद विगठन गर्नु परेको हो । सरकारको यो कदम संवैधानिक छ भन्दै ठोकुवाका साथ दलिल फलाक्न थाल्नु भो । यसरी मन्त्रीज्यूले आफ्नो मतव्य राख्दै गर्दा उता सडकमा जुलुसका सहभागी जनतालाई भर्खरै मन्त्री पद हत्याएका आफ्नै नेताले छेपारो झैं रंग बदलेको देख्दा “समृद्ध नेपाल सुखी नेपाली” सरकारको खोक्रो नारा पचाउन गाह्रो भो । (समसामयिक घटनाक्रममा आधारित व्यंग लघु कथा )
- वालकोट भक्तपुर